ग्रिनल्यान्ड, पनामा र क्यानडालाई चिढ्याउँदै ट्रम्प

Logo
Red FM बुधबार, पुष १०, २०८१

काठमाडौँ — सत्तामा हुँदा र नहुँदा पनि बारम्बार चर्चा र विवादमा आइरहने राजनीतिज्ञ हुन् डोनाल्ड ट्रम्प । आगामी जनवरी २० देखि अमेरिकी राष्ट्रपतिको पद सम्हाल्दै गरेका ट्रम्प पछिल्लो पटक भने ग्रिनल्यान्ड टापु, पनामा नहर र क्यानडाबारेको अभिव्यक्तिका कारण चर्चासँगै विवादमा आएका छन् ।

गत नोभेम्बर ५ को राष्ट्रपति चुनावमा निर्वाचित ट्रम्पले आइतबार डेनमार्क अधिराज्यको स्वायत्त टापु ग्रिनल्यान्ड अमेरिकाका लागि अत्यावश्यक भएको बताएका छन् । त्यसअघि ट्रम्पले गणतन्त्र पनामाको पनामा नहर पुनः नियन्त्रणमा लिने, मेक्सिकोमाथि आक्रमण गर्ने र क्यानडालाई ‘५१ औं राज्य’ बनाउने बताएका थिए । ‘राष्ट्रिय सुरक्षा र संसारभरको स्वतन्त्रताका लागि अमेरिकाले ग्रिनल्यान्डको पूर्ण स्वामित्व र नियन्त्रण आवश्यक भएको महसुस गरेको छ,’ आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसलमा ट्रम्पले लेखेका छन् । उनले ‘पे–पाल’ का सहसंस्थापक केन होवेरीलाई डेनमार्कका लागि अमेरिकी राजदूतमा नियुक्त गर्ने घोषणा गर्दै ग्रिनल्यान्डको ‘स्वामित्व आवश्यक’ भएको बताएका हुन् । ‘केनले अमेरिकाको हितको प्रतिनिधित्व गर्न अद्भुत काम गर्नेछन्,’ ट्रम्पले भनेका छन् ।

ग्रिनल्यान्डका प्रधानमन्त्री म्युट एगेडले ट्रम्पको टिप्पणीको तत्कालै कडा प्रतिक्रया दिए । ‘हामी बिक्रीका लागि होइनौं र हामी बिक्रीका लागि उपलब्ध हुनेछैनौं,’ उनले भनेका छन्, ‘हामीले हाम्रो स्वतन्त्रताको लामो संघर्ष गुमाउनु हुँदैन । यद्यपि, हामीले सम्पूर्ण विश्व, विशेष गरी हाम्रा छिमेकीहरूसँग सहकार्य र व्यापारका लागि खुला रहनुपर्छ ।’

ट्रम्पले यसअघि २०१९ अगस्टमा पनि ग्रिनल्यान्ड ‘किन्न’ चाहेको बताएका थिए । ट्रम्प ग्रिनल्यान्डको प्राकृतिक स्रोतप्रति आकर्षित भएको बताइएको थियो । तर डेनमार्कका तत्कालीन प्रधानमन्त्री मेट फ्रेडरिक्सनले ‘ग्रिनल्यान्ड बिक्रीका लागि नभएको’ घोषणा गरेकी थिइन् । उनी २०१९ जुनदेखि निरन्तर डेनमार्कको प्रधानमन्त्री छिन् । फ्रेडरिक्सनले ट्रम्पको भनाइ ‘वाहियात’ भएको प्रतिक्रिया दिएकी थिइन् । जसका कारण ट्रम्पले डेनमार्कको राजकीय भ्रमण नै रद्द गरेका थिए । जबकि डेनमार्ककी रानी मार्गरेट द्वितीयको निमन्त्रणामा २०१९ सेप्टेम्बर २ का लागि ट्रम्पको डेनमार्क भ्रमण तय थियो । ट्रम्पले भ्रमण रद्द गरेपछि भने फ्रेडरिक्सनले माफी मागेकी थिइन् । तर त्यसको केही घण्टामा नै ट्रम्पले उनलाई ‘निकै खराब र अप्रिय’ भनेका थिए । ‘मलाई लाग्छ, प्रधानमन्त्रीको भनाइ बेतुकको छ,’ ट्रम्पले भनेका थिए, ‘मलाई लाग्यो कि यो अनुपयुक्त भनाइ हो । यदि हुँदैन भनेको भए हामी चासो लिने थिएनौं ।’

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356