पाथीभरा मन्दिरबाट संकलन भयो १ सय ८४ तोला सुन

Logo
Red FM शुक्रबार, पुष १३, २०८०

ताप्लेजुङको पाथीभरा मन्दिरबाट १ सय ८४ तोला सुन सङ्कलन भएको छ। पाथीभरा क्षेत्र विकास समितिले बिहीबार पत्रकार सम्मेलनमार्फत पछिल्लो समय जम्मा भएको सुनचाँदी सहितको परिणाम सार्वजनिक गरेको हो।

जसअनुसार कुल १ सय ८४ तोला १ सय ३४ लाल सुन जम्मा भएको छ भने ९२ किलो ६ सय ५० ग्राम चाँदी जम्मा भएको छ। चाँदी भने रिफाइन नगरिएको अवस्थामा रहेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजीन हाङवाङले जानकारी दिए।

उनका अनुसार ८५ तोला ८ लाल सुन रिफाइन गरिएको अवस्थामा रहेको छ भने ९९ तोला १ सय २६ लाल सुन भने रिफाइन नगरिएको अवस्थामा रहेको छ।

पाथीभरा मन्दिरबाट संकलन भएको ६ हजार ५ सय ३९.७७५ किलोग्राम तामा तथा १६ हजार ६ सय ३८.१०० किलोग्राम बराबर घण्टी भण्डारण भएको अवस्थामा रहेको समितिले जनाएको छ।

समितिले अहिले आफ्नो खातामा ८ करोड ३५ लाख २३ हजार ५ सय ४८ रुपैयाँ मौज्दात रहेको समेत जानकारी दिएको छ। यसमध्ये गत वर्षको अल्या ७ करोड ६७ लाख ६१ हजार ७ सय ६० रुपैयाँ रहेको थियो।

गत कार्तिक १ गतेदेखि मंसिर मसान्तसम्ममा ६८ लाख ११ हजार १ सय १० रुपैयाँ भेटी जम्मा हुन आएको समेत समितिले जनाएको छ। समितिका कार्यकारी निर्देशक हाङवाङले संकलन भएको भेटी रकममध्ये उल्लेखित रकम भने गणना हुन आएको रकम मात्र रहेको जानकारी दिए ।

‘पछिल्लो दुई महिनामा संकलन भएको रकममध्ये गणनामा स्थलमा ल्याएर गणना गर्ने र अर्को महिनामा सो सहितको विवरण सार्वजनिक गर्ने तयारीमा छौं’ उनले भने।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356