म्यानचेस्टर —पछिल्लो एक साता म्यानचेस्टर युनाइटेडका लागि ‘के मात्र भएन’ जस्तै खाले रह्यो । त्यसको अन्त्य भने चेल्सीसँग १–१ को बराबरीमा भयो । इंग्लिस प्रिमियर लिगको यो खेलमा युनाइटेडले अग्रता त लिएको थियो तर यो पनि केही मिनेट मात्र टिक्यो ।
मोसेस काइसेडोले लामो दूरीबाट गरेको भली प्रहार गोलमा परिणत भएपछि चेल्सी ओल्ड ट्राफोर्डमा एक अंक हात पार्न सफल रह्यो । यसअघि युनाइटेडले कप्तान ब्रुनो फर्नान्डेजको गोलमा अग्रता लिएको थियो । यो पेनाल्टीबाट सम्भव गोल थियो । यससँगै तय भएको छ, युनाइटेडले ४० वर्षयता अहिलेसम्मकै सबैभन्दा खराब सुरुआत गरेको छ, लिगमा ।
युनाइटेडको १० खेलबाट १२ अंक मात्रै छ । प्रिमियर लिगका लागि तथ्यांक उपलब्ध गराउने ओप्टाका अनुसार सन् १९८६–८७ यता लिगमा यो युनाइटेडको सबैभन्दा खराब सुरुआत हो नै, सुरुका १० खेललाई आधार मान्ने हो भने । त्यो त्यस्तो समय थियो, जति बेला युनाइटेडले एलेक्स फर्गुसनलाई भर्खर भर्खर अनुबन्ध गरेको थियो ।
पछि तिनै फर्गुसनले युनाइटेडलाई १३ प्रिमियर लिग उपाधि मात्रै दिलाएनन्, दुई युरोपेली च्याम्पियन्स लिग उपाधिको सफलता पनि चखाए । युनाइटेड समर्थकलाई लाग्दो हो, अब इतिहास त्यसरी नै दोहोरिन सक्छ किनभने क्लबले प्रशिक्षक एरिक टेन ह्यागलाई बर्खास्त गरेको छ र उनको स्थानमा ल्याएको छ, रुबने एमोरिम । अहिले जे जस्तो घटना घटिरहेका छन्, त्यसमा कप्तान फर्नान्डेज आफैं उदास भने छन् र मान्छन्, असफलताको अलिकति भए पनि भागीदार खेलाडी पनि हुनुपर्छ ।
उनी भन्छन्, ‘जति–जति बेला कोही प्रशिक्षक बर्खास्त हुन्छन्, त्यसको केही न केही जिम्मेवारी खेलाडीको पनि हुन्छ । यसको कारण त टिमले राम्रो खेल्न नसक्नु नै हो । मैले टेन ह्यागसँग कुरा पनि गरेको छु र उनीसँग माफी पनि मागेको छु । म साँच्चै निराश छु, जुन परिस्थितिमा उनलाई जानु परेको छ । म त उनलाई सहयोग नै गर्न चाहन्थें ।’ चेल्सीविरुद्ध ७० औं मिनेटमा उनले गोल गरेपछि अन्तरिम प्रशिक्षक रुड भान निस्टलरोय असाध्यै खुसी पनि देखिए ।
निस्टलरोयका नेतृत्वमा युनाइटेडले लगातार दोस्रो खेल जित्ने छाँट देखिएको थियो । लिग कपमा युनाइटेडले मध्यसाता लेस्टर सिटीलाई ५–२ ले हराएको थियो । तर निस्टलरोय चाँडै निराश बने किनभने काइसेडोलले चेल्सीका लागि बराबरी गोल फर्काइहाले । यो खेललाई लिएर चेल्सीका प्रशिक्षक इनजो मारेस्काको प्रतिक्रिया थियो, ‘हामीले त्यो काम गरेका छौं, जसलाई असाध्यै गाह्रो मान्न सकिन्छ । हामी एक गोलले पछाडि रहेर तुरुन्तै खेलमा फर्कन सफल रह्यौं ।’
टेन ह्याग सोमबार मात्रै बर्खास्तीमा परे र त्यसको केही दिनमा एमोरिमले उनको स्थान लिने घोषणा पनि भयो । तर उनले ठ्याक्कै क्लब सम्हाल्ने भनेको नोभेम्बर ११ बाट मात्रै हो । त्यसबीच निस्टलरोय नै जिम्मेवारीमा हुनेछन् र यसबीच उनको काम क्लबलाई सक्दो राम्रो स्थितिमा राख्नु नै हुनेछ । चेल्सीसँग एकै अंकमा चित्त बुझाएपछि निस्टलरोयको भनाइ थियो, ‘हामी निराश छौं किनभने एकै अंक मात्र हात पारेको छ तर टिमको प्रदर्शनमा उति साह्रो निराश हुनुपर्ने पनि छैन ।’