

दार्चुला —जिल्ला सदरमुकामस्थित बङ्गाबगड बजारबाट भन्सार छलीको सामान बरामद गरिएको छ । बङ्गाबगड बजारका दुई पसलहरूबाट भन्सार छलीको सामान बरामद गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार आइतबार साँझ जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट खटिएको प्रहरी टोलीले बङ्गाबगडस्थित वीरबहादुर बोहराको बीएम जनरल स्टोर र करन सिंह ठगुन्नाको किराना पसलबाट तीन लाख मूल्य बराबरको बिल नभएको भन्सार छलीको सामान बरामद गरिएको जनाएको छ ।
बीएम जनरल स्टोरबाट भन्सार छलीको ९ लाख ५० हजार मूल्यबराबरको चिनी, पिठो, तेल, चप्पल लगायतका सामान र ठगुन्नाको किराना पसलबाट ५० हजार मूल्यबराबरको चिनी, तेल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए । उनले प्रहरी टोलीले उक्त पसलका गोदाममा छापा हानेको थियो । भन्सार छलीको सामानसहित पसलका सञ्चालकहरुलाई नियन्त्रणमा लिएको बताए।
आवश्यक कारबाहीका लागि सामान र पसल सञ्चालकहरुलाई दार्चुला भन्सार कार्यालयको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । यस्तै गत असोज २२ गते पनि प्रहरीले जिल्ला सदरमुकाम खलंगास्थितको एक पसलमा छापा हान्दा भन्सार छलीको सामान बरामद गरेको थियो ।