६ देशसँग प्रस्तावित श्रम सम्झौताको मस्यौदा आदानप्रदान, तीन देशसँग हस्ताक्षर गर्ने तयारी

Logo
Red FM बुधबार, आश्विन ३०, २०८१

काठमाडौँ —श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले तीन देशसँग श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएको छ । ६ देशसँगको मस्यौदा आदानप्रदान गरिएको छ । श्रम मन्त्रालयले मलेसिया, कतार र ओमानको मस्यौदा टुंगो लगाएको हो ।

‘मलेसिया, कतार र ओमानसँग गरिने श्रम सम्झौताको मस्यौदालाई टुंगो लगाएका छौँ । यो तीन वटै मस्यौदा तीन देशको सरकारलाई पठाइसकेका छौं । अब तीन देशसँग हस्ताक्षर गर्न मात्रै बाँकी छ,’ श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले इकान्तिपुरसँग भने,‘हस्ताक्षरका लागि समय तय गर्न नेपाली दूतावासले सम्बन्धित देशसँग समन्वय गरिरहेको छ ।’

श्रममन्त्री भण्डारीका अनुसार श्रमिकको भर्ना प्रक्रियालाई पारदर्शी, न्यायोचित र नैतिक बनाउनका लागि स्रोत देश र गन्तव्य देशले बहन गर्नुपर्ने विषयलाई समेटी श्रम सम्झौतालाई प्राथमिकता दिइएको छ । ‘नेपालमा उपलब्ध जनशक्तिलाई बाहिर पठाउने यो बाध्यकारी अवस्था सबैसामु छर्लङ्ग नै छ । मुलुकको आर्थिक अवस्थामा केही सुधार आए पनि तत्काल मर्यादित रोजगारी दिने सम्भावना कम छ । अदक्ष कामदारको अवसर लिन पनि भारत, बंगलादेश, पाकिस्तान र श्रीलंकासँग प्रतिस्पर्धा गर्नुपरिरहेको छ । त्यसलाई समेत ध्यान दिई श्रम सम्झौताको प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने,‘द्विपक्षीय श्रम सम्झौतामार्फत नेपाली श्रमिकको अधिकारको संरक्षण र अन्तर्राष्ट्रिय कानुनको पालना हुने गरी कार्यान्वयन गर्न ध्यान दिएका छौँ ।’

मलेसिया र कतार नेपाली श्रमिकको प्रमुख गन्तव्य मुलुक हो । मलेसियामा सबैभन्दा बढी चार लाख नेपाली कार्यरत छन् । कतारमा तीन लाख नेपाली रहेका छन् । मलेसियासँग गरिएको श्रम सम्झौता गत वर्षको कार्तिक १२ मा सकिएको थियो । द्विपक्षीय समझदारीको आधारमा परिमार्जन गरिएको श्रममन्त्री भण्डारीले बताए । गत आर्थिक वर्षमा मलेसियमा ८२ हजार नेपाली गएका थिए ।

नेपालले सबैभन्दा पहिला कतारसँग २००५ मा श्रम सम्झौता गरेका थियो । कतारको बदलिएको श्रम व्यवस्था र आवासीय कानुनलाई समेटेर नयाँ श्रम सम्झौता गर्न दुई देश नै तयार भएका हुन् । गत जेठमा कतारी अमिर शेख तमिम बिन हमाद अलथानीको नेपाल भ्रमणको समयमा नै कतारसँग नया श्रम सम्झौतामा हस्ताक्षर गर्ने तयारी गरेको थियो । त्यतिखेर मस्यौदाका उल्लेखित प्राविधिक विषयहरू टुंगाउन बाँकी थियो । गत आर्थिक वर्ष कतारमा ४० हजार नेपाली गएका थिए ।

ओमानसँगको श्रम सम्झौता पनि अन्तिम चरणमा पुगेको छ । यसको हस्ताक्षरका लागि ओमनी पक्षको जवाफ पर्खिरहेको छ । ‘ओमानको हस्ताक्षर अब छिट्टै गर्ने तयारीमा छ । विषयको हिसाबले सबै टुंगिसकेको छ,’ श्रम सहायक प्रवक्ता कविराज उप्रेतीले भने । ओमानमा २५ हजार नेपाली कार्यरत छन् । श्रम मन्त्रालयको अनुसार अर्को प्रमुख गन्तव्य मुलुक साउदी अरवसगको श्रम सम्झौताका मस्यौदा पनि लगभग टुंगिएको छ । गत माघको अन्तिम सातामा संयुक्त अरब इमिरेट्स (यूएई)मा आयोजित आबुधाबी डायलगको साइडलाइन बैठकमा श्रममन्त्री भण्डारी र साउदी समकक्षीबीच वार्तामा श्रम सम्झौतालाई एक महिनाभित्र टुंग्याउने गरी दुवै पक्षले सिधै समन्वय गर्न फोकल पर्सन तोकिएको थियो । साउदीको श्रम सम्भौतामा सीपमूलक जनशक्ति उत्पादनमा जोड दिइएको छ । गत आर्थिक वर्ष साउदी अरबमा ७३ हजार नेपाली गएका थिए ।

श्रम मन्त्रालयले टर्की, लेबनान, कुवेत, स्पेन र ब्रुनाईबीचको प्रस्तावित श्रम मस्यौदा टुंगोमा पुर्‍याउन पटक–पटक आदनप्रदान भइरहेको छ । सहायक प्रवक्ता उप्रेतीका अनुसार सरकारले सबै देशसँग गरिने श्रम सम्झौता एउटा निश्चित मापदण्ड बनाएको छ । ‘हामीले श्रम सम्झौता वा सझदारीका लागि एउट निश्चित मापदण्ड तय गरी ढाँचा बनाएका छौं । त्यसभित्र रहेर गन्तव्य देशहरूसँग सवांद अगाडि बढाइरहेका छौँ,’ उनले भने,‘जुन अन्तराष्ट्रिय श्रम मापदण्डबाट निर्देशित छ ।’

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356