मुल्तान —पाकिस्तानको ठूलो स्कोरको जवाफ फर्काउनेक्रममा इंग्ल्यान्डले पहिलो टेस्टमा राम्रो सुरुआत गरेको छ । सलमान अली आगाको सानदार शतकमा पाकिस्तानले ५ सय ५६ रनको विशाल स्कोर बनाएपछि जवाफ दिन आएको इंग्ल्यान्डले मंगलबार दोस्रो दिन खेल सकिँदा १ विकेट गुमाई ९६ रन बनाएको छ ।
भ्रमणकारी इंग्ल्यान्डले कार्यबाहक कप्तान ओलिभर पोपलाई शून्यमा गुमाइसकेको छ । घाइते बेन स्टोक्सको स्थानमा कप्तानी गरिरहेका पोपलाई नसिम शाहले आमिर जमालबाट एकहाते क्याच गराए । पाकिस्तानी इनिङ्सको अन्तमा क्याच लिनेक्रममा बेन डकेट घाइते भएपछि ओपनिङमा आएका पोपले दुई बलमात्र सामना गर्न सके ।
ज्याक क्रावली ६४ र जो रुट ३२ रन बनाई खेलिरहेका छन् । इंग्ल्यान्डलाई फलोअन बचाउन मात्रै अझै २ सय ६१ रन आवश्यक छ ।
सलमानले अविजित १ सय ४, साउद सकिलले ८२ रन बनाएपछि फेरि एक पटक बलरका लागि कठिन दिन बन्यो । सोमबारको खेलमा यसअघि नै सान मसुदले १ सय ५१ र अब्दुल्लाह सफिकले १ सय २ रन बनाएका थिए । ७१ रनमा पुगेपछि टेस्ट क्रिकेटमा आफ्नो एक हजार रन पूरा गरेका सलमानले साहिन साह अफ्रिदीसँग नवौं विकेटमा ८५ रनको साझेदारी गरेका थिए । अफ्रिदीले २६ रन बनाए ।
सलमानले १ सय १९ बलको इनिङ्समा १० चौका र ३ छक्का प्रहार गरे । ‘शतक प्रहार गरेर टिमलाई योगदान दिनुको सन्तुष्टि सधैं राम्रो हुन्छ,’ पाकिस्तानबाट स्पिन मोर्चा पनि सम्हाल्नेक्रममा सलमानले भने, ‘पिच अलिकति भत्किन लागेको छ, यसले स्पिनरहरूलाई सहयोग गर्नेछ । यसलाई मैले नजिता केन्द्रित पिचको रूपमा हेरेको छु र दुवै टोली नतिजाका लागि जानेछन् ।’
सलमानले सातौं विकेटमा सकिलसँग ५७ रनको साझेदारी गरेका थिए । ८ चौका प्रहार गरेका सकिल ८२ रन बनाई शोएब बसिरको बलमा रुटबाट स्लिपमा चलाखीपूर्ण क्याचआउट भए । इंग्ल्यान्डबाट ज्याक लिचले १ सय ६० रन खर्चेर ३ विकेट लिए ।