मिस एआईका उत्कृष्ट मोडल

Logo
Red FM बुधबार, जेठ २३, २०८१

विराटनगर — विश्वमा पहिलो पटक हुन लागेको ‘मिस एआई’ प्रतियोगिताका उत्कृष्ट १० मा पर्न सफल भर्चुअल मोडलहरूको नाम तथा विवरण सार्वजनिक गरिएको छ । अमेरिका, अफ्रिका, भारत, जापान, दक्षिण कोरियालगायत विभिन्न देशका १५ सय एआई (आर्टफिसियल इन्टेलिजेन्स) युवतीमध्येबाट उत्कृष्ट १० मा पर्न सफल भएकाहरूको सूची बाहिर ल्याइएको हो । यसमा दक्षिण एसियाका दुई एआई मोडल पनि छानिएका छन् ।

मिस एआईका उत्कृष्ट मोडल

 

उत्कृष्ट १० को सूचीमा मासिक १५ हजार डलर आम्दानी गर्ने मोरोक्कोकी केन्जा लेइलीदेखि महिला स्वास्थ्यको पक्षमा सचेतना फैलाउँदै आएकी भारतकी जारा शताभरी अटाएका छन् । त्यस्तै, रोमनियामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदाय (एलजीबीटीआई) को अधिकारका पक्षमा वकालत गर्ने अइयना रेनबोसँगै पुरुषप्रधान पेसामा आफूलाई प्रस्तुत गर्ने टर्कीकी सेरेन अईलगायतका एआई युवती प्रतियोगिताको अर्को चरणमा पुगेका हुन् ।

‘एआई क्षेत्रका क्रिएटरहरू कति व्यस्त र लगनशील छन् भन्ने यो कार्यक्रमले देखाएको छ, छनोटमा परेका एआई युवतीहरूको निपुणता असाधारण छ,’ प्रतियोगिताका सहआयोजक फ्यानभु डटकमका सहसंस्थापक विल मोनान्जको भनाइ छ, ‘हाम्रो अनुमानअनुसार विश्वमा १० हजारभन्दा धेरै एआई क्रिएटरहरू छन् । यसअघि हामीले थाहा नपाएका तर उदाहरणीय काम गर्दै आएका एआई युवती र उनीहरूका कुशल सर्जकबारे यो कार्यक्रमले जानकारी फैलाइरहेको छ ।’

एआईमार्फत बनाइएका कन्टेन्ट सेयर गर्न प्रयोग हुने सामाजिक सञ्जाल प्लाटफर्म ‘फ्यानभु’ को बजार आकार सन् २०२४ मा १ अर्ब डलर नाघ्ने आँकलन गरिएको छ । अबको केही हप्तामा भर्चुअल माध्यमबाट हुने भनिएको विश्वको पहिलो मिस एआई सौन्दर्य प्रतियोगिताको ग्रान्ड फिनालेमा मोरोक्कोकी केन्जा लइली, पोर्चुगलकी ओलिभिया सी, फ्रान्सकी एना केर्डी, भारतकी जारा शताभरी, रोमनियाकी अइयना रेनबो, फ्रान्सकी ललिना, टर्कीकी सेरेन अई, टर्कीकी असेना इलिक, बंगलादेशकी इलिजा खान र ब्राजिलकी अइल्या लोउबीच स्पर्धा हुनेछ । मिस एआईको शीर्ष विजेता वा त्यसका निर्माताले ५ हजार डलर नगदसहित कुल १३ हजार डलर बराबरको पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगितामा दोस्रो र तेस्रो हुने मोडललाई पनि नगदसहित अन्य पुरस्कारको व्यवस्था छ ।

उत्कृष्ट १० मा परेकी मोरोक्कोकी एआई ब्लगर केन्जा आफ्नो देश र मध्यपूर्वका महिलाको सशक्तीकरणका लागि योगदान पुर्‍याउन चाहन्छिन् । मिरर युकेको समाचारअनुसार इन्स्टाग्राममा १ लाख ९२ हजार फलोअर भएकी केन्जा सातवटा भाषामा संवाद गर्न सक्छिन् । भारतकी जारा शताभरी पनि यस्ती सामाजिक सञ्जाल इन्फ्लुएन्सर हुन्, जो महिलाहरूमा हर्मोनको असन्तुलनका कारण देखिने स्वास्थ्य समस्याबारे साक्षरता फैलाउन विकास गरिएकी हुन् । स्वास्थ्य सेवाका अन्धविश्वासहरू भत्काउने लक्ष्य लिएकी जारालाई ‘पीसीओएस तथा डिप्रेसनविरुद्धकी योद्धा’ का रूपमा प्रशंसा गर्ने गरिएको छ ।

पर्चुगलकी ओलिभिया ट्राभल ब्लगर हुन् । यात्रासम्बन्धी उनका अवास्तविक अनलाइन सामग्रीहरूले इन्स्टाग्राममा १० हजार ६ सय फलोअर छन् । ओलिभियाले प्रविधि जगत्को ‘ओस्कार’ कार्यक्रममा भाग लिन पाउँदा आफूलाई गर्व लागेको अभिव्यक्त दिएको मिरर यूकेको समाचारमा उल्लेख छ । ‘सौन्दर्य व्यक्तिको नजरमा भर पर्ने कुरा हो, मिस एआईले यो यथार्थको नयाँ आयाम उजार गर्न जाँदै छ,’ ओलिभियालाई उद्धृत गर्दै मिररले लेखेको छ, ‘यसले भविष्यका लागि त्यो गन्तव्य निर्माण गर्नेछ जहाँ प्रविधिले सम्बन्धहरूलाई बढवा दिनेछ ।’

लडाकु विमान चालक, स्पाइडर विमेन, श्रीमती स्यान्टा क्लजजस्ता भूमिकामा प्रस्तुत हुने टर्कीकी सेरेन पुरुषप्रधान समाजमा महिलाको उपस्थितिको वकालत गर्दै आएकी छन् । टर्कीको पहिलो एआई ब्रान्ड एम्बासडरसमेत रहेकी उनी स्थानीय इतिहास र राष्ट्रिय दिवसबारे जनचेतनामूलक सन्देशहरू प्रवाह गर्छिन् । त्यस्तै बांगलादेशकी पहिलो एआई इन्फ्लुएन्सर इलिजा खान फेसनप्रेमी र वर्तमान जेन–जी पुस्ताकी रोलमोडलसरह छिन् । मिस एआई प्रतियोगिताकी एक निर्णायक एना फसेट भन्छिन्, ‘मलाई एलिजाबारे मनपर्ने कुरा के हो भने उनी निकै मिजासिली छन् र विभिन्न किसिमका प्रयोग गर्न रुचाउँछिन् ।’

प्रतियोगिता आयोजक वर्ल्ड एआई क्रिएटर अवार्ड्स (वाइका) का अनुसार मिस ग्रेट ब्रिटेनकी निर्णायक स्याली एन फसेट र उद्यमी एवं लर्ड सुगर्सका जनसम्पर्क सल्लाहकार एन्ड्रिउ ब्लोचसँगै एमिली पेल्लेग्रिनी र एतिएना लोपेज निर्णायक छन् । एमिली र एतिएना इन्टरनेसनल एआई इन्फ्लुएन्सर हुन् । यस चार सदस्यीय निर्णायक मण्डलले प्रतियोगितामा सहभागी एआई–मोडलको सौन्दर्यसँगै प्रविधि र तिनले इन्टरनेटमार्फत पार्न सक्ने प्रभाव मापन गरी विश्वकै पहिलो मिस एआई छान्नेछन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356