नाटक घरका लागि ‘खलजंगको कोट’

Logo
Red FM बुधबार, पुष ११, २०८०

चितवन — बाबुबाजेको चलन पछ्याउने हो भने उनले नामको पछाडि अर्याल थर जोड्नुपर्ने हो । तर मुकुन्दले थरको ठाउँमा अर्याल हैन लेख्छन् ‘खलपात्र’ । १३ औं सन्तानका रूपमा ४५ वर्षअघि गुल्मीमा जन्मेका मुकुन्दलाई उनका पिता नन्दराम अर्यालले ‘लोकलाई पाल्ने छोरो बनाउने’ उद्देश्य राखेका थिए रे । तर गुल्मीबाट चितवन झरेपछि मुकुन्दको जीवनको चाल बदलियो र उनी आफ्नो नामका पछाडि ‘खलपात्र’ जोड्न थाले ।

मुकुन्दको जीवनको यो कथा नाटक ‘खलजंगको कोट’ले भन्छ । यो नाटक नारायणगढको पुरानो सांस्कृतिक संस्था नारायणी कलामन्दिरको प्रेक्षालयमा मञ्चन भइरहेको छ । नाटकमा खलजंग बनेर मुकुन्द आफैंले अभिनय गरेका छन् । नाटकको उद्देश्य मुकुन्दको कथा सुनाउनु मात्रै पनि छैन । नारायणगढसहित पोखरा, बुटवल, झापा, विराटनगर, नेपालगन्ज र काठमाडौंमा पनि यो नाटक मञ्चन गरिँदै छ । र, ती स्थानमा मञ्चन गरेपछि भएको आर्जन चितवनमा बन्ने नाटक घरका लागि लगानी गरिनेछ । मुकुन्दले देखेको एउटा सपना छ, चितवनमा नाटक घर ।

यही सपना पूरा गर्न उनले चितवनमा १० वर्षर्अघि साथीभाइको समूह बनाएर ‘कर्मी चौतारी’ गठन गरे । नाटक घरका लागि सुरुमा नाटक देखाउने योजनाका साथ ‘कर्मी चौतारी’ चितवनमा चलायमान हुन थाल्यो । उनीहरूले ‘श्रीमान् वीरबहादुर’ देखाए । ‘बहुलाकाजीको सपना’ पनि कलामन्दिरमै मञ्चन भयो । नाटक हेर्न बिर्सन लागेका चितवनवासीलाई कर्मी चौतारीले रंगमञ्चप्रतिको चाहना जगाउन थाल्यो । कलामन्दिर पुरानो संस्था त हो, तर यसको प्रेक्षालय नाटक देखाउनका लागि अलि उपयुक्त छैन । त्यसैले कर्मी चौतारी चितवनमा नाटक घर बनाउन चाहन्छ । र, त्यसका लागि नाटक नै देखाइरहेको छ । तर ‘खलजंगको कोट’ को ‘खल्ती’ मा खै यो पटक कति नगद पर्दछ ।

नाटक घर बनाउनु जति गाह्रो कुरा हो, नाटक गर्नु उत्तिकै अप्ठ्यारो । ‘खलजंगको कोट’ नाटक रिहर्सलको दृश्यबाट सुरु भएर रिहर्सल गर्दा गर्दै सकिन्छ । मुकुन्द नाटकका लागि रिहर्सल गरी रहेका पात्र बनेरै आफ्ना कथा अगाडि बढाउँछन् । गुल्मीबाट चितवन झरेपछि उनले अनेक चिजबिजको स्वाद लिन थाले । उनले मन पराउने पदार्थ सेवन गर्न कानुनले बन्देज लगाएको छ । कानुनले बर्जित गरेको वस्तु उपभोग गरेकाले मुकुन्द पाँच वर्ष जेल परे । जेल जीवन उनका लागि कविता लेख्न सक्ने अवसर बन्यो र जेलबाट निस्केपछि कवि कहलिन थाले । र, यहीबीचमा उनको मनमा नाटकको रस पस्यो र चितवनमा नाटक घर बनाउने योजना सुरु गरे । यसलाई सफल बनाउन उनले आफ्नै कथा लगानी गरेका छन् नाटकका रूपमा ।

कर्मी चौतारीका अध्यक्ष जीवन क्षेत्री भन्छन्, ‘कला साहित्य समाजको आत्मा हो । र, रंगमञ्च कलाको उन्नत रूप हो । चितवनलाई जीवित सहर बनाउने अभियानको कडी हो कर्मी चौतारी । खलजंगको कोट यसको मुटु हो ।’ ५८ वर्षको हुँदा जन्मेको छोरोलाई पिता नन्दरामले लोकलाई पाल्ने बनाउन चाहे । तर बाउको चाहना र छोराको यात्रामा तालमेल मिले जस्तो देखिएन । असफल छोरोको मनोदशा बोकेर मुकुन्द छटपटिन थाले । यही मनोदशा नाटकमा पोखिएको छ । नाटकले सहरलाई समाजलाई जीवन्त बनाउने मेसो ल्याइरहेको छ । पिता नन्दरामको लोकलाई पाल्ने छोरो बनाउने रहर मुकुन्दले यसरी पूरा गर्न खोज्दै छन् ।

‘खलजंगको कोट’ लिएर देश दौडाहामा जाँदा कविता र कविहरू पनि जोडिने छन् । चितवनमा मंसिर २९ बाट मञ्चमा देखाउन सुरु भएको ‘खलजंग’ शुक्रबार र शनिबार दुई शो मञ्चन भइरहेको छ । वैशाखभित्रै देश दौडाहा पूरा गर्ने लक्ष्य छ । नाटकमा मुकुन्द आफैंले आफ्नो कथा उतार्दा अर्जुन न्यौपाने पनि कथा लेखनमा जोडिएका छन् । अर्जुन नाटकको निर्देशक पनि हुन् । मुकुन्दसँगै ‘खलजंगको कोट’मा भीम राई, सुझाव अधिकारी, आस्मा राई, समिरा सुनार, अंकित सिंह, जया ढकालको अभिनय छ । मुकुन्दको कथामा बग्दै गर्दा नाटकमा अहिलेको रंगमञ्च र रंगकर्मीको अवस्था पनि पोखिएको छ, मिसिएको छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356