काठमाडौँ — अभिषेक पोरेल र ट्रिस्टन स्टब्सको आक्रामक अर्धशतकमा दिल्लीले आफ्नो अन्तिम लिग चरणको खेलमा मंगलबार लखनऊ सुपर जायन्ट्सलाई १९ रनले हराएको छ । यो जितपछि दिल्लीको १४ खेलबाट १४ अंक भएको छ ।
दिल्लीको प्ले–अफ खेल्ने सम्भावना अझै कायम रहेको छ । तर टिमको नकारात्मक नेट रनरेटका कारण यो सम्भावना भने कमजोर रहेको छ ।
दिल्लीका लागि उसका लागि पोरेलले ५८ र स्टब्सले ५७ रन बनाए । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय ८ रन बनाएको थियो । जवाफमा लखनऊले ९ विकेटको क्षतिमा १ सय ८९ रन मात्र बनाउन सक्यो । यो नतिजाले राजस्थान रोयल्स भने प्ले–अफ पुग्ने दोस्रो टिम बनेको छ ।
लखनऊको १२ अंक छ र उसको एक खेल बाँकी छ । त्यो खेल जितेर उसले पनि आफ्नो प्ले–अफ सम्भावना बनाउन सक्नेछ ।