छिपछिपे सहकारीमा १६ करोड रुपैयाँभन्दा बढी हिनामिना भएको ठहर

Logo
Red FM शुक्रबार, चैत्र ३०, २०८०

विराटनगर— कावासोतीमा कार्यालय रहेका छिपछिपे उपभोक्ता सहकारी संस्थामा सञ्चालक समिति र कर्मचारीको मिलोमतोमा बचतकर्ताको १६ करोड रुपैयाँभन्दा बढी रकम हिनामिना भएको पाइएको छ ।

बचतकर्ताको उजुरीपछि गण्डकी प्रदेश सहकारी रजिस्ट्रार कार्यालयका वित्तीय विश्लेषक तथा परामर्शदाता निर्मल गौतमले गरेको छानबिनमा सहकारीमा कूल १६ करोड ५८ लाख ९२ हजार २ सय ६१ रुपैयाँ हिनामिना भएको देखिएको छ ।

सहकारी रजिस्ट्रार कार्यालय पोखराले गत माघ २१ गते यो छिपछिपे सहकारीको अनियमितता छानबिन गर्न गौतमलाई खटाएको थियो । गौतमले रजिस्ट्रार कार्यालयमा बुझाएको प्रतिवेदनमा सहकारीका तत्कालीन समिति र हालका केही पदाधिकारीले समेत अनियमितता गरेको खुलाएका छन् ।

गौतमले छिपछिपे सहकारीका तत्कालीन अध्यक्ष र व्यवस्थापक योगेन्द्र पाण्डेसमेत सञ्चालक समितिका सदस्यहरू र कर्मचारीको समेत मिलोमतोमा हिनामिना भएकाले उनीहरूबाट बचतकर्ताको निक्षेप रकम असुल्न पर्ने राय दिएका छन् । गत फागुन २९ गते रजिस्ट्रार कार्यालयमा बुझाइएको प्रतिवेदनमा सञ्चालक समितिका अध्यक्ष र संस्थाको व्यवस्थापक रहेका योगेन्द्र पाण्डेको मिलोमतो र बद्नियतमा धेरै रकम हिनामिना भएको उल्लेख छ । बर्दिया निवासी पाण्डे २०७२ सालदेखि ०७९ साल सम्म ७ वर्ष सम्म संस्थाका अध्यक्ष र व्यवस्थापक रहेका थिए ।

सहकारी ऐन अनुसार एउटै व्यक्ति अध्यक्ष र व्यवस्थापक हुन पाँइदैन । पाण्डे अध्यक्ष र व्यवस्थापक हुँदा कोषाध्यक्ष रहेका प्रकाश सापकोटाको समेतको मिलोमतोमा ठूलो रकम हिनामिना भएको बचतकर्ताको आरोप छ । पाण्डेको मिलोमतोमा काल्पनिक कर्जा खाता तयार गरेर समेत रकम हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ । आर्थिक प्रलोभनमा परेर आफूनिकटका व्यक्तिलाई बिनाधितो ऋण दिने गरेको पाइएको प्रतिवेदनमा उल्लेख छ ।

ऋण लिएर कर्जा चुक्ता गरिसकेका व्यक्तिहरूको धितो फुकुवा नदिएको र नक्कली खाता सञ्चालन गरेर रकम अपचलन गरेको प्रतिवेदनमा औल्याइएको छ । रजिस्ट्रार कार्यालयले प्रतिवेदन बुझेको १ महिना बितिसक्दा पनि बचतकर्ताले आफ्नो पैसा फिर्ता पाएका छैनन् । सहकारीमा हिनामिना भएको समाचार कान्तिपुरमा चैत २५ गते प्रकाशन भएपछि योजनाकार योगेन्द्र पाण्डेसहित ५ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले ४ दिनअघि एक सूचना प्रकाशन गरेर छिपिछिपे सहकारी पीडितहरूलाई उजुरी दिन आग्रह गरेको छ ।

२०७९ पुस १ गतेदेखि सहकारी सञ्चालक समितिका अध्यक्षमा गोपीकृष्ण शर्मा रहेका छन् । त्यसअघि योगेन्द्र पाण्डे अध्यक्ष रहँदा शर्मा लेखा समितिको संयोजक थिए । शर्मा अध्यक्ष भइसकेपछि पाण्डेलाई नै व्यवस्थापक राखिएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356