इटहरीमा खोला अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु

Logo
Red FM मंगलबार, चैत्र २७, २०८०

विराटनगर — इटहरी उपमहानगरपालिकाले खोला तथा  पैनी अतिक्रमण गरी बनाइएका संरचना भत्काउन सुरु गरेको छ । यसअघि पटक–पटक सार्वजनिक सूचना जारी गरी संरचना अटाउन स्थानीयलाई अनुरोध गरिएको थियो । तर,  स्थानीयले अटेर गरेपछि उपमहानगरपालिकाले बाध्य भएर भत्काउन सुरु गरेको जनाएको छ ।

उपमहानगरले गत असारमा ३५ दिने सूचना जारी गर्दै खोला, पैनीलाई कब्जा गरी खडा गरिएका संरचना भत्काउन १५ दिने र ७ दिने सूचना जारी गरिसकेको थियो । तर, स्थानीयले समयमा संरचना भत्काउन अटेर गरेपछि बाध्य भएर भत्काउनु परेको नगर प्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । पौडेलले भने,‘धेरै पटक संरचना हटाउनु भन्दा नटेरेपछि हामी आफैं अग्रसर भएका हौं ।’

तालतलैयास्थित टेङ्ग्रा खोलाको क्षेत्राधिकारभित्र रहेका अवैध संरचना भत्काउन सुरु गरिएको नगर प्रमुख पौडेलले जनाए । ‘अवैध संरचना हटाएर नदीलाई सफा गर्ने उपमहानगरको लक्ष्य छ’, प्रमुख पौडेलले थपे,‘नगरका खोला नाला सफा भए, वातावरण पनि सफा हुन्छ यो अभियानलाई सबैले सहयोग गरौँ ।’

खोला पैनी र सार्वजनिक जमिन संरक्षण कार्यदलका अनुसार टेङ्ग्राखोलाको मुहानदेखि दक्षिणी सीमासम्म करिब ७४ वटा संरचना खोला मिचेर बनाइएको पाइएको छ । यसमा १० वटा नक्सा पास भएका घरहरू छन् । बाँकी भने नक्सा पास नभएका भौतिक संरचना छन् । जसमध्ये २२ वटा पक्की भवन छन् ।

खोला,पैनी मिचेर निजी घर मात्रै हैन, सरकारी तथा सामुदायिक भवन, विद्यालय, चर्चसमेत खडा गरिएको छ । गाईवस्तुका गोठ, सुँगुर र बाख्राका खोर पनि छन् । यस्तो समस्या वडा न. ४, ६ र ९ मा बढी समस्या देखिएको कार्यदलले जनाएको छ ।

उपमहानगरपालिकाले डुबानको समस्या दीर्घकालीन रूपमा समाधान गर्नका लागि टेङ्ग्रा कोरिडोरको योजना अघि सारेको छ । विश्व बैङ्कको सहयोगमा करिब ९ किलोमिटर लामो टेङ्ग्रा कोरिडोर निर्माण गर्ने उपमहानगरको योजना छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356