कुमालको कमाल

Logo
Red FM सोमबार, चैत्र २६, २०८०

बिराटनगर— अर्जुन कुमालले चौध महिनाको अन्तरमा तेस्रो शतक बनाएका छन् । लिस्ट ‘ए’ मान्यता पाएको आयरल्यान्डविरुद्धको खेलमा कुमालले नेपाल ‘ए’ बाट खेल्दै १ सय २ रन बनाए । उनी शतक बनाउँदा जति खुसी थिए, त्यत्ति नै दुःखी नेपाली टोलीलाई जिताउन नसकेकामा थिए ।

‘९० रनमा पुगेपछि म एकदम नर्भस भइरहेको थिएँ तर मैले आफैंलाई सम्हाल्दै प्रत्येक बल फोकस भएर खेलिरहेको थिएँ । म आफ्नो स्ट्रेन्थमा खेलिरहेको थिएँ । अन्तिमसम्म ब्याटिङ गर्ने योजना थियो, त्यो भएको भए हामी खेलमा पनि हुन्थ्यौं,’ जनवरीमा दक्षिण अफ्रिकामा भएको आईसीसी यू–१९ विश्वकपमा न्युजिल्यान्डविरुद्ध ९० रन बनाएर आउट भएकाले नर्भस ९० को सिकार होइएला भन्ने डर आफूमा रहेको कुमालले बताए ।

डिसेम्बरमा यूएईमा भएको यू–१९ एसिया कपमा पनि कुमालले अफगानिस्तानविरुद्ध ९१ रन बनाएका थिए । तर आयरल्यान्ड ‘ए’ विरुद्धको दोस्रो खेलमा कुमाललाई खेलाइएको थिएन । तर आफ्नो पालो कुरेर बसिरहेको जनाउँदै कुमालले भने, ‘पहिलो खेलदेखि म आत्मविश्वासी थिएँ, पहिलो खेलमा आउट हुँदा म आफैंले गलत सट खेलेको थिएँ । दोस्रो खेलमा म प्लेइङ ११ मा नपरे पनि जहिले मौका पाउँछु देखाउँछु भन्नेमा थिएँ । शतकले मेरो आत्मविश्वास झन् बढेको छ । यू–१९ मा पनि मैले दुई पटक शतक प्रहार गरिसकेको थिएँ ।’

नेपाल ‘ए’ का प्रशिक्षक कलाम अलीले पनि अर्जुनको शतकीय इनिङ्सको तारिफ गरे । ‘अर्जुनले निकै सुझबुझका साथ ब्याटिङ गरे, कुनै खराब सट पनि खेलेनन् । जस्तो बल आइरहेको थियो, त्यस्तै गरी नै खेलिरहेका थिए । उनले साझेदारीहरू पनि बनाइरहेका थिए,’ अलीले भने, ‘हामीले माथिल्लो क्रमका ब्याटरहरूसँग यस्तै खेलको नै अपेक्षा गरिरहेका थियौं, जुन अर्जुनले खेलेका थिए । हाम्रा ब्याटरहरू पुल सटमा त्यस्तो पोख्त छैनन् भनेर विपक्षीले योजना बनाइरहेका थिए । आज कुमालले सबै पुल सटहरू राम्रो खेलेका थिए ।’

आयरल्यान्ड उल्भसको ‘क्लिन स्वीप’

अर्जुन कुमालले शतक बनाए पनि आयरल्यान्ड उल्भस (ए) ले आइतबार तेस्रो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई ६९ रनले पराजित गरेको छ । २ सय ८५ रनको लक्ष्य लिएर आएको नेपाल ‘ए’ ३९.४ ओभरमा २ सय १५ रनमा अलआउट भयो ।

कुमालले २ रन जोड्दै ३४ औं ओभरमा आफ्नो शतक पूरा गरेका थिए । १ सय १४ बल खेली आफ्नो शतक पूरा गरेका उनी त्यसको अर्को ओभरमा १ सय २ रन बनाई आउट भए । उनले कुल १ सय १८ बल खेली १४ चौका प्रहार गरे । कुमालले अर्जुन साउदसँग पहिलो विकेटमा १२ ओभरमा ६८ रनको साझेदारी गरी नेपाल ‘ए’ लाई राम्रो सुरुआत दिलाए । साउद ३० बल खेली ४ चौका र ३ छक्का प्रहार गरी ३६ रनमा आउट भए । देव खनालले ११ र नरेन भट्टले १५ रनमात्र बनाउन सके ।

नेपाली राष्ट्रिय टोलीका अनुभवी विनोद भण्डारी र भीम सार्कीले पुनः निराश बनाए । कप्तान विनोद ४ र भीम पहिलो बलमा डकआउट भए । रुपेश सिंहले १६ बलमा ३ चौका प्रहार गरी १५ रन जोडे । रिजन ढकाल पनि शून्यमा आउट भए । शाहव आलम ६ र विकास आग्री ३ रनमा आउट भए ।

आयरल्यान्ड ‘ए’ बाट बेन ह्वाइटले ५ विकेट लिए । लेग स्पिनर उनले १० ओभरमा १ मेडन राख्दै ६२ रन खर्चे । ग्याभिन होयले ४ विकेट लिए । उनले ७.४ ओभरमा १ मेडन राख्दै २७ रन खर्चे । एक विकेट म्याथ्यु फोस्टरको नाममा रह्यो । यस खेल जित्दै आयरल्यान्ड ‘ए’ ले शृंखला ‘क्लिन स्वीप’ गरेको छ । आयरल्यान्ड ‘ए’ ले पहिलो खेल

२१ रनले र दोस्रो खेल १ सय १४ रनले जितेर यसअघि नै शृंखला जितिसकेको छ । आयरल्यान्ड ‘ए’ ले नेपालविरुद्धको तीन ट्वान्टी–२० खेलको शृंखला २–१ ले जितेको थियो । नेपाली राष्ट्रिय टोलीसॅगको दुवै खेलमा भने आयरल्यान्ड ‘ए’ पराजित भएको थियो ।

यसअघि स्टेफन डहनीको शतकमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले निर्धारित ५० ओभरमा ९ विकेट गुमाई २ सय ८४ रन बनाएको थियो । उनले १ सय २६ बलमा आफ्नो शतक पूरा गरेका थिए । ओपनर डहनीले कुल १ सय २९ बल खेली ७ चौका र २ छक्का प्रहार गर्दै १ सय ७ रन बनाए । रिजनले ४७ औं ओभरमा उनलाई विकेटको पछाडि अर्जुन साउदबाट क्याच गराए ।

जेम्स म्याकलम ९ रनमा आउट भएपछि डहनीले पिटर मुरसँग दोस्रो विकेटमा ६६ रनको साझेदारी गरे । मुरले २५ बल खेली ४५ रन बनाए । मुरले शाहव आलमको बलमा लगातार ३ छक्का प्रहार गरेका थिए । उनै शाहवले मुरलाई आउट गरे । मुरले कुल २ चौका र ५ छक्का प्रहार गरे ।

केड केरमाइकल ८, मोर्गन टपिङ २१, कप्तान निल रक १, होय १४ रनमा आउट भए । फिओन ह्यान्डले २० र म्याथ्यु हम्फ्रेजले रन बनाउँदै डहनीलाई राम्रो साथ दिए । हम्फ्रेज ३४ बल खेली २ चौका प्रहार गरी २३ रन बनाई इनिङ्सको अन्तिम बलमा आउट भए । ह्वाइट १२ बल खेली २ चौका र १ छक्का प्रहार गरी १९ रनमा अविजित रहे ।

नेपालबाट रञ्जित र रिजनले ३–३ विकेट लिए । शृंखलामा पहिलो खेल खेलिरहेका रञ्जितले १० ओभरमा १ मेडन राख्दै ५३ र रिजनले १० ओभरमा ७५ रन खर्चे । शाहवले १० ओभरमा ६० रन खर्चेर १ विकेट लिए ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356