लुम्बिनीका मुख्यमन्त्री चौधरी राजीनामाको मुडमा

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०
जसपा र नागरिक उन्मुक्तिले ‘ग्रीन सिग्नल’ नदिएपछि प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिन सक्ने

विराटनगर— लुम्बिनीका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने मुड बनाएका छन् । कांग्रेस प्रदेश पदाधिकारी, सरकारका मन्त्री र प्रदेशसभा सदस्यहरूसँगको छलफलपछि उनले राजीनामा दिने तयारी गरेका हुन् । अन्तिम निर्णयका लागि उनले बिहीबार दिउँसो १ बजेका लागि संसदीय दलको बैठक आह्वान गरेका छन् ।

केन्द्रमा नयाँ गठबन्धन बनेपछि मुख्यमन्त्री चौधरी अल्पमतमा परेका थिए । उनले कांग्रेसका २७, राप्रपाका ३, नागरिक उन्मुक्तिका ४, जसपा, लोसपा, जनमतका ३/३ र जनमोर्चाका १ र स्वतन्त्रका १ जनाको समर्थन जुटाउने प्रयासमा थिए । त्यसरी उनलाई सरकार गठनका लागि आवश्यक संख्या ४४ पुग्ने अवस्था थियो ।

बुधबार नागरिक उन्मुक्तिका संसदीय दलका नेता धर्मबहादुर चौधरीले भेटेरै चौधरीको नेतृत्वमा ४१ जनाको हस्ताक्षर जुटाएको अवस्थामा नागरिक उन्मुक्तिले ४५ पुर्‍याइदिने अन्यथा नयाँ गठबन्धनलाई समर्थन गर्ने बताएपछि मुख्यमन्त्री चौधरी राजीनामाको मुडमा पुगेका हुन् । नागरिक उन्मुक्तिबाहेक चौधरीलाई केन्द्रमा सत्तागठबन्धनमा सहभागी जसपाको समेत आशा थियो । तर, जसपाले पनि बुधबार ‘ग्रीन सिग्नल’ नदिएको मुख्यमन्त्रीनिकट स्रोतले बतायो । राप्रपाका ४ प्रदेशसभा सदस्य मध्ये एक जना निलम्बनमा परेपछि पनि मुख्यमन्त्री चौधरीलाई अप्ठ्यारो परेको हो ।

मुख्यमन्त्री चौधरीले विश्वासको मत प्रयोजनका लागि बिहीबार ४ बजेका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । बैठकमा सम्बोधन गर्ने र त्यहीँबाटै राजीनामाको घोषणा गर्ने तयारी गरेको स्रोतले बतायो । नयाँ गठबन्धनबाट नेकपा माओवादीका संसदीय दलका नेता जोखबहादुर महरा मुख्यमन्त्री बन्दै छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको सचिवालयमा रहेर लामो समय काम गरेका उनी रोल्पा क्षेत्र नम्बर १ (१)बाट निर्वाचित हुन् ।

महरा यसअघि एमाले नेता लीला गिरी नेतृत्वको सरकारमा अर्थमन्त्री बनेका थिए । उनले तत्काल एमाले, माओवादी, जसपा, नागरिक उन्मुक्ति, नेकपा एस र एक जना माओवादीनिकट स्वतन्त्र प्रदेश सभा सदस्यलाई समेटेर सरकार बनाउने तयारी गरेका छन् । लुम्बिनीमा एमालेका २९, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, जसपाका ३, नेकपा एसका १ र एक जना माओवादी निकट स्वतन्त्र प्रदेश सभा सदस्य छन् । नागरिक उन्मुक्तिले साथ नदिएको अवस्थामा पनि महराको पक्षमा ४५ मत छ । सभामुखको मताधिकार नहुँदा पनि उनलाई ४४ जनाको समर्थन देखिएको छ ।

नेकपा एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बुधबार अनौपचारिक छलफल भएको र बिहीबार टुंगोमा पुग्ने गरी छलफल हुने बताए । उनका अनुसार सत्ताका लागि निर्णायक देखिएको जसपा र नागरिक उन्मुक्तिले नयाँ गठबन्धनलाई समर्थन गर्ने स्पष्ट भएको र राप्रपासँग पनि सकारात्मक छलफल भइरहेको बताए । ‘अन्तिम निर्णय त बिहीबार नै होला, अहिलेसम्म अनौपचारिक छलफलमा सबै कुरा सकारात्मक नै छ,’ उनले भने, ‘बिहीबार नै सरकारमा दाबी गर्ने गरी हामीले तयारी गरिरहेका छौं ।’

माओवादी केन्द्रका लुम्बिनी प्रदेश अध्यक्ष सुदर्शन बरालले पनि केन्द्रको सहमतिअनुसार नयाँ गठबन्धनमा सरकार गठनका लागि बहुमत पुगेको र माओवादीकै नेतृत्वमा बिहीबार सरकार गठनका लागि दाबी गर्ने गरी तयारी र छलफल जारी रहेको बताए । ‘बाहिर जे हल्ला चले पनि गठबन्धनमा आबद्ध साना दल टसमस छैनन्,’ उनले भने । कांग्रेसका प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले पनि अन्तिम निर्णयका लागि बिहीबार दिउँसो १ बजे संसदीय दलको बैठक आह्वान गरिएको बताए । ‘त्यही बैठकबाटै धेरै कुराको टुंगो लाग्छ,’ उनले भने, ‘बहुमत जुटाउन नसकेको अवस्थामा प्रक्रियामा नगएर राजीनामा दिँदा नै उपयुक्त हुन्छ भन्ने हाम्रो धारणा हो ।’ त्यहीअनुसार नै मुख्यमन्त्री अगाडि बढ्ने सम्भावना रहेको उनले बताए ।

८७ सदस्यीय लुम्बिनी प्रदेश सभामा राप्रपाका एक प्रदेशसभा सदस्य निलम्बनमा परेपछि अहिले ८६ कायम छ । सरकार गठन गर्न कम्तीमा ४४ मत आवश्यक पर्छ । लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्तिका ४, राप्रपा, लोसपा, जनमत र जसपाका ३/३, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादीका १/१ र स्वतन्त्रबाट १ प्रदेशसभा सदस्य निर्वाचित छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356