बारा र रौतहटमा पर्ने राजमार्गका प्रायः पुल जीर्ण

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०

विराटनगर — जनकपुरबाट बाराको निजगढ घर आउँदै गरेका ६५ वर्षीय सुन्दरकुमार तिमल्सिनाको गाडी आइतबार पूर्वपश्चिम राजमार्गको वाग्मती पुलमा केही समय रोकिँदा उनको ‘सातो’ गयो । भूकम्पका बेला जस्तै गाडी हल्लिन थालेपछि उनी मात्र होइन, बसभित्रका धेरैजसो यात्रुले एकअर्कालाई हेर्न थाले ।

 

पुलमाथि सवारी जाममा पर्दा यसरी नै हल्लिन्छ । चन्द्रनिगाहपुरमा खाजा खान रोकिएका तिमल्सिनाले केहीबेर वाग्मती पुलमा गाडी रोकिँदा हल्लिएर सातो गएको सुनाए । ‘भूकम्प आएको जस्तै गरी गाडी हल्लिँदो रहेछ । गाडी नै तल खस्छ जस्तो लागेको थियो,’ उनले भने, ‘राजमार्गका सबैजसो पुलमाथि गाडी गुड्दा हल्लिन थालेको छ । यसले दुर्घटना निम्त्याउन सक्छ ।

पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केवर खण्डमा पुराना रहेका प्रायः पुल सवारीसाधन आवतजावत गर्दा यसरी नै हल्लिन्छन् । करिब ४० वर्षअघि तत्कालीन सोभियत संघ रुसको सहयोगमा निर्माण गरिएका पुल नेपाल सरकारले समयमा मर्मत–सम्भार गरेको पाइन्न । वाग्मती पुलको बीच भागमा केही भासिएको चन्द्रपुर–१ वाग्मतीका स्थानीय राजनीतिक कार्यकर्ता गोपाल घिमिरेले बताए ।

बाराको दुधौरा पुल सवारी सञ्चालनकै बेला दुई पटक भासिएपछि अहिले भत्काएर निर्माणकै क्रममा छ । यहाँ तलबाट डाइभर्सन निर्माण गरी सवारीसाधन सञ्चालनको व्यवस्था मिलाइएको छ । पुरानो पुल जीर्ण भएकाले भासिएको सडक विभागअन्तर्गतको पुल महाशाखाले जनाएको छ । राजमार्गका पुलका पल्टा गार्डर लामो समयसम्म मर्मत नहुँदा खिया लागेर जीर्ण बनेका हुन् । फलाम खिया लागेर भाँच्चिने कारणले पुल धसिने गरेको प्राविधिक बताउँछन् । एक वर्षअघि वाग्मतीको पुल ६ इन्च र चाँदी पुल ४ इन्च तल धसिएको थियो । दुवै जीर्ण भएपछि सामान्य मर्मत गरिएको हो । यही पुलमा पनि गाडी हल्लिएर सात्तो जाने यात्रुको भनाइ छ । उक्त पुल गौरीपार्वती हिमालयन जेभी कम्पनीले मर्मत गरेको थियो ।

०२६ सालमा तत्कालीन सोभियत संघको सहयोगमा राजमार्गका पुल निर्माण गरिएको हो । बाराको पथलैयादेखि धनुषाको ढल्केवरसम्मका पुलका बिम खिया लागेर भाँचिने अवस्थामा पुगेका छन् । राजमार्गका पुलमा जग खुल्ने, बेयरिङ बिग्रने, फलामे पुल खियाले बिग्रने, नदीको ढुंगा र गिट्टी जथाभावी निकाल्दा जग खोलिने जस्ता समस्या रहेको पुल महाशाखाले जनाएको छ । पुल पुराना भएकाले हल्लिएको हुन सक्ने महाशाखा प्रमुख ललिजन खनालले बताए । ‘अब पूर्वपश्चिम राजमार्ग र पुल निर्माणका लागि टेन्डर आह्वान भइसकेको छ,’ उनले भने, ‘बिस्तारै सबै नयाँ बन्नेछन् ।’ ४ वर्षभित्र १ हजार २ सय १ नयाँ पुल निर्माण गरिने महाशाखाले जानकारी दिएको छ । पुल बनेपछि सवारी आवागमन सहज हुने उनको दाबी छ ।

कमलादेखि वाग्मतीसम्मको ७७ किमि सडक मर्मतको ठेक्का आह्वान भइसकेको महाशाखाले बताएको छ । यो क्षेत्रमा ७६ वटा पुल पर्ने सडक विभागका उपमहानिर्देशक डा. विजय जैसीको भनाइ छ । वाग्मतीदेखि पथलैयासम्मको सडकको ठेक्का आह्वान हुन बाँकी रहेको उपमहानिर्देशक जैसीले जनाए । पथलैया–ढल्केबर खण्डको करिब ५५ वटा पुलमा बढी समस्या देखिएको महाशाखाले बताएको छ । राजमार्गका सबै पुल सिंगल लेनका छन् । यस खण्डको सडक ९ मिटरको छ । पुल भने ५ मिटरको छ । त्यही भएर पुल थप्ने र पुराना पुलको ठाउँमा नयाँ बनाउने प्रक्रिया सुरु भएको महाशाखाको भनाइ छ । राष्ट्रिय राजमार्ग ४ लेनको बनाउने योजना रहेकाले त्यहीअनुसारको पुल बनाइनेछ । यो राजमार्गमा यहाँ दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्छन् । पुराना र साँघुरा पुलका कारण सवारीसाधन ओहोरदोहोरमा समस्या हुने गरेको छ । सधैं व्यस्त रहने राजमार्गका पुलमा रेलिङ भाँचिने, खाल्डो पर्ने जस्ता समस्या छन् ।

बाराको पसाहा निगगढको बकैया र रौतहटको लमाहा, चाँदी, वाग्मती पुलमा सवारी जामले हैरान पारेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले जनाएको छ । यी पुलमाथि ५/६ वटा गाडी एकसाथ रोकिए हल्लिएर सातो जाने अवस्था हुन्छ । वाग्मतीमा दुवैतिरबाट एकै पटक सवारीसाधन आउँदा पर्ने जामले हैरान पारेको जिल्ला ट्राफिक कार्यालय रौतहटका प्रहरी निरीक्षक सुशील आचार्यले सुनाए । ‘साँघुरा पुलका कारण सवारी आवागमन प्रभावित भइरहेको छ,’ उनले भने, ‘साँघुरो पुलले सवारीसाधन ठोक्किने र पुलमै जाम हुने समस्या धेरै छ ।’

दैनिक ५ हजारभन्दा बढी सवारीसाधन गुड्ने पूर्वपश्चिम राजमार्गअन्तर्गतका पुल ४० वर्षपछि गत वर्ष मर्मत गरिएको थियो । विश्व बैंकको सहयोगमा राजमार्गका सानाठूला नदीमा निर्मित पुल महाशाखाअन्तर्गत पहिलो पटक ठेकेदारमार्फत मर्मत गरिएको हो । रौतहटअन्तर्गत पूर्व–पश्चिम राजमार्गमा १२ वटा साना–ठूला पुल छन् । राजमार्गअन्तर्गत बारामा पर्ने बकैया पुल, पसाह, दुधौरा, १ नम्बर, २ नम्बर, ३ नम्बर र रौतहटतर्फ चाँदी, लामाहा, वाग्मती पुल जीर्ण छन् । अहिले पुलको भारवहन क्षमताभन्दा अत्यधिक सामान राखेर मालवाहक साधन गुडाउँछन् ।

एक दशकअघिसम्म ६ चक्काका ट्रक चल्थे । त्यसपछि १० चक्काको आउन थाल्यो । बिस्तारै १२ चक्का, १४, १८ र अहिले २४ चक्का भएका मालवाहक साधन अत्यधिक लोड राखेर चल्न थालेका छन् । यसले सडक र पुलको अवस्था कमजोर बन्दै गएको सडक विभागको भनाइ छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356