मलेसियाद्वारा ‘सुरक्षा गार्ड’ खुला

Logo
Red FM बिहिबार, चैत्र २२, २०८०

काठमाडौँ — मलेसियाले नेपालबाट सुरक्षा गार्डका रूपमा मात्र कामदार लैजाने भएको छ । अर्को निर्णय नभएसम्म उत्पादन, कृषि र सेवा क्षेत्रमा कामदार नलैजाने जनाएको मलेसियाले सुरक्षा गार्डमा भने नेपाली कामदारलाई खुला गरेको हो ।

मलेसियाले आफ्नो श्रम बजारमा कोटाभन्दा बढी विदेशी कामदार भएको भन्दै चैत १८ (मार्च ३१) बाट कलिङ भिसा जारी गर्न बन्द गरेको थियो । भिसा जारी भएको कामदारको हकमा भने जेठ १८ (मे ३१) भित्र मलेसिया प्रवेश गरिसक्नुपर्ने निर्णय मलेसियाले गरेको छ । मलेसियास्थित नेपाली दूतावासले सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा चैत ९ देखि नै मागपत्र प्रमाणीकरण गर्न रोक लागेको जनाएको छ । मागपत्र प्रमाणीकरण रोकेपछि कामदारको भर्ना प्रक्रिया अगाडि बढ्दैन ।

नेपाल स्वास्थ्य व्यवसायी महासंघले पनि सुरक्षा गार्डबाहेक अन्य क्षेत्रमा जाने कामदारको स्वास्थ्य परीक्षण रोकेको छ । ‘हामीलाई सुरक्षा गार्डमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न मात्रै मलेसियाको निर्देशन छ । त्योभन्दा बाहेकको क्षेत्रमा जाने कामदारका लागि गत बिहीबारदेखि नै स्वास्थ्य परीक्षण बन्द गरिसकेका छौं,’ महासंघका अध्यक्ष कैलाश खड्काले भने, ‘स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएपछि मात्रै कलिङ भिसा जारी हुन्छ ।’ नेपाल र मलेसियाको श्रम सम्झौताबमोजिम कामदारको स्वास्थ्य परीक्षण गर्न सूचीकृत स्वास्थ्य संस्थामध्येबाट मलेसियाको मापदण्ड पूरा गरेको ३६ स्वास्थ्य संस्थालाई अनुमति दिइएको छ ।

मलेसियाले १६ वटा कामदार स्रोत देशमध्ये नेपालबाट मात्रै सुरक्षा गार्ड लिँदै आएको छ । नेपाली दूतावासले मासिक २६ सय ५० रिंगेट (करिब ७९ हजार रुपैयाँ) दिने सर्तमा मात्रै सुरक्षा गार्ड ल्याउन अनुमति दिने गर्छ । दूतावासले न्यूनतम तलब १५ सय र ओभरटाइम ११ सय ५० गरी एकमुष्ट रूपमा २६ सय ५० रिंगेट निर्धारण गरेको छ । तर, दूतावासको सर्त मानेर सुरक्षा गार्ड ल्याएका रोजगारदाता कम्पनी फेला पार्न मुस्किल छ । मलेसियाले नेपालबाहेक अन्य देशबाट सुरक्षा गार्ड आपूर्ति गर्न रोक लगाएको छ तर नेपालले त्यसअनुरूप लाभ लिन सकेको छैन । मलेसियाका पूर्वउच्च सुरक्षा अधिकृतको ७० प्रतिशत साझेदारी भएको कम्पनीलाई मात्रै सुरक्षा गार्ड आपूर्ति तथा सप्लाई गर्ने लाइसेन्स (अनुमति) दिइन्छ । यस्ता कम्पनी झन्डै ८ सय वटा छन् । तीमध्ये आधा कम्पनीले नेपाली सुरक्षा गार्ड मात्रै आपूर्ति गर्छन् ।

मलेसियाका लागि नेपाली राजदूत डिल्लीराज पौडेलले मलेसियाको सार्वभौमिकता र स्वाधीनताको रक्षाका लागि नेपाली सुरक्षाकर्मीले खेलेको भूमिकाप्रति मलेसियाले सधैं सम्मान गर्दै आएको बताए  । ‘नेपालीलाई अझै सही ढंगले पहिचान गर्न सकेको भए सुरक्षा गार्डको झन् राम्रो सम्भावना थियो/छ । मलेसिया र नेपालीबीच असल कूटनीतिक सम्बन्ध त छँदै छ, त्योभन्दा बढी आत्मीय सम्बन्ध पनि छ,’ उनले भने, ‘यो कुरालाई राज्यको माथिल्लो तहमा उजागर गर्नुपर्छ ।’

मलेसियाले आफूसँग भएको कुल श्रमशक्तिको १५ प्रतिशत मात्रै विदेशी श्रमिक राख्ने नीति लिएको छ । मलेसियामा एक करोड ७० लाख श्रमशक्ति छ । जसअनुसार विदेशी श्रमशक्तिको अधिकतम संख्या २५ लाख ५० हजार हो । मलेसियामा सुरक्षा गार्ड, पर्यटन क्षेत्र, फर्निचर, सरसफाइ र साना औद्योगिक उत्पादनलगायतमा गरी झन्डै ५ लाख नेपाली श्रमिक छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356