सानो लक्ष्यमा नेपाल सानै स्कोरमा अलआउट

Logo
Red FM बुधबार, चैत्र २१, २०८०

विराटनगर— म्याथ्यु हम्फ्रेजले ५ विकेट लिएपछि आयरल्यान्ड उल्भस (ए) ले पहिलो एकदिवसीय क्रिकेटमा नेपाल ‘ए’ लाई २१ रनले पराजित गरेको छ । १ सय ५८ रनको लक्ष्य लिएर आएको घरेलु टोली त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा २५.३ ओभरमा १ सय ३६ रनमा अलआउट भयो ।

देव्रहाते स्पिनर हम्फ्रेजले १० ओभरमा ३२ रन खर्चेर ५ विकेट लिए । नेपालबाट शाहव आलमले सर्वाधिक ३७ रन बनाए । उनले ३४ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । शाहव र रिजन ढकालले नवौं विकेटमा ३४ रनको साझेदारी गरि नेपाललाई विजयतर्फ पुर्‍याएको समयमा हम्फ्रेजले शाहवलाई २५ औं ओभरमा आउट गरि महत्वपूर्ण साझेदारी तोडेका थिए ।

त्यसको अर्को ओभरमा सागर (मौसम) ढकाल रन आउट भएपछि नेपाली टोली झन्डै आधा इनिङ्सको खेल बाँकी रहँदैं अलआउट भएको थियो । अर्का आइरिस बलर लिएम म्याकर्थीले ४ विकेट लिए । उनले ५ ओभरमा २९ रन खर्चे ।

नेपालबाट ओपनर देव खनालले २६ रन बनाएका थिए । उनले २२ बल खेली ४ चौका प्रहार गरे । देव र अर्जुन कुमालले पहिलो विकेटमा ५ ओभरमा ३५ रन जोडेका थिए । तर १० औं ओभरमा पुग्दा नेपाल ५६–६ को स्थितिमा पुगेको थियो ।

कुमाल ९, भिम सार्की शुन्य, अर्जुन साउद ४, आरिफ शेख शुन्य, कप्तान विनोद भण्डारी ९ रनमा आउट भएका थिए । कमलसिंह ऐरीले ६ रन जोडे । खुलेर खेलेका बसिर अहमदले २० रन बनाए । उनले २१ बल खेली २ चौका र १ छक्का प्रहार गरे । रिजन ३५ बल खेली १२ रनमा अविजित रहे ।

यसअघि कमलको हृयाटिक विकेटमा नेपाल ‘ए’ ले आयरल्यान्ड उल्भसलाई सानो स्कोरमा अलआउट गरेको थियो । कमलले अन्तिम ३ विकेट लगातार बलमा लिएपछि टस जितेर ब्याटिङमा आएको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १ सय ५७ रनमा अलआउट भएको थियो ।

३९ औं ओभरमा आफ्नो सातौं ओभर लिएर आएका कमलले सो ओभरको पहिलो बलमा लिएम म्याकर्थीलाई मिडविकेटमा शाहव आलमबाट क्याच गराए । त्यसपछिको लगातार बलमा कमलले म्याथ्यु हम्फ्रेज र बेन हृवाइटलाई बोल्ड गरी हृयाट्रिक विकेट पुरा गरेका थिए ।

नेपाल भ्रमणमा रहेको आयरल्यान्ड उल्भसविरुद्ध नेपाली खेलाडीको यो दोस्रो हृयाट्रिक विकेट हो । सोमपाल कामीले नेपाली राष्ट्रिय टोलीबाट खेल्दै आयरल्यान्ड उल्भसविरुद्धको दोस्रो खेलमा पनि आफ्नो लगातार तीन बलमा विकेट लिएका थिए ।

कमलले ६.३ ओभरमा १ मेडन राख्दै २१ रन खर्चेर ४ विकेट लिए । शाहव र मौसमले २–२ विकेट लिए । शाहवले ९ ओभरमा १ मेडन राख्दै २१ र मौसमले १० ओभरमा ५० रन खर्चेका थिए । अर्को एक विकेट रिजनले लिए ।

आइरिस टोलीबाट केड केरमाइकलले सर्वाधिक ५१ रन बनाए । उनले ७७ बल खेली ४ चौका प्रहार गरे । कप्तान निल रकले ३२ बल खेली २ चौका र ३ छक्कासहित ३९ रन बनाए । पिटर मुर २१ तथा जेम्स म्याकलम र स्टेफन डहनीले समान १२ रन बनाए ।

आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ सँग तीन एकदिवसीय शृंखला खेलिरहेको हो । आयरल्यान्ड ‘ए’ ले यसअघि नेपाली राष्ट्रिय टोलीसँगको दुबै ट्वान्टी २० खेल हारेको थियो भने नेपाल ‘ए’ सँगको तीन खेलको शृंखला २–१ ले जितेको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356