माग भए मात्रै सवारीको भन्सार जाँचपास गराउँछन् व्यवसायी

Logo
Red FM सोमबार, चैत्र १९, २०८०

विराटनगर— चार वर्षअघि महामारीको रूप लिएको कोभिडको असर अटो क्षेत्रमा कायमै छ । बजारमा नयाँ सवारीको माग छैन । नयाँ सवारीका लागि बैंकले ऋण दिएका छैनन् । इलेक्ट्रिक सवारीको माग केही भए पनि डिजेल र पेट्रोल इन्जिनवाला सवारीको माग नरहेको अटो व्यवसायी बताउँछन् । यही कारण भन्सार यार्डमा हजारौं सवारी थन्किएका छन् ।

व्यवसायीले पनि सवारीको माग आएपछि मात्रै भन्सार जाँचपास गराउँदै आएका छन् । भन्सार जाँचपास नहुँदा राजस्व संकलन पनि घटेको छ । आइतबारसम्म २ हजार २ सय २३ नयाँ गाडी थन्किएको जानकारहरूको भनाइ छ । जाँचपास गराउँदा एउटा गाडीको २ सय ५० प्रतिशतसम्म भन्सार लाग्छ । यसबाट अर्बौं रुपैयाँ राजस्व संकलन हुन्छ । तर व्यवसायीले ग्राहकबाट माग आएपछि मात्रै जाँचपास गराउँदा भन्सारमा सवारी थन्किने क्रम बढेको हो ।

‘व्यवसायीले बिक्री नहुने र आर्थिक अवस्था देखाएर सवारी जाँचपास गराएका छैनन् । यद्यपि विभागका तर्फबाट सक्दो चाँडो जाँचपास गराएर सवारी उठाउन भनेका छौं । अन्यथा सवारी जफत गर्नेसम्म भनेका छौं,’ भन्सार विभागका सूचना अधिकारी पुण्यविक्रम खड्काले भने, ‘जफत गर्ने सूचना प्रकाशन गरेपछि केहीले सामान छुटाएका छन् । तर अझै धेरै बाँकी नै छन् । छुटाउन ताकेता गरेको गर्‍यै छौं ।’ अटो व्यवसायीले विभिन्न मुलुकबाट आयात गरेका सवारी सुक्खा बन्दरगाहको एकीकृत जाँच चौकीमा राखेका छन् । पार्किङ गरेबापत व्यवसायीले दिनको ५ सयदेखि ६ सय रुपैयाँ तिर्नुपर्छ । उपत्यका चोभार बन्दरगाहको हकमा भने दैनिक २ सय रुपैयाँ लाग्छ । जति दिन बन्दरगाहमा थन्किए, पार्किङको शुल्क त्यति नै बढ्छ । उक्त शुल्क व्यवसायीले उपभोक्ताबाटै असुल्ने हो ।

‘धेरै लामो समयदेखि सवारी रोकिएको छ, कोभिड कालदेखिकै सवारी यत्तिकै थन्किएका छन् । धेरै सवारी हुँदा जाम हुने समस्या रहन्छ,’ सुक्खा बन्दरगाह, एकीकृत जाँच चौकी व्यवस्थापनको जिम्मा लिएको नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले भने, ‘त्यसैलाई दृष्टिगत गरी सवारी छुटाउन नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाललाई पटक–पटक आग्रह गरेका छौं । भन्सार पास गराउँदा २ सय ५० प्रतिशत भन्सार शुल्क तिर्नुपर्दा व्यवसायी अनकनाउने गरेका छन् ।’ व्यवसायीले पार्किङ राख्दा समितिलाई आम्दानी हुन्छ । तर मुख्य उद्देश्य सहजीकरण भएकाले छिटोछिटो भन्सार पास गर्नुपर्ने उनको भनाइ छ ।

‘यार्डमा जति धेरै गाडी बस्छन्, तिर्नुपर्ने शुल्क त्यति नै बढ्दै जाने भएकाले यसको घाटा व्यवसायीलाई नै हुन्छ । तर त्यसको पूर्ति व्यवसायीले उपभोक्ताबाटै गर्ने गरेका छन् । समितिले पार्किङ शुल्क पाए पनि जतिसक्दो धेरै गाडी जाँचपास होस् भन्ने हाम्रो मान्यता हो,’ गजुरेलले भने, ‘नाडासँगको पहलमा केही घटाएका छौं । तर अझै हजारौं सवारी थन्किएका छन् ।’ उनका अनुसार केही महिनाअघि वीरगन्ज नाकामा मात्रै २४ सय सवारी थन्किएका थिए । अहिले संख्या केही घटेको छ । समितिका अनुसार ६ सुक्खा बन्दरगाह र एकीकृत जाँच चौकी गरी करिब २२ सय २३ सवारी रोकिएका छन् ।

सबैभन्दा बढी वीरगन्ज एकीकृत जाँच चौकीमा ११ सय २०, भैरहवा सुक्खा बन्दरगाहमा ६ सय १९, चोभार सुक्खा बन्दरगाहमा २ सय ४९ र तातोपानी सुक्खा बन्दरगाहमा १ सय २७ सवारी रोकिएका छन् । वीरगन्ज सुक्खा बन्दरगाहमा १ सय ७ र विराटनगर एकीकृत जाँच चौकीमा एउटा सवारी रहेको समितिले जनाएको छ ।

शिथिल अर्थतन्त्रका कारण सवारीको बिक्रीमा समस्या भएको नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका निवर्तमान अध्यक्ष ध्रुव थापाले बताए । विद्युतीय सवारीको केही माग भए पनि डिजेल र पेट्रोल इन्जिनको हकमा माग नभएको उनको भनाइ छ । ‘सवारी बिक्री नहुँदा जाँचपास गराएर मात्रै पनि भएन । व्यवसायीसँग पैसा छैन, बैंकले ऋण दिँदैनन् । तर पनि बिस्तारै जाँचपास गराइरहेका छौं,’ थापाले भने, ‘दुई–तीन वर्ष अघिदेखिकै गाडी भन्सारमा रोकिएका छन् ।’ थापाका अनुसार चार हजार सवारीबाट घटेर अहिले करिब २२ सयमा झरेका छन् । यही बीचमा केही सवारी थपिएका पनि छन् ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356