आज प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

Logo
Red FM आइतबार, चैत्र १८, २०८०

विराटनगर। सभामुख देवराज घिमिरेसहित प्रमुख दलका मुख्यसचेतकहरूसहितको टोली विदेशिएपछि ठप्प बनेको संसद् आइतबारदेखि सुचारू हुँदैछ । प्रतिनिधिसभाको बैठक आइतबार विहान ११ बजे बस्ने गरी बोलाइएको छ ।

संसद् सचिवालयका अनुसार आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची छ ।

त्यस्तै, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । बैठकमा अर्थमन्त्री वर्षमान पुनले बैंक तथा वित्तीय संस्थासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने र प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यस्तै, भन्सार विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी ठगीको आरोप रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानविन समिति गठनको माग गरेर संसद्मा अवरोध गरिरहेकै बेला सभामुख घिमिरे ८ चैतमा संसद् ठप्प पारेर विदेश भ्रमणमा निस्किएका थिए । उनीसँगै सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतकहरू समेत विदेश भ्रमणमा गएका थिए ।

उनीहरूले चैत १० देखि १४ गतेसम्म जेनेभामा भएको अन्तर व्यवस्थापिका संघको महासभामा भाग लिएका थिए ।
सभामुख घिमिरे स्वदेश फर्किएपछि आइतबारदेखि पुनः संसद् सुचारु भएको हो । बैठकअघि दलहरुले संसदीय छानविन समितिका विषयमा छलफल थालेका छन् । संसद्मा अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालले शनिबार बेलुका प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित नेताहरूसँग छलफल गरेका थिए ।

त्यसअघि शनिबार विहान बसेको सत्ता साझेदार दलहरूको बैठकले गृहमन्त्री लामिछानेविरुद्धको आरोपमा संसदीय छानविन समिति गठनको आवश्यकता नभएको निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356