विराटनगर। देशभर बिहीबारबाट एसइई सञ्चालन हुँदै छ । गुल्मीमा पनि चार हजार ९७ जनाले एसइई दिँदै छन् । तीमध्येका एक हुन्– छत्रकोट– ४ का १९ वर्षीय ऋषिराम कँडेल । उनले खुट्टाले लेखेरै एसइई दिँदै छन् ।
श्रृंगा जनता माविमा अध्ययनरत कँडेलले रुरु क्षेत्र गाउँपालिको जनबोध मावि परीक्षा केन्द्रबाट परीक्षा दिन लागेका हुन् । उनलाई छुट्टै कोठामा कार्पेट र कुसनमा बसेर परीक्षा दिने व्यवस्था मिलाइएको परीक्षा केन्द्रका केन्द्राध्यक्ष वामदेव ज्ञवालीले जानकारी दिए । कँडेलले आवश्यकताका आधारमा डेढ घण्टासम्म थप समय पाउने उनको भनाइ छ ।
ऋषिराम जन्मजात अपांगता भएका व्यक्ति हुन् । दाहिने खुट्टाको दुई औँलाबाहेक अरू चल्दैनन् । तर, त्यही दुई औँलाले आफ्नो भविष्य कोर्दै छन् । ऋषिराम परीक्षामा सहभागी हुने कुराले उत्साहित छन् ।
परीक्षाको तयारी पनि राम्रो गरेको उनले बताए । ‘परीक्षाले उत्साहित छु । सकेको मिहिनेत पनि गरेको छु,’ उनले भने, ‘३।२ अंकको आशा छ ।’ उनी घरबाटै केन्द्रमा पुगेर परीक्षा दिने योजनामा छन् ।
घरबाट केन्द्रसम्म पुग्न करिब ३० मिनेट लाग्छ । बुुबा लक्ष्मण कँडेलले ऋषिरामलाई मोटरसाइकलमा आउ–जाउ गराउने बताए । बाबु–छोराले नै शारीरिक अवस्थाका कारण नजिकै केन्द्र नहुँदा स्वाभाविक सास्ती हुने गुनासो गरे ।
समाजमा कैयौँ अपांगता भएका व्यक्ति छन् । तर, उनीहरूले कोठा र बिस्ताराबाट आफूलाई बाहिर ल्याउन सकिरहेका छैनन् । ऋषिरामका हातखुट्टा कमजोर छन् । तर, बौद्धिक क्षमता सबलको भन्दा अब्बल छ । दुई औँलाले लेख्छन्, तस्बिर कोर्छन्, मोबाइल तथा ल्यापटप चलाउँछन् ।
त्यसैले श्रृंगा जनता माविका उत्कृष्टमध्येका विद्यार्थी हुन् कँडेल । उनी सपांगता भएका व्यक्तिका मार्गदर्शक पनि हुन् । उनी सबै विधा र क्रियाकलापमा उत्कृष्ट छन् । उनले कक्षा ४ सम्म घरनजिकैको शारदा माविमा पढे । त्यसपछि श्रृंगा जनता माविमा पढ्दै आएका थिए ।
ऋषिराम ‘क’ वर्गको अपांगता भएका व्यक्ति हुन् । अरूको सहाराविना केही गर्न सक्दैनन् । तर, घरपरिवार, समुदाय र विद्यालयसम्म आफूलाई कहिल्यै फरक र कमजोर अनुभूति गरेनन् ।
बुबा लक्ष्मणले ऋषिरामलाई बिहान ठीक १० बजे स्कुल पुर्याउँथे । गेटमै आएका साथीहरूले उचालेर कक्षाकोठामा पुर्याएर सहयोग गर्थे । साँझ ठीक ४ बजे बुबा स्कुलको गेटमा पुग्थे । सबैको माया, सदभाव र सहयोग पाएकाले कहिल्यै कमजोर महसुस नगरिएको ऋषिरामले बताए ।
‘जन्मलाई पछुतो मानेर होइन, अवसरका रूपमा पढिरहेको छु,’ उनले भने, ‘परिवार र समाजबाट कहिल्यै हीनताबोध भएन ।’ खुट्टाले कलम छोप्न थालेको ऋषिरामलाई सम्झना छैन ।
बच्चामा हात उठ्दैनथे । खुट्टाका औँलाले पहिले समाउन खोज्थे । परिवारले सिसाकलम र पेन दिन थाले । बिस्तारै अभ्यास हुँदै गएपछि उले सबै काम खुट्टाले गर्न थाले ।