आईपीएलमा हेर्नलायक खेलाडी

Logo
Red FM शनिबार, चैत्र १०, २०८०

 

खेलाडीले कमाउने आधारमा मात्र होइन, आईपीएलसँग जुन प्रकारले आर्थिक गतिविधि जोडिएको छ, त्यसले देखाउँछ, विश्व खेलकुदकै सबैभन्दा महँगो लिगमा पर्छ यो ।

शुक्रबारदेखि प्रतियोगिता पनि सुरु भइसकेको छ, सन् २०२४ को संस्करण । आईपीएलमा खेलाडी भित्र्याउने भनेको लिलामीको माध्यमबाट हो । प्रतियोगितामा सहभागी हुने फ्रेन्चाइज टिमहरू आफूलाई मन पर्ने खेलाडी किन्न मन खोलेर खर्च गर्छन् । त्यसैले त यो खेलाडी लिलामी पनि बहुप्रतीक्षित अवसर रहने गरेको छ । टिमले बढी रकम तिर्ने भनेको राम्रा खेलाडीलाई त हो । त्यस अर्थमा तिनै खेलाडी हुनेछन्, प्रतियोगिताका क्रममा सबैभन्दा बढी पछ्याउन लायक । यसपल्टको १७ औं संस्करणमा त्यस्ता पाँच खेलाडी को–को हुन् त ?

मिचेल स्टार्क (कोलकाता नाइटराइडर्स)

आईपीएल इतिहासकै सबैभन्दा महँगा खेलाडी हुन्, अस्ट्रेलियाली फास्ट बलर मिचेल स्टार्क । तल्लो क्रमको ब्याटरका रूपमा महत्त्वपूर्ण योगदान दिन सक्षम स्टार्कका लागि कोलकाताले २९ लाख ८० हजार डलर खर्चेको थियो । टेस्ट क्रिकेटमा ३ सय ५८ विकेट लिइसकेका स्टार्क बायाँ हाते स्विङ बलर हुन् । उनी नौ वर्षपछि फेरि आईपीएल खेल्दै छन् । त्यस अगाडि उनले रोयल च्यालेन्जर्स बेंगलुरुका लागि खेलेका थिए । अभ्यासका लागि उनी कोलकातामा उत्रँदा त्यसले सामाजिक सञ्जालमा तहल्का मच्चाइरहेको छ । यी ३४ वर्षीय खेलाडीले भारतमै भएको वान–डे विश्वकपमा १६ विकेट लिएका थिए ।

 कमिन्स हुन्, वान डे विश्वकप विजेता अस्ट्रेलियाली टिमका कप्तान । यसपल्टको आईपीएलमा उनी सनराइज हैदराबादको पनि नेतृत्व गर्दै छन् । आईपीएलमा उनले कप्तानी गर्न लागेको भने यो पहिलो पटक हो । यही सेवाका लागि हैदराबादले उनलाई २५ लाख डलर तिर्न तयार भएको हो । लिलामीमा यी ३० वर्षीय फास्ट बलर सबैको आकर्षणमा थिए । भारतीय भूमिमै अस्ट्रेलियालाई वान–डे विश्वकपको उपाधि दिलाउन महत्त्वपूर्ण योगदान दिएपछि उनको महत्त्व बढेको हो । उनकै नेतृत्वमा अस्ट्रेलियाले वर्ल्ड टेस्ट च्याम्पियनसिप जितेको थियो, अझ त्यो पनि भारतलाई नै हराएर ।

ड्यारेल मिचेल (चेन्नई सुपर किंग्स)

ब्याटिङ अलराउन्डर हुन्, न्युजिल्यान्डका यी खेलाडी । ड्यारेल मिचेल ब्याटबाट योगदान त दिन्छन् नै, उत्तिकै सटीक बलिङ पनि गर्छन् । आजभोलिको छोटो क्रिकेट ढाँचामा कुनै पनि टिमलाई चाहिने भनेकै यस्तै अलराउन्डर खेलाडी हुन् । वान–डे विश्वकपमा न्युजिल्यान्डका लागि उम्दा खेलेका मिचेल १६ लाख डलरमा मज्जाले विकेका थिए र किन्ने टिम थियो, डिफेन्डिङ च्याम्पियन चेन्नई सुपर किंग्स । उनी ३२ वर्षका भए र अझै राम्रो खेलिरहेका छन् । संयोग कस्तो भने उनले पनि वान–डे विश्वकपमा राम्रो गरे, दुई शतक प्रहार गरे । यी दुवै शतक भारतविरुद्ध नै थिए, समूह चरण र सेमिफाइनलमा ।

अन्तर्राष्ट्रिय क्रिकेटमा वेस्ट इन्डिज अब शक्ति रहेन, तर ट्वान्टी– ट्वान्टी क्रिकेटमा तिनका खेलाडीको उपस्थिति अझै उत्तिकै दरिलो छ । यसकै एउटा उदाहरण हुन्, रोभमन पावेल । राजस्थान रोयल्सले उनका लागि दुबईमा भएको लिलामीमा आठ लाख ९० हजार डलर तिर्न तयार भएको थियो ।

पावेलको सबैभन्दा ठूलो शक्ति भनेकै शक्तिशाली प्रहार गर्नु हो, त्यो पनि एकपछि अर्को । त्यसैले त उनको स्ट्राइकर रेट पनि १ सय ४४ रहेको छ । मध्यक्रमका ब्याटरका रूपमा मैदानमा ओर्लेर इनिङ्सका अन्त्यतिर उनी जोडदार प्रहार गर्ने गर्छन् । त्यसले टिमको स्कोर एकाएक बढ्ने गर्छ ।

गेराल्ड कोएट्ज (मुम्बई इन्डियन्स)

पछिल्लो वान–डे विश्वकपमा राम्रो प्रदर्शन गर्ने खेलाडीका रूपमा पर्छन्, दक्षिण अफ्रिकाका यी फास्ट बलर गेराल्ड कोएट्ज । उनले आठ खेलमा २० विकेट लिए । नतिजा मुम्बई इन्डियन्स उनका लागि ६ लाख डलरभन्दा केही बढी तिर्न तयार भयो । पछिल्लो सिजन मुम्बईका लागि राम्रो भएन । त्यसैले बलिङ आक्रमणमा जसप्रित बुमराहलाई साथ दिन कोएट्जलाई झिकाइएको हो भन्दा हुन्छ ।

गत वर्ष मात्र अन्तर्राष्ट्रिय क्रिकेटमा देखापरेका २३ वर्षीय कोएट्जले मुम्बई जत्तिको टिमबाट खेल्नु पाउनुलाई ठूलो मानेका छन् । बुमराहबाट केही सिक्न पाएपछि राम्रो हुने उनको तर्क छ ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356