समाजवादी मोर्चामा सहभागी हुन एमालेद्वारा अस्वीकार

Logo
Red FM शनिबार, चैत्र १०, २०८०

विराटनगर —माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी र नेकपाको समाजवादी मोर्चामा सहभागी हुन गरेको आग्रहलाई एमालेले अस्वीकार गरेको छ ।

 

समाजवादी मोर्चाको शुक्रबार बसेको बैठकले एमालेलाई पनि सहभागी हुन आग्रह गर्ने निर्णय गरेको थियो । बैठकले नयाँ सत्ता समीकरण बनेसँगै समाजवादी विचार भएका दलहरूबीच सहकार्यका लागि बनाइएको मोर्चामा एमालेलाई सहभागी बनाउने निष्कर्ष निकालेको थियो ।

शुक्रबार अपराह्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच सिंहदरबारमा भएको भेटमा ओलीले आफ्नो पार्टी समाजवादी मोर्चामा मिसिन उपयुक्त नहुने धारणा राखेका थिए । ‘अहिले तपाईंहरू नै मोर्चा सम्हाल्नुस्, हामी एउटै गठबन्धनमा छौं,’ ओलीको भनाइ उद्धृत गर्दै एमाले स्रोतले भन्यो, ‘सरकारमा अरू दललाई पनि सहभागी गराउन चाहेका छौं । हामी यो मोर्चामा सहभागी हुनु उपयुक्त हुँदैन ।’ ओलीले एमाले पनि मोर्चाबन्दीमा सहभागी भए गलत सन्देश जाने बताएका थिए ।

समाजवादी मोर्चाको संयोजक आलोपालो हुने कार्यविधि छ । हालका संयोजक एवं नेकपा महासचिव नेत्रविक्रम चन्दले एमालेलाई समाजवादी मोर्चामा सहभागी गराउन आग्रह गर्ने निर्णय भएको बताए । मोर्चाले प्रधानमन्त्री दाहाललाई एमाले अध्यक्ष ओलीसँग कुरा गर्ने जिम्मा दिएको थियो । ‘समाजवादी मोर्चामा सहभागी हुन एमालेलाई आग्रह गर्ने निर्णय भएको छ,’ चन्दले भने, ‘विचारधारामा नजिक हुने दलहरू एउटै मोर्चामा बस्नु राम्रो हुने भएकाले एमालेलाई आग्रह गरिएको हो ।’ यसअघि मोर्चाका संयोजक चन्दले बिहीबार बालकोट पुगेर ओलीलाई समाजवादी मोर्चामा सहभागी हुन आग्रह गरेका थिए । ‘ओलीजीले सकारात्मक कुरा गर्नुभएको छ,’ उनले भने । विचार नजिक हुने दलहरूबीच मोर्चा हुनु स्वाभाविक भएकाले आफूले ओलीसमक्ष प्रस्ताव राखेको चन्दले बताए । सरकार बाहिर रहेको नेकपा गत असारमा सत्ता गठबन्धनका तीन दलसहित सहभागी भएको थियो । ‘मुलुकमा एउटा समाजवादी केन्द्र आवश्यक छ, त्यसैले मोर्चा बनाएर काम गरौं भन्ने यसको उद्देश्य हो,’ चन्दको भनाइ छ ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले समाजवादी मोर्चाको तत्कालीन उद्देश्य कांग्रेसलाई दबाबमा राख्न गठन भएको पृष्ठभूमि उल्लेख गर्दै विचारधाराका आधारमा मोर्चा नबनेको बताए । मुलुकका राष्ट्रिय मुद्दा सम्बोधन गर्न बृहत् सहकार्यको आवश्यक भएकाले मुलुकमा थप राजनीतिक ध्रुवीकरण आवश्यक नभएको बताए । ‘सरकारमा अरू दललाई पनि सहभागी गराउने प्रयास जारी छ,’ उनले भने, ‘यस्तो बेलामा गठबन्धनभित्र अर्को मोर्चा बनाउँदा सत्ता सहकार्यमा आशंका हुन्छ ।’ उनले मुलुकमा वामपन्थी र गैरवामपन्थीबीच ध्रुवीकरण गर्नुभन्दा प्रमुख प्रतिपक्षलाई समेत कतिपय राष्ट्रिय मुद्दामा सँगै लिएर जानुपर्ने बताए ।

‘मुलुकका जटिल समस्या समाधान गर्न प्रमुख प्रतिपक्षसँग सहकार्य गरेर जानुपर्ने छ,’ उनले भने, ‘एमाले मोर्चामा सहभागी हुँदैन ।’ समाजवादी मोर्चामा सहभागी भएमा सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी एक्लिने भएकाले पनि एमालेले प्रस्ताव अस्वीकार गरेको बुझिएको छ । ‘काम गर्दै जाँदा समान विचार राख्ने दलहरूबीच मोर्चा मात्र होइन, पार्टी एकताको आधार पनि बन्न सक्छ,’ एमाले उपमहासचिव ज्ञवालीको भनाइ छ, ‘अहिलेको बहस मुलुकका जटिल समस्या जस्तै, आर्थिक वृद्धि, ठूलो संख्यामा रोजगारी सिर्जनालगायतमा केन्द्रित हुनुपर्छ ।’ एमालेले अर्को गठबन्धनभित्र अर्को मोर्चा बनाउनुभन्दा पाँच दलबीच भएको सहमति र न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्पलाई कार्यान्वयन गरी सरकारलाई सफल बनाउनेतिर ध्यान दिनुपर्ने उनको भनाइ छ ।

जनताको राय

चैतमास लागेसँगै हरेक वर्ष देशैभरि डढेलो र आगलागीका घटना हुने गर्छ । यस्ता घटना हुनुको प्रमुख कारण के होला ?

पृथ्वीनारायण क्याम्पस पोखराका राजनीतिशास्त्रका प्राध्यापक थान क्षेत्रीले माओवादी अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालको रणनीति अनुसार मोर्चा अघि बढेको बताए । ‘सत्ता गठबन्धनभित्र अर्को मोर्चा बनाउनु दाहालको आफ्नै स्वार्थ देखिन्छ,’ उनले भने, ‘यसमा विप्लव (चन्द), माधव नेपाल र उपेन्द्र यादवको पनि अस्तित्वमा रहने चाहना देखिन्छ ।’ उनले गठबन्धनभित्र अर्को मोर्चाको औचित्य स्पष्ट नभएको बताए । माओवादी उपाध्यक्ष पम्फा भुसालले समाजवादको आधार बनाउने मोर्चाको उद्देश्य भएकाले एमालेलाई सहभागी हुन आग्रह गरेको बताइन् । ‘समाजवादको आधार बनाउने उद्देश्य हो । त्यसका लागि विचार नजिक हुने दलहरूलाई आग्रह गरिएको हो,’ उनले भनिन् ।

 

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356