अब आन्दोलनका नाममा कक्षा बिथोलिने छैन : त्रिवि स्ववियु

Logo
Red FM बुधबार, चैत्र ०७, २०८०

विराटनगर— त्रिभुवन विश्वविद्यालय, केन्द्रीय क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले पठनपाठन, परीक्षा तथा परीक्षाफल प्रकाशनको तालिका बिथोलिने गरी कुनै पनि आन्दोलनका कार्यक्रम नगरिने जनाएको छ । त्रिविको स्ववियु निर्वाचित भएको एक वर्ष पुगेको अवसरमा सोमबार कीर्तिपुरस्थित केन्द्रीय क्याम्पस भवनमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरुले कक्षा बिथोलिने नदिने अडान सुनाए ।

कार्यक्रममा स्ववियुको विगत एक वर्ष र आगामी कार्ययोजनाबारे जानकारी दिँदै स्ववियु सभापति श्यामराज ओझाले शैक्षिक पात्रो सुनिश्चित गरी कडाइका साथ लागू गराउन हरसम्भव प्रयास गरिने बताए । ‘कक्षा सुरु हुने, समाप्त हुने, परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशनसम्मको तिथिमिति निश्चित भएको शैक्षिक पात्रो चाहन्छौँ र त्यसका लागि आन्दोलनले पढाइ बिथोलियो भन्ने अवसर दिँदैनौँ,’ उनले भने ।

शैक्षिक पात्रोकै लागि गत पुस ११ गतेदेखि निरन्तर दबाब दिएपछि त्रिविले हालै शैक्षिक पात्रो प्रकाशित गरेको तर परीक्षाफल प्रकाशन हुने मिति नतोकिएका कारण स्ववियुलाई मान्य नभएको उनले बताए । समयमा पढाइ र परीक्षा तथा परीक्षाफल प्रकाशित नहुने अवस्थाले त्रिविलाई चौतर्फी समस्यामा पारेको उनको भनाइ थियो ।

परीक्षालगायत त्रिविका सबै शैक्षिक कार्यक्रम अतिकेन्द्रीकरणका कारण जटिल र ढिलासुस्तीग्रस्त बनेको स्ववियु सभापति ओझाको भनाइ थियो । त्यसैले शैक्षिक कार्यक्रम विकेन्द्रीकृत गर्दै लैजानसमेत स्ववियुले दबाब दिने उनले बताए । साथै विश्वविद्यालयका चारवटै अनुसन्धान केन्द्रहरुलाई पुनः सक्रिय बनाई राज्यलाई आवश्यक अनुसन्धान गर्ने केन्द्रीय थलो बनाउन पनि दबाब दिइने स्ववियुले जनाएको छ । विश्वविद्यालयमा निश्चित मापदण्डका आधारमा मात्रै नियुक्ति गर्ने प्रणाली तयार गर्न पनि दबाब दिने स्ववियुले जनाएको छ ।

त्रिवि स्ववियुले केन्द्रीय क्याम्पसका विद्यार्थीलाई अनुसन्धान परियोजनामा संलग्न गराएर ‘पढ्दै र कमाउँदै’ को शैली अपनाउने र उनीहरुले प्रयोगात्मक अभ्यास गर्ने समय अनुकुल बनाएर कक्षाहरु चलाउन पनि स्ववियुले दबावका कार्यक्रम गर्ने जनाएको छ । कार्यक्रममा दिइएको जानकारीअनुसार गत वर्ष त्रिवि स्ववियुको दबाब र पहलस्वरुप केन्द्रीय पुस्तकालय सातामा ६ दिन २४ घण्टा खुल्ने र शनिबार बिहान १० देखि साँझ ५ बजेसम्म खुल्न थालेको छ ।

यसैगरी, बन्द भएका छात्रावास थप ८० अटाउने गरी मर्मतसम्हार गराई खुल्ने अवस्थामा रहेको तथा त्रिविका अन्य भौतिक संरचना सुधार तथा खेलकुद, ‘क्याफ्टेरिया’लगायत काम स्ववियुको पहलमा भएको जनाएको छ ।

तपाईको प्रतिक्रिया
RED FM

हाम्रो टिम

छिटै आउदै छ

सम्पर्क

Red FM 101 MHz
Biratnagar Morang Nepal
E-mail: [email protected]
Web: www.redfm.com.np
Facebook: fb.com/redfm.com.np
Phone: 9825378356