विराटनगर, माघ २५ गते । मोरंग र सुनसरीमा संगठित रुपमा डकैती र अपराधमा संलग्न ठूलो गिरोहलाई पक्राउ गर्न प्रहरी सफल भएको छ । केही दिनअघि मोरङ रंगेली नगरपालिका ११ बस्ने जीवन विकास समाज शाखा कार्यालय कर्सियामा फिल्ड सहायकको रूपमा कार्यरत वर्ष ३७ को घनश्याम बहरदारलाई गोली हानेर रकम लुट्ने गिरोहका सदस्यसमेत पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरंगले सोमबार पत्रकार सम्मेलन गरी पक्राउ परेका गिरोहको सदस्यको विषयमा जानकारी गराएको छ । को १९ प १८५१ नम्बरको मोटरसाईकलमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको अवस्थामा दादरबैरिया गाविस वडा नम्बर २र३ र सोराभाग गाविस वडा नम्बर ३ स्थित विराटनगर रंगेली सडक खण्डमा पर्ने गदिया पुलमा बहरदार सवार मोटरसाईकल छेकी गोली प्रहार गरेका थिए ।
गिरोहले निजसँग भएको नगद रू दुई लाख रकम डाँका गरी भागेका थिए । तीमध्ये मोरङ कटहरी गाविस वडा नम्बर ४ बस्ने बर्ष ३४ को कार्तिक कामतलाई तत्कालै पक्राउ गरिएको थियो ।
सो घट्ना पश्चात फरार रहेकाको खोजी गर्न पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केशरीराज घिमिरेको निर्देशनअनुसार मोरंग र सुनसरीबाट समेत ब्यापक रूपमा प्रहरी परिचालन गरी निजहरूको खोजतलास गरी राखेकोमा मिति गत १७ गते खनारमा भएको मुठभेडको क्रममा टंकीसिनवारी– ७ बस्ने वर्ष ३४ को संजय भन्ने श्रवण सरदार, नोचा ३ बस्ने वर्ष २७ को सतन पासवान, खनार ६ (हाल ईटहरी १३) बस्ने वर्ष ३९ को राजेश चौधरीर,करिस्मा सरदार र शुभलाल सरदार भन्ने सुवालाल सरदार पक्राउ परका थिए ।
यसैगरी, अवैध रुपमा कल वाइपास गराएर अन्तर्राष्ट्रिय कल गराउने व्यक्ति प्रहरीको फन्दामा परेको छ । विराटनगर उपमहानगरपालिका वडा नं. १ स्थित रितु अधिकारीको १ तल्ले घरबाट अवैध अन्तराष्ट्रिय कल बाईपास भई रहेको भन्ने सुराकीको आधारमा केन्द्रिय अनुसन्धान व्युराले निगरानी बढाएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरंगसमेतको टोलीले संयुक्त रुपमा उक्त घरमा प्रवेश गरी खानतलासी गर्दा नेपाल दुरसंचार कम्पनी लिमिटेड र एनसेल कम्पनिका सिमहरू प्रयोग गरी अवैधानिक तरिकाले गेटवे संचालन गरेको पाइएको एसपी सन्दीप भण्डारीले जानकारी दिनुभयो ।
कल वाईपास गरी रहेको अवस्थामा उक्त घर भाडा लिई बस्ने जिल्ला दोलखा भडेपु गाविस वडा नं. ३ बताउने बर्ष २३ को बाबुराम थोकर तामाङलाई उक्त कार्यमा प्रयोग हुने सामाग्रीहरू सहित पक्राउ गरी दुरसंचार ऐन २०५३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान भई भण्डारीले बताए । सो कार्यमा संलग्न एक जना फरार रहेको प्रहरीले जनाएको छ ।
तस्वीरहरु ः भोजराज घिमिरे
Post a Comment