दमक माघ २०,: मनाङ मर्स्याङ्दी क्लब झापाको बिर्तामोडमा जारी दोस्रो संस्करणको रमपम झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। डोमालाल राजवंशी रङ्गशालामा जारी प्रतियोगितामा बिहीबार मनाङले न्यूरोड टिम (एनआरटी) लाई ४–० ले पराजित गर्यो। ६ जना राष्ट्रिय खेलाडीसहित मैदान उत्रिएको मनाङले सुरुवातदेखि नै खेल आफ्नो पकडमा राखेको थियो। मनाङले खेलको २५ औँ मिनेटमा गोलको खाता खोलेको हो। विदेशी खेलाडी ओलावालेको पासमा निराजन मल्लले गोल गर्दै मनाङलाई १–० को अग्रता दिलाए। खेलको २७ औं मिनेटमा मनाङका लागि दोस्रो गोल सुशील लामाले गरे।
उनले ओलावालेकै पासमा गोल गर्दै अग्रता दोब्बर पारेका हुन्। ३४ औं मिनेटमा निराजन मल्लले व्यक्तिगत दोस्रो गोल गर्दै पहिलो हाफमा मनाङको अग्रता ३–० पारे। यस्तै खेलको ५९ औं मिनेटमा ओलावालेले गोल गर्दै ४–० को जीत सुनिश्चित गरे। आजको खेलको म्यान अफ द म्याच मनाङका खेलाडी रोहित चन्द घोषित भए। उनलाई म्याप्स हाउजिङ प्रालिका तर्फबाट अञ्जनी सङ्ग्रौलाले नगद ७ हजार रुपैयाँ प्रदान गरे।
त्यसैगरी बिर्तामोडस्थित एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसले लक्की ड्रमार्फत दर्शकमध्येका एक केशवकुमार आचार्यलाई एक्सपर्ट फ्यान अफ द डे घोषणा गर्दै नगद ५ हजार प्रदान गर्यो। प्रतियोगिता अन्तर्गत बिहीबार पहिलो सेमिफाइनलको खेल आयोजक टोली झापा–११ र हिमालयन शेर्पा क्लब काठमाडौंबीच हुने आयोजकले जनाएको छ।
Post a Comment