
गोरखा, १९ माघ - कर्तव्य ज्यान मुद्दामा करिब ८ वर्षदेखि गोरखा कारागारको थुनामा रहेका केराबारी गाविस–३ का नारायण ढकाललाई सर्वोच्च अदालतले निर्दोष साबित गरेको छ।
नखाएको विष पनि लाग्छ भन्ने नेपाली उखान उनको जीवनमा चरितार्थ हुन पुगेको छ। जिल्ला अदालत गोरखा र पुनरावेदन अदालत पोखराबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका ढकाललाई सोमबार सर्वोच्च अदालतले निर्दोष साबित गरेको हो।
सर्वोच्चका न्यायाधीश देवेन्द्रगोपाल श्रेष्ठ र गोपाल पराजुलीको संयुक्त इजलाशले जिल्ला र पुनरावेदनको फैसलालाई उल्टाउँदै ढकाललाई निर्दोष साबित गरेको हो। २०६६ असार ३ गतेदेखि हालसम्म गोरखा कारागारमा बन्दी रहेका ढकाल सर्वोच्चको फैसलापश्चात मङ्गलवार थुनामुक्त भएका गोरखा जिल्ला अदालतका श्रेस्तेदार गोविन्द घिमिरेले जानकारी दिए।
सर्वोच्चले जिल्ला अदालतमा इमेल गरेर ढकाललाई थुनामुक्त गर्न जिल्ला कारागारमा पत्राचार गर्न परिपत्र गरेको हो। सर्वोच्चको इजलासले पुनरावेदनको फैसलामा फौजदारी न्यायको सिद्धान्त र अदालतबाट प्रतिपादित कानुन सिद्धान्तहरू समेत प्रतिकुल हुनेगरी फैसला भएको देखिएको भन्दै ढकाललाई अभियोगबाट सफाई दिएको हो।
बिनाकसुर ढकालले ७ वर्ष ७ महिना जिल्ला कारागारमा जेल जीवन बिताउन बाध्य भएका हुन् । ढकालकै साथी केराबारी–५ कि मीरा रेग्मीको २०६६ साल वैशाख १४ गते गाउँकै भिरबाट लडेर मृत्यु भएपछि उनी जेल परेका थिए।
ढकालसँगको प्रेमसम्बन्धका कारण मिरा मर्न बाध्य पारेको भन्ने उनकी साथीले बयान दिएकी थिइन् । शङ्काकै भरमा मिराका बुवा तेजबहादुर रेग्मीले उनीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी गरेपछि वैशाख २१ गते ढकाल प्रहरी हिरासतमा आइपुगेका थिए।
जिल्ला अदालत गोरखाले २०६७ फागुन ३० गते सो मुद्दाको फैसला गर्दै ढकाललाई सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । तर आफू निर्दोष रहेको भन्दै पुनरावेदन अदालत पोखरा गएका उनलाई त्यहाँ पनि २०६८ साल चैत ३० गते दोषी नै रहेको ठहर गर्यो।
तर घटना हुँदा आफू काठमाडौँमा रहेको बताउँदै उनले मिरासँग आफ्नो साथीबाहेक कुनै पनि सम्बन्ध नरहेको बयान दिँदै आएका थिए। धैर्य गर्न सके न्याय पाउन सकिने रहेछ । १३ दिनअघि मात्रै फैसला भएको भए ९८ वर्षकी हजुरआमाको मुख देख्न पाउने थिएँ, ७ वर्ष ७ महिना कारागार र केही दिन प्रहरी हिरासतमा विताएका ढकालले मङ्गलवार थुनामुक्त भएपछि भने, - आज हजुरआमाको मृत्यु भएको १३ दिन भयो। अनुपमा खनालको बाईलाईनमा कारोबार दैनिकले खबर छापेको छ।
Post a Comment