विराटनगर पुस ५
पाथीभराको दर्शन गर्न अन्यत्र जानु नपर्ने सन्देश प्रवाह गराउँदै धार्मिक पर्यटन प्रवद्र्धनका लागि मोरङको पथरीशनिश्चरे १५ मा पाथीभरा मन्दिरमा सम्पन्न देवीभागवत नवाहा धनधान्याञ्चल महायज्ञमा नगद र जिन्सी गरी ११ लाख रकम बढीको दान प्राप्त भएको छ ।
महायज्ञबाट नगद ८ लाख ९३ हजार ६ सय १५ तथा जिन्सी करिब २ लाख गरी ११ लाख रुपैयाँ बराबरको दान प्राप्त भएको महायज्ञ आयोजक समिति संयोजक योगराज पौडेलले बताए । सो मन्दिरका लागि क्षेत्र सांसद विकास कोषबाट १ लाख ५० हजार रकम समेत प्राप्त भएको छ ।
पं।केवलकृष्ण अधिकारीको संगीतमय प्रमुख कथावाचनमा सञ्चालित महायज्ञमा सवैभन्दा बढी छत्रबहादुर बस्नेतले ६१ हजार ७ सय ७७ प्रदान गरेका छन् । त्यसैगरी महायज्ञ मुल आयोजक समिति संयोजक पौडेलले ५५ हजार ५ सय ५५, सुनचाँदी व्यवसायी संघ पथरीशनिश्चरेका अध्यक्ष माधव कोइरालाले ५१ हजार १ सय ५१, टंक न्यौपानेले ३० हजार ५ सय ५५, खड्गबहादुर बुढाथोकीले ११ हजार ७ सय ५, नवराज दहालले ११ हजार ५ सय ५५ सहित सयौंले गच्छे अनुसार दान गरेका छन् ।
स्थानीय समाजसेवी कर्ण गदालले यसअघि नै ५५ हजार मुल्यको देवीको ढुंगाको प्रतिमा दान गरेका थिए । स्थानीय नरबहादुर लोहार र नरमाया लोहारले २७ हजार मुल्य बराबरको साढे १२ केजीको धातुको गणेशको मूर्ति प्रदान गरेका छन् । अमर बराइलीले गजुर, गंगा सावा र लक्ष्मी गुरुङले एक एक वटा ठूला घण्टी समेत प्रदान गरेका छन् ।
पाथीभरा देवीको एउटा पाउका रुपमा त्यस क्षेत्रलाई मानेर ०७१ सालमा शीला पूजा गर्न थालिएपछि यसको प्रचार प्रसार बढ्दै गरेकाले मन्दिर निर्माणको काम अगाडि बढाइएको थियो । मन्दिर निर्माणका लागि स्थानीय हरिमाया सुवेदीले ३ लाख मुल्य पर्ने १ कठ्ठा जग्गा दान गरेपछि त्यहाँ मन्दिर निर्माण भएको हो ।
Post a Comment