सरिता लामिछाने अभिनेत्री
अभिनेत्री सरिता लामिछाने विगत दुई दशकदेखि कलाकारितामा निरन्तर छिन् । वरिष्ठ निर्देशक तुलसी घिमिरेको चर्चित टेलिशृंखला ‘मुक्ति’ मा अभिनय गरेर एकाएक चर्चामा आएकी सरिताले त्यसपछि ‘गहना’, ‘जानकी’, ‘दुई दिनको जिन्दगानी’, ‘चाहना मनको’, ‘परिचय’लगायत थुप्रै टेलिशृंखलामा अभिनय गरिन् । हत्तपत्त फिल्ममा अभिनय गर्न नचाहने स्वभावकी सरिताले ‘सन्तानको माया’, ‘श्रीमान्–श्रीमती’, ‘हवल्दार सुन्तली’, ‘फिंगरप्रिन्ट’ र ‘सीता’ नामका फिल्ममा अभिनय गरेकी छिन् । आफूलाई रोल चित्त नबुझेसम्म ‘साइन’ नै नगर्ने सरिता चलचित्र कलाकार संघकी महासचिव पनि हुन् । ‘मुक्तिकी सरिता’ भनेर चर्चित भएकी उनले थुप्रै फिल्म ‘रिजेक्ट’ गरेकी थिइन् । सरिताले आफ्नो कलाकारिता यात्राबारे गरिएको कुराकानी :
ऋषिजीको अनुरोधमा मुक्ति
कलाकारितालाई नै करिअर बनाउँला भन्ने मैले कहिल्यै पनि सोचेकी थिइनँ । अभिनय गरेर चर्चित हुँला भन्ने कल्पना पनि थिएन । त्यतिवेला ऋषिजी (ऋषि लामिछाने) निर्देशक तुलसी घिमिरेका फिल्ममा मुख्य सहायक निर्देशक भई काम गर्नुहुन्थ्यो ।
बच्चैदेखि हेर्दै आएकीले मलाई तुलसी दाइका फिल्म निकै मन पर्थे । यो ०५५ सालको कुरा हो, त्यतिवेला हाम्रो बिहे भएको लगभग एक वर्ष भएको थियो । तुलसी दाइ ‘मुक्ति’ सिरियल बनाउने योजनामा हुनुहुँदो रहेछ । त्यसमा ‘सरिता’ नामक मुख्य पात्र रहिछ । सरिताको भूमिका निर्वाह गर्नका लागि थुप्रै अभिनेत्री हेरिएको रहेछ । तर, कोही फाइनल भएका रहेनछन् ।
ऋषिजीले मलाई तिमी एकचोटि ‘ट्राइ’ गर न भन्नुभयो । मलाई अभिनय गर्ने रुचि थिएन । तर, धेरैपटक ऋषिजीले भनेपछि म तुलसी दाइलाई भेट्न गएँ । बच्चैदेखि उहाँका फिल्म हेर्दै आएकी र आफ्ना पति पनि उहाँसँग काम गर्ने भएकाले भेट्न जान कुनै अप्ठ्यारो लागेन । उहाँलाई भेटेँ ।
पछि, थाहा भयो, मलाई उहाँले मुक्तिकी सरिताका रूपमा छनोट गर्नुभएछ । मलाई गरूँ कि नगरूँ भन्ने भयो । तर, ऋषिजीले निकै हौसला दिनुभयो । मुक्तिमा अभिनय गरेँ ।
हिट भयो मुक्ति
अभिनयमै करिअर बनाउने सोचेकी, सपना बुनेकी भए पो मौका पाउँदा ओभर एक्साइडेट भइन्थ्यो । त्यसकारण म धेरै खुसी भइनँ । सामान्य नै लाग्यो । तर, जब सिरियल प्रसारण हुन सुरु भयो, चारैतिरबाट मेरो कामको तारिफ हुन थाल्यो । मेरो कामको तारिफ हरेक हप्ता दोब्बर हुँदै भयो । त्यतिवेला भने मलाई निकै खुसी लाग्यो । नसोचेको सफलता हासिल भएकोमा मै हुँ त त्यो सरिता भन्ने लागेको थियो । नारीको विषयमा बनेको २० भागको सशक्त सिरियल थियो मुक्ति । जहाँ जाँदा पनि सबैले मुक्ति र मेरो तारिफ गरेको पाएँ । मुक्ति बन्द भएपछि पनि मान्छेहरूले मलाई टिभीमा हेर्न चाहिरहे । तर, मलाई त्यति धेरै मोह थिएन ।
१८ फिल्म रिजेक्ट गरें
मुक्तिको सफलतापछि मलाई टेलिसिरियल तथा फिल्मबाट अफर आइरहन्थ्यो । तर, मलाई काम गरिहालूँ भन्ने लागेन । त्यसैले कसैलाई के, कसैलाई के भन्दै पन्छिँदै बसेँ । मलाई मुक्तिपछि १८ वटा फिल्मबाट अफर आएको थियो । तर, मैले स्वीकार गरिनँ ।
किशोर राना दाइले ‘सन्तानको माया’ फिल्ममा अफर गर्नुभयो । ऋषिजीले यो फिल्मचाहिं तिमीले गर्नैपर्छ भन्नुभयो । त्यसमा आफ्नो भूमिका निकै राम्रो लागेकाले पनि मैले ‘ओके’ गरेँ । त्यतिवेला म च्यानल नेपालमा प्रोग्राम चलाउथे“ । मिडियाकर्मी भएकाले पनि म चलचित्रकर्मीसँग दिनहुँ ठोक्किइरहन्थेँ । जसले गर्दा किशोर दाइको त्यो फिल्म अस्विकार गर्न सकिनँ ।
सिरियलका अफरै अफर
मलाई फिल्म, सिरियलमा अभिनय गर्नुभन्दा बढी मिडियाकै काममा बढी आन्नद लाग्थ्यो । तर, जताततै मेरै अभिनयको तारिफ हुने र अफर आउने गरे । दर्शकले पनि तपार्इंलाई फेरि सिरियलमा कहिले देख्न पाइन्छ ? भनेर सोध्ने गर्नुहुन्थ्यो । निर्देशक श्याम भट्टराईजीले ऋषिजीसँग मलाई आफ्नो ‘गहना’ टेलिसिरियलमा अभिनयका लागि प्रस्ताव गर्नुभएछ । ऋषिजीले मलाई सुनाउनुभयो । मैले ‘अहिले गर्दिनँ’ भनेँ ।
तर, पछि उहाँ आफैँले एग्रिमेन्ट गरेर पारिश्रमिक ल्याउनुभयो अनि भन्नुभयो, ‘श्याम मेरा साथी हुन्, मैले हुन्न भन्न सकिनँ, जसरी पनि योचाहिँ खेलिदेऊ’ । एक सय भाग लामो गहना पनि निकै हिट भएको थियो । गहनालगत्तै मलाई फेरि श्यामजीको ‘जानकी’ सिरियलको अफर आयो । टिम एकदमै राम्रो थियो, मैले त्यो सिरियलमा पनि अभिनय गरेँ । जानकी ५२ भाग प्रसारण भयो । त्यससँगै मैले कान्तिपुर टेलिभिजनको ‘चाहना मनको’, नेपाल टेलिभिजनमा आउने ‘दुई दिनको जिन्दगानी’लगायतका थुप्रै सिरियलमा अभिनय गरेँ ।
दोस्रो रोलमा आँखा लागेन
मैले जति पनि सिरियल खेलेँ, ती सबैमा प्रमुख भूमिका निर्वाह गरेँ । पहिलोपटक नै मुक्तिमा मुख्य भूमिका निर्वाह गरेकाले होला, मलाई कहिल्यै दोस्रो भूमिकामा आँखा लागेन । कसैले दोस्रो भूमिकाका लागि कुरा पनि गरेनन् । म निकै चुजी भएर गएँ । योजना विना नै कलाकारिता सुरु गरे पनि कालान्तरमा कलाकारिता मेरो मूल पेसा भयो । आज १९ वर्ष भयो, म यही लाइनबाट बा“चेकी छु । हुन त मैले टिभीमा कार्यक्रम पनि चलाएँ । रिपोर्टिङ पनि गरेँ । चलचित्र पत्रकार संघका तर्फबाट नेपाल पत्रकार महासंघको पार्षदका रूपमा प्रतिनिधित्व पनि गरेँ । अहिले पनि पत्रकारिता जारी नै छ । तर, कलाकारितामै मलाई फलिफाप भएको महसुस गरेकी छु ।
म भाग्यमानी
कलाकार बन्नका लागि, आफ्नो प्रतिभा देखाउनका लागि मान्छेहरू कति संघर्ष गर्छन् । तर, मैले सजिलै तुलसी घिमिरे, किशोर रानाजस्ता वरिष्ठ निर्देशकसँग काम गर्न पाएँ । सुरुमै मुख्य भूमिकाबाट पवबेश गरेँ ।
पहिलो कामले नै मलाई कलाकारका रूपमा परिचित गरायो । त्यसकारण म आफूलाई निकै भाग्यमानी ठान्छु । मेरो धेरै सिरियल हिट भएकाले कतिपयले मलाई ‘सिरियल किन’ पनि भन्ने गरेका छन् । यो उपमा सुन्दा खुसी लाग्छ । जिम्मेवारी बढेको महसुस हुन्छ । त्यसैले पनि मैले चलचित्र कलाकार संघको महासचिवको पदमा आफूलाई कायम गरेकी हुँ । सबै कलाकारको हकहितको रक्षार्थ लड्नका लागि म संघको जिम्मेवारपूर्ण पदमा छु ।
परिचयले बनाएको परिचय
म सिरियलमै व्यस्त भइरहेकी थिएँ । मिडिया हबका सोम धिताल दाइले ‘कति अरूको सिरियलमा मात्रै काम गर्नुहुन्छ ? तपार्इं जुनमा खेल्यो, त्यही हिट हुन्छ, त्यसैले अब आफैँ सिरियल बनाउनुस्, म सहयोग गर्छु,’ भन्नुभयो । ऋषिजीलाई पनि यो कुरा ठीक लागेछ । त्यसपछि हामीले ‘परिचय’ टेलिसिरियल सुरु गर्याैँ ।
परिचय निकै चर्चित भयो । पारिवारिक टेलिशृंखलामा परिचयको रेकर्ड अहिलेसम्म अरू कुनै सिरियलले तोड्न सकेका छैनन् । देशमा मात्र नभई विदेशमा पनि परिचय हिट भएको थियो । १ सय ४१ भागसम्म प्रसारण भएको परिचयले हामी दुई (पति ऋषि र म)को परिचय नै फेरिदियो । मैले तीन दर्जन बढी टेलिविज्ञापनमा अभिनय गरेँ । केही प्रोडक्टको ब्रान्ड एमबेस्डर पनि बनेँ । कामको कहिल्यै कमी नै भएन।
अब हामी पुनः परिचय जस्तै, अझै त्योभन्दा पनि राम्रो टेलिशृंखला दर्शकमाझ ल्याउने तयारीमा छाँै । यसका लागि अहिले ‘होमओर्क’ चलिरहेको छ ।
चित्त बुझे मात्रै सम्झौता
परिचयपछि पनि मलाई थुप्रै फिल्मबाट अफर आए । तर, मैले गरिनँ । तर, निर्माता मुनाल घिमिरेजीले ऋषिजीको निर्देशनमा बन्ने ‘श्रीमान्–श्रीमती’ फिल्ममा निकै महत्वपूर्ण भूमिकामा अफर गर्नुभयो । उहाँले त्यो भूमिका मबाहेक अरूले निर्वाह गर्न नसक्ने ठोकुवा पनि गर्नुभयो ।
ऋषिजीले पनि अनुरोध गर्नुभयो । मलाई भूमिका निकै मन परेकाले त्यसमा अभिनय गरेँ । श्रीकृष्ण श्रेष्ठ दाइसँग त्यो फिल्ममा अभिनय गर्दाका पल निकै स्मरणीय छन् । त्यसपछि पनि फिल्मका अफर आइरहे । नवीन निरौलाको ‘फिंगरप्रिन्ट’मा विशेष भूमिका निर्वाह गरेँ । त्यसैगरी ‘सीता’ फिल्ममा अभिनय गरेँ । ऋषिजीले निर्देशन गरेको ‘हवल्दार सुन्तली’ फिल्ममा पनि मैले विशेष भूमिका निर्वाह गरँे । त्यो पनि निर्माता छविराज ओझाको अफरमा काम गरेकी थिएँ ।
अब निर्देशक बन्दै छु
हामी अब होम प्रोडक्सनमा फिल्म निर्माण गर्दै छाैँ । त्यो फिल्म ऋषिजीले नै निर्देशन गर्नुहुनेछ । मेरो लक्ष्य पनि कालान्तरमा निर्देशक बन्नु हो । तर, म अहिले नै दुईटा फिल्मको निर्देशकमा अनुबन्धित भइसकेकी छु । छविराज ओझा र प्रदीपकुमार उदय दाइले मलाई आफ्ना नयाँ फिल्ममा निर्देशनको जिम्मा दिनुभएको छ । तर, मैले समय मिलाउनै सकिरहेको छैन । म संख्या बढाउन मात्र फिल्म निर्देशन गर्न चाहन्नँ । आफूलाई पूर्ण रूपले तयार पारेपछि मात्रै मैदानमा उत्रिनेछु ।
Post a Comment