
विराटनगर, मंसिर २९ गते । सुनसरीको बकलौरी–१ का ४८ वर्षीय कृष्णकुमार गौतमको मृत्यु आफ्नै छोराको हातबाट भएको आशंकामा प्रहरीले गौतम परिवारका सबै सदस्यलाई पक्राउ गरेको छ ।
सोमबार साँझ गाँजा खाएका दाजुभाइबीच भएको झगडा छुट्याउँदा कान्छा छोरा १८ वर्षीय सन्देश गौतमले २४ वर्षीय दाजु सुवास गौतमलाई प्रहार गरेको खुकुरी बाबु कृष्णकुमारको टाउकोमा बज्रन पुगेको थियो । टाउकामा धारिलो खुकुरीको प्रहार भएबाट घटनास्थलमै ढलेका बाबु गौतमको उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याउँदा मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।
गाउँघर छरछिमेकमा रुखबाट लडेको र घरमा नै लडेको भनेर गरिएको हल्ला झुटो भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । अनुसन्धानपछि दुबै छोरा र श्रीमती कल्पना गौतमलाईसमेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पकलीले जानकारी दिएको छ । मृतक कृष्णकुमारको बुधबार दाहसंस्कार गरिएको छ । दुबै छोरा र श्रीमती कल्पनालाईसमेत अनुसन्धान तथा सोधपुछका लागि इलाका प्रहरी कार्यालय पकलीले नियन्त्रणमा लिएको छ ।
Post a Comment