
विराटनगर, मंसिर ९ गते । तराई मधेश लोकतान्त्रिक पार्टीले देशव्यापी रुपमा सदस्यता विस्तारको अभियानलाई तीब्र बनाएको छ । यस क्रममा मोरङ जिल्लामा पनि सदस्यता विस्तारलाई अभियानका रुपमा गाउँगाउँमा लगिएको पार्टीका मोरङ जिल्ला अध्यक्ष मोहमद कादिरले बताउनु भएको छ ।

उहाँले केन्द्रको निर्णयअनुसार गाउँ–गाउँमा गएर जनताको पीरमर्का बुझ्ने र पुरानो सदस्यता नवीकरण गर्ने तथा नयाँ सदस्यता वितरण गरेको बताउनु भएको छ । मंसिर १ गतेदेखि पुष १५ गतेसम्म देशव्यापी रुपमा सञ्चालन गरिएको कार्यक्रममा हालसम्म मोरङमा विभिन्न पार्टी परित्याग गरी एक हजार भन्दा बढीले नयाँ सदस्यता लिएको अध्यक्ष कादिरले बताउनुभयो ।

उहाँले संविधानका विषयमा पार्टीले उठाएका मागका बारेमा समेत सर्वसाधारणलाई जानकारी गराउँदै आएको बताउनु भएको छ । संशोधन प्रस्ताव दर्ता नभएमा पार्टीको निर्देशन बमोजिम कडा आन्दोलनका लागि कार्यकर्तालाई तयारी अवस्थामा राखिएको समेत जानकारी दिनुभएको छ ।
Post a Comment