
काठमाडौं, १२ मंसिर । संविधान संशोधन र अन्य विभिन्न सांगठनिक विषयमा छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठक बस्दैछ । सिंहदरबारमा बिहान ११ बजेपछि बस्ने बैठकमा सरकारमा पार्टी भूमिका, प्रभावकारिता, सदनमा कसरी अगाडि बढ्ने लगायतका विषयमा छलफल हुने राप्रपाका केन्द्रीय सदस्य किरण गिरीले जानकारी दिनुभयो । बैठकमा केही पदाधिकारी नियुक्ति र मनोनयनका विषयमा पनि निर्णय हुनेछ । ‘राप्रपा र राप्रपा नेपालवीच पार्टी एकीकरण भएपछि पहिलो पटक संयुक्त रुपमा दुबै दलका सांसदहरूको संयुक्त बैठक बस्न लागेको छ । एकीकरण भइसकेपछि अब सदनमा कसरी आफ्नो भूमिकालाई प्रभावकारी बनाउने भन्ने विषयमा निर्णय हुनेछ’, उहाँले भन्नुभयो । स्रोतका अनुसार राप्रपाले वर्तमान सरकारमा थप मन्त्रीहरू पठाउने कि नपठाउने भन्ने विषयमा पनि छलफल गर्नेछ । राप्रपाका अध्यक्ष कमल थापालाई उपप्रधानसहितको एक मन्त्रालयको जिम्मेवारी लिने गरी प्रधानमन्त्रीले प्रस्ताव गरेको समाचार बाहिरिए लगत्तै संसदीय दलको बैठक बस्न लागेको छ । संविधान संशोधनका राप्रपाले सहयोग गरेमा सरकारलाई सदनमा दुईतिहाइ संख्या पुग्छ । तर राप्रपाले लचकताका साथ सहयोग गर्ने जनाए पनि संशोधनका विषयमा स्पष्ट निर्णय गरिसकेको छैन ।
Post a Comment