विराटनगर, असोज १६ गते । यस वर्षको बडा दशैं सुरु भएको छ । नवरात्रको अन्तर्गत दोस्रो दिन आज देवी भगवतीको दर्शन र आराधनाका लागि देशभरका शक्तिपीठहरुमा विहानैदेखि भक्तजनको घुईचो लागेको छ । दोस्रो दिन ब्रह्मचारिणी देवीको आराधना गरिन्छ ।
यसअघि हिजो घरघरमा देवी दुर्गाको प्रतीमा स्थापना गरी घटस्थापना गरियो । काठमाडौंको हनुमानढोकास्थित दशैं घरमा पनि घटस्थापना गरिएको छ । घर–घरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरेसँगै नौं दिनसम्म दशैं घरमा शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा गरिन्छ ।
घटस्थापनाका दिन राखिएको जमरा दुर्गालाई चढाएर विजयादशमीको दिन टीका प्रसादसँगै लगाउने गरिन्छ । देवी दुर्गाका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ ।
विराटनगरको प्रसिद्ध शक्ति पिठ कालि मन्दिरमा बिहान ४ बजेदेखि नै श्रद्धालुहरुको घुइँचो लाग्न थालेको छ ।
विराटनगरमा दशैंको अवसरमा विभिन्न स्थानमा दुर्गा पूजाको अनुष्ठान गरिदै आइएको छ । विराटनगर ९ स्थित रंगेलीरोडमा श्री दुर्गा काली पूजा समितिले पनि घटस्थापनाको अनुष्ठान आयोजना गरेको छ । विगत ६४ वर्षदेखि आयोजना हुँदै आएको दुर्गा पूजा अनुष्ठानको सबैभन्दा लामो इतिहास बोकेको रंगेलीरोडमा आयोजना हुने पूजा अनुष्ठानमा एक लाखभन्दा बढी श्रद्धालुको सहभागिता रहने समितिका संयोजक युवराज धाडेवाले बताउनु भयो ।
Post a Comment