
कोशी अञ्चल अस्पताल पूर्वका सबै जिल्लाका बिरामीका लागि भरोसाको केन्द्र हो । त्यसैले प्रतिदिन १ हजारसम्म बिरामी सेवा लिन आइपुग्छन् । तर एकपल्ट आएका सेवाग्राही सकेसम्म फर्कदैंनन् । किनभने अस्पतालमा रहेको बेथितिको बाढीले जनविश्वास बगाइसकेको छ । डाक्टर अस्पतालमा सेवा दिन होइन, आफ्नो क्लिनिकतिर बिरामी तान्ने जाल थाप्न मात्रै पुग्छन् । न समयमा पुग्छन्, न निर्धारित समयसम्म बस्छन् । अस्पताल वरिपरिका निजी क्लिनिक भने चम्केका छन् । अञ्चल अस्पतालमा प्रशस्त जनशक्ति र उपकरण भएपनि सेवा भने सन्तोषजनक छैन । अनिल न्यौपानेको विशेष रिपोर्टः
१२ बजे ओपिडी बन्द

श्यामलाल ठाकुर श्रीमती इनालाई जचाउँन आइतबार (जेठ ३० गते) बिहान ८ बजे कोशी अस्पताल पुगे । डा. सुनिलचन्द्र अधिकारीलाई जँचाउन लिएको टिकटअनुसार पालो पाँचौं नम्बरमा प¥यो । ओपिडी १० बजे खुल्यो । डाक्टरले भिडियो एक्स–रे गराउन सिफारिस गर्लान् भन्ने आशंकाले इनाले बिहानदेखि केही खाएकी थिइनन् । यसअघिको जाँचमा पत्थरी भएको जानकारी पाइसकेकी हुनाले उनी केही नखाइ बसेकी थिइन् । डा. अधिकारीले इनालाई भिडियो एक्स–रे गर्न सिफारिस गरे पनि ।
साढे १० बजे भिडियो एक्स–रेको लाइन बसेकी इनाको सवा १२ बजे रिपोर्ट आयो । रिपोर्ट लिएर डाक्टर अधिकारीलाई भेट्न आउँदा कोठा खाली देखिन् । ओपिडीका सहयोगीले डाक्टर क्लिनिकमा गइसकेको जानकारी गराए । इनाले यसअघि पनि अस्पतालमा डाक्टर नभेटेपछि क्लिनिकमा चार सय रुपैयाँको टिकट काटेर कोशीमै गरेको परीक्षण रिपोर्ट डा. अधिकारीलाई देखाएकी थिइन् । आइतबार पनि उनले यसै गरिन् । डा. अधिकारी अस्पताल वरिपरिको क्लिनिक र सप्तकोशी अस्पतालमा पनि काम गर्छन् ।
भिडियो एक्स–रे रिपोर्ट देखाउन पुनः अर्को दिन धरानदेखि आउनुभन्दा चारसय खर्च गरेर निजी क्लिनिकमा देखाउने निष्कर्षमा आफू पुगेको उनले बताइन् । धरानस्थित सैनिक विद्यालयमा हजामको काम गर्ने श्यामलाल दुई छोराका साथै श्रीमती लिएर अस्पताल पुगेका थिए । डाक्टर खोज्ने चक्करमा दिन बित्दा उनको परिवार दिनभरी भोकै प¥योे ।
धरानमै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ । तर, आफ्नै जिल्लाको सरकारी अस्पताल राम्रो ठानेर यता आउने गरेका थिए उनीहरू । अस्पतालप्रतिको उनको विश्वास डाक्टरको उक्त व्यवहारले सदाका लागि समाप्त भएको छ । ‘पूर्वाञ्चलकै राम्रो अस्पताल हो भन्ने लाग्थ्यो हजुर । त्यसैले धरान छाडेर आएँ,’ मोतिपुरका ठाकुरले भने, ‘तर, हामीले सोचेजस्तो रहेनछ । डाक्टरको लापरबाही रहेछ । सरकारी काम त १० बजेदेखि ५ बजेसम्म हुनुपर्ने हो । यहाँ त १२ बजे बन्द हुँदो रहेछ ।’


अञ्चल अस्पतालमा आएका बिरामीलाई यसरी चारो छर्केर क्लिनिकको पासोमा थाप्न सक्रिय डा. अधिकारी एक्लो होइनन् । यो व्यक्ति विशेषको धन्दाभन्दा पनि उक्त अस्पतालका डाक्टरको प्रवृत्तिका रुपमा स्थापित भइसकेको छ ।
यसैगरी कानको समस्या आएपछि मोरङ सिजुवाबाट उपचार गराउन आएकी रीता बागदास आठ बजेदेखि लाइन बसेर टिकट लिइन् । पालो ७ नम्बरमा प¥यो । ओपिडीमा देखाइन् । डाक्टरले एक्स–रे गर्न पठाए । उनी एक्स–रे गरेर १२ः३० बजे आउँदा ओपिडीमा डाक्टर भेटिनन् । अस्पताल वरपर चहारिन् । ‘अस्पतालका सहयोगीलाई सोधें । डाक्टर ओपिडी बन्द गरेर गइसकेको जानकारी पाएँ,’ उनी भन्छिन्, ‘हामी कति टाढाबाट आएका हुन्छांैं । रिपोर्ट देखाउन फेरि अर्को दिन टिकट काटेर लाइन बस्नुपर्ने भयो । गाउँदेखि आउँदा फेरि उत्ति खर्च हुन्छ ।’ उनले आफूलाई एक्स–रे गर्न लगाउने डाक्टरको क्लिनिक थाहा नपाएपछि आक्रोशित हुँदै बाहिरिइन् । ‘अबदेखि त यहाँ आउँदिनँ,’ उनी फर्किनुअघि भन्दै थिइन् ।
ठाकुर र बागदास जस्तै मोरङ थलहाकी पुनम देवी सोही दिन जाँच गराउन आएपनि डाक्टर १२ बजे नै निस्केपछि रिपोर्ट देखाउन पाइनन् । पूर्वाञ्चलको सुविधासम्पन्न अस्पतालका चिकित्सकले आफ्नो जिम्मेवारी बिर्सेर मध्यान्ह १२ बजे नै अस्पतालबाट निस्केपछि दैनिक सात सयदेखि एक हजारसम्म बिरामीले यस्तै सास्ती बेहोर्छन् ।
१० बजेदेखि २ बजेसम्म क्लिनिकमा बस्नुपर्ने नियम अस्पतालले बनाएको छ । तर त्यसलाई लत्याउदै डाक्टरहरू १२ बजे नै बाहिरिन्छन् । ‘डाक्टरहरू १० बजेदेखि दुई बजेसम्म बस्नैपर्ने नियम बनाएका छौं,’ मेडिकल सुपरिटेन्डेण्ट(मेसु) डा. रोशन पोखरेल भन्दै थिए, ‘२५ प्रतिशत डाक्टरलाई रोक्नै सकिएन । १२ बजे बाहिरिने अनि दुई बजे हाजिर गर्न आउने गरेका छन् ।’
ओपिडीमा नभेटिएपछि बिरामीहरू डाक्टरको खोजी गर्दै प्रशासनमा पनि जान्छन् । कति निराश भएर फर्किन्छन्, कतिले बाटोमै भएपनि डाक्टरलाई रिपोर्ट देखाउँछन् । जेठ ३० गते दिउँसो एक बजे मेडिकल अधिकृत डा. पवन पराजुली अस्पतालबाट बाहिरिनै लाग्दा गेटमै बिरामीको रिपोर्ट हेरिरहेका थिए । निर्धारित समयसम्म ओपिडीमा नबसी आफ्नो क्लिनिकमा जान लागेका डा. पराजुलीलाई बिरामीले हत्ते हालेपछि बाटोमै रिपोर्ट हेरेका थिए । उनले बाटोमै बिरामीको रिपोर्ट हेर्दै गरेको तस्बिर स्वास्थ्य खबरका प्रतिनिधिले खिच्दा आक्रोशित भए, ‘म जहाँ जाउँ के मतलब ? मेरो डिउटीको बारेमा चासो राख्ने तपाई को हो ?’ उनी ट्रमा जेनरल अस्पताल अगाडिको क्लिनिक, सप्तकोशीमा पनि काम गर्छन् । मिडियाले आफ्नो फोटो खिचेको भन्दै अस्पतालका मेसु डा. पोखरेलसँग गुनासो गरे । मेसु डा. पोखरेलले संरक्षण दिँदै भने, ‘मिडियाले फोटो खिच्दैमा केही हँुदैन । जागिर जाने भए मेरो उहिल्यै गइसक्थ्यो ।’
अस्पतालले निर्धारण गरेको समयसम्म बिरामीको सेवा नगर्दा रिपोर्ट देखाउनकै लागि पुनः अर्को दिन आउन बाध्य पारिन्छ । अनि बिरामी अर्को दिन कुर्नुभन्दा डाक्टरको क्लिनिकमा चारदेखि पाँच सयसम्म टिकटको दस्तुर तिरेर रिपोर्ट देखाउँछन् । सस्तोमा सेवा पाउने आशामा अञ्चल अस्पताल आएकाहरू यसरी डाक्टरले थापेको क्लिनिकको ठगी पासोमा पर्छन् ।

बिहानदेखि रातीसम्म आफ्नै क्लिनिकमा व्यस्त हुने भएपछि वार्डमा समयमा राउण्ड पनि नहुने नर्सहरू बताउँछन् । ‘जुन बेला फुर्सद हुन्छ । त्यही बेला आउँछन्,’ एक नर्सले भनिन्, ‘बिरामीको केयर नै हुँदैन । एकदमै लापरबाही छ ।’
अस्पतालमा भेटिएका बिरामी ललन मण्डल कान दुख्ने समस्या लिएर आएका रहेछन् । उनले डा. राइस पोखरेललाई देखाउन खोजेका रहेछन् । ‘डाक्टरले राम्रो उपचार लिने हो भने क्लिनिकमा आउनु भनेका छन्,’ उनले भने । डा. पोखरेलको क्लिनिक अञ्चल अस्पतालको गेटअगाडि छ ।
७८ जना डाक्टर रहेको अस्पतालमा ५५ जना स्थायी छन् । एनेस्थेसिया बाहेकमा अस्पताललाई पुग्दो जनशक्ति रहेको मेसु पोखरेल नै बताउँछन् । तर सर्वधारणले सेवा भने पाइरहेका छैनन् । दिनमा दुई घण्टा मात्रै ओपिडी गरेर डाक्टर बाहिरिने प्रवृत्तिले अञ्चल अस्पतालकोे सेवा नाम मात्रको छ ।
माथिको निर्देशन, टेर न पुच्छर


जनताको करमा सरकारी सेवा सुुविधा खाने डाक्टरले सेवा भने निजी क्लिनिकतिर दिन थालेपछि पूर्वाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालयले पत्र नै काटेर त्यसो नगर्न निर्देशन दिएको छ । निर्देशनालयले गत बैशाख २४ मा अञ्चल अस्पतालहरूलाई पत्र काटेर दैनिक पाँच घण्टा ओपिडी सेवा दिन निर्देशन दिएको थियो । उक्त पत्र अनुसार अस्पतालहरूले डाक्टरलाई दैनिक पाँच घण्टा ओपिडी र दुई घण्टा राउण्डमा खटाउन भनिएको छ । तर कार्यान्वयन भने भएको पाइदैन । यस्तो निर्देशन स्वास्थ्य मन्त्रालयले पटक–पटक जारी गरेपनि अस्पतालले पालना गरेका छैनन् ।
त्यसपछि सरकारले निर्धारण गरेको समयावधिसम्म स्वास्थ्य सेवा प्रदान गराउन क्षेत्रले अञ्चल अस्पताललाई निर्देशन दिएको हो । ‘निर्धारित समयअनुसार स्वास्थ्य सेवा प्रवाह नगर्ने, नगराउने अस्पतालमा कार्यरत कर्मचारीहरूको नियमित अनुगमन गरी सेवा प्रवाह नगरेको पाइएमा नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ तथा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ बमोजिम कारबाही गर्नु गराउनु हुन अनुरोध छ,’ क्षेत्रीय स्वास्थ्य निर्देशनालयले लेखेको पत्रमा भनिएको छ । तर, कारबाही गर्नु परको कुरा, अस्पताल प्रशासनले यसलाई गम्भीर रुपमा लिएको समेत पाइदैन ।
नर्सको भरमा आइसियू
अस्पतालको सघन कक्ष (आइसियू) मा एकजना डाक्टर अनिवार्य हुनुपर्छ । तर कोशी अञ्चल अस्पतालको आईसियु नर्सको भरमा चलेको छ । दैनिक एकपटक राउण्डमा बाहेक अरु बेला डाक्टर नआउने बिरामीका आफन्तको गुनासो छ । अस्पतालका मेसु पोखरेलले आवश्यक परेका बेला डाक्टरलाई बोलाउने गरेको बताए । आफ्नी आमालाई जेठ २९ गतेदेखि आइसियूमा राखे पनि जेठ ३० गते मध्याह्नसम्म नआएको गुनासो एक बिरामीका आफन्त गोपाल पाण्डेले गरे । ‘निजीमा उपचार गर्ने पैसा छैन । सरकारीमा आउँदा डाक्टर आउँदैनन्,’ उनले भने । आईसियूमा एउटा भेन्टिलेटर जडान भएपनि सञ्चालनमा छैन । ‘जनशक्ति नभएकाले सञ्चालन नगरेको हो,’ डा. पोखरेलले भने ।
नाम अस्पतालको, व्यापार आफ्नो


सरकारी तलब भत्ता लिने डाक्टरहरूले आफनो स्वार्थ पूरा गर्न सरकारी अस्पतालको नाम पनि बेच्ने गरेको पाइएको छ ।
कोशी अञ्चल अस्पतालको दुई सय मिटर आसपासमा डाक्टरहरूकै लगानीमा ५० भन्दा बढी क्लिनिक सञ्चालनमा छन् । बाहिर फार्मेसी र भित्र क्लिनिकहरू देखिन्छन् । कतिपय फार्मेसी दर्तासमेत भएका छैनन् । यस्ता फार्मेसीमा त्यहाँ कार्यरत डाक्टरहरूले कोशी अञ्चल अस्पताल र आफ्नो नाम अगाडि वरिष्ठ जोडेर साइनबोर्ड राखेका छन् । कतिपय फार्मेसीको नाम समेत राखिएको छैन । डाक्टरको नाम मात्रै छ । अस्पतालमा जान चाहने बिरामीलाई पनि क्लिनिकमा तान्न अस्पतालको नाम बेच्ने गरेको पाइएको हो ।
अस्पतालमा कार्यरत सबैजसो डाक्टरको नाम वरिपरीका फार्मेसी, निजी अस्पतालमा झुण्ड्याइएका छन् । अस्पतालमा १० बजेदेखि ओपिडी सुरु गर्नुपर्ने भएपनि आफ्नै निजी क्लिनिकमा आउने बिरामी जाँचेपछि मात्रै जान्छन् । बिहान सात बजेदेखि टिकट लिएर डाक्टरको पर्खाइमा रहेका बिरामी र आफन्त डाक्टरको लापरबाहीबाट दिक्क भएका छन् । ‘डाक्टरहरू सेवामा भन्दा पनि व्यापारमा व्यस्त हुन्छन् । कताबाट कमिसन आउँछ भन्ने मात्रै ध्याउन्न छ,’ छोरीको हात भाँचिएपछि सुनसरीको कुसाहदेखि उपचार गराउन आएका रामेश्वर साहुले भने, ‘ढिलासुस्ती असाध्यै बेलैमा डाक्टर नआउने रोग पनि रहेछ ।’
कोशी अञ्चल अस्पतालको दुई सय मिटर आसपासमा डाक्टरहरूकै लगानीमा ५० भन्दा बढी क्लिनिक सञ्चालनमा छन् । बाहिर फार्मेसी र भित्र क्लिनिकहरू देखिन्छन् । कतिपय फार्मेसी दर्तासमेत भएका छैनन् । यस्ता फार्मेसीमा त्यहाँ कार्यरत डाक्टरहरूले कोशी अञ्चल अस्पताल र आफ्नो नाम अगाडि वरिष्ठ जोडेर साइनबोर्ड राखेका छन् । कतिपय फार्मेसीको नाम समेत राखिएको छैन । डाक्टरको नाम मात्रै छ । अस्पतालमा जान चाहने बिरामीलाई पनि क्लिनिकमा तान्न अस्पतालको नाम बेच्ने गरेको पाइएको हो ।
अस्पतालमा कार्यरत सबैजसो डाक्टरको नाम वरिपरीका फार्मेसी, निजी अस्पतालमा झुण्ड्याइएका छन् । अस्पतालमा १० बजेदेखि ओपिडी सुरु गर्नुपर्ने भएपनि आफ्नै निजी क्लिनिकमा आउने बिरामी जाँचेपछि मात्रै जान्छन् । बिहान सात बजेदेखि टिकट लिएर डाक्टरको पर्खाइमा रहेका बिरामी र आफन्त डाक्टरको लापरबाहीबाट दिक्क भएका छन् । ‘डाक्टरहरू सेवामा भन्दा पनि व्यापारमा व्यस्त हुन्छन् । कताबाट कमिसन आउँछ भन्ने मात्रै ध्याउन्न छ,’ छोरीको हात भाँचिएपछि सुनसरीको कुसाहदेखि उपचार गराउन आएका रामेश्वर साहुले भने, ‘ढिलासुस्ती असाध्यै बेलैमा डाक्टर नआउने रोग पनि रहेछ ।’
आइतबार पौने ११ बजेसम्म पनि स्त्रीरोगका बिशेषज्ञ डा. योगेन्द्र मिश्र अस्पतालको ओपिडीमा पुगेका थिएनन् । उनको प्रतिक्षामा ५० भन्दा बढी महिलाहरू थिए । उनी अस्पताल नजिकैको माँ तारा मेडिकल हलमा बिहान र दिउँसो बिरामी जाँच गर्छन् भने सप्तकोशी नर्सिङ होममा उनको लगानी रहेको स्रोतले जनाएको छ । यता धेरै व्यस्त हुने भएपछि उनी अस्पतालमा न समयमै पुग्छन्, न तोकिएको समयसम्म बस्छन् ।
कोशी अञ्चल अस्पतालले पनि २०७२ फागुन २२ मा सबै चिकित्सक, पारामेडिक्स र नर्सहरूलाई अस्पतालको स्वीकृतिबिना बाहिर काम नगर्न निर्देशन दिएको छ । निजी क्लिनिकमा काम गर्दा कोशी अञ्चल अस्पताल नराख्न पनि निर्देशन दिइएको थियो । तर अस्पतालमा जाने बिरामीलाई आफ्नो क्लिनिकमा तान्न अस्पतालको नाम भँजाउने क्रम बढेको छ ।
विदेशीलाई पनि सुत्केरी भत्ता

कोशी अञ्चल अस्पतालको स्त्रीरोगको ओपिडीको भीडमा कुन्दन साह र उनकी श्रीमती सिमिली टिकट काटेर लाइन बसेका थिए । भारत जोगबनीबाट मोटरसाइकलमा आएको यो जोडी पहिलो सन्तान नेपालकै अस्पतालमा जन्म दिन चाहन्छ, त्यो पनि सरकारी अस्पतालमै । कोशी अञ्चल अस्पतालका डाक्टरहरूले नै रानी भन्सारनजिकै सप्तकोशी नर्सिङ होम सञ्चालन गरेका छन् । कोशी अञ्चल अस्पतालमा जुन डाक्टरले जाँच्ने हो, त्यहीँ डाक्टरले नर्सिङ होममा जाँच्छन् । तर उनी त्यहाँ नगई सिधै कोशी अञ्चल अस्पताल आउनुको कारण छ– कम खर्च लाग्ने र सुत्केरी भत्ता पनि पाइने ।
‘सस्तोमा सुत्केरी गरिन्छ यहाँ, भत्ता पनि दिन्छन्,’ कुन्दन भन्छन्, ‘हाम्रो गाउँका सबै बच्चा जन्माउन यही हस्पिटलमा आउँछन् ।’
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेलका अनुसार प्रसुती गराउनेमध्ये पाँच प्रतिशत भारतबाट आउँछन् । अस्पताल प्रशासनका अनुसार २०७१÷७२ मा ८ हजार ३ सय ५५ जनाले प्रसुती गराएका छन् । मेसु पोखरेलको भनाईलाई आधार मान्दा ४ सय १७ जना भारतीय नागरिक प्रसुती सेवाका लागि यहाँ आएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पोखरेलका अनुसार प्रसुती गराउनेमध्ये पाँच प्रतिशत भारतबाट आउँछन् । अस्पताल प्रशासनका अनुसार २०७१÷७२ मा ८ हजार ३ सय ५५ जनाले प्रसुती गराएका छन् । मेसु पोखरेलको भनाईलाई आधार मान्दा ४ सय १७ जना भारतीय नागरिक प्रसुती सेवाका लागि यहाँ आएका छन् ।
अस्पतालले उनीहरूलाई पनि सुत्केरी भत्ता दिने गरेको पोखरेलले बताए । ‘यहाँ सुत्केरी गराएपछि नेपालीलाई मात्रै भत्ता दिने त्यस्तौ कुनै नियम छैन । जहाँका नागरिक आएर सुत्केरी गराएपनि अस्पतालको सुविधा दिने गरेका छौ,’ उनले भने, ‘भारतीय नागरिकले सुत्केरी गराउँदा भत्ता दिने वा नदिने बिषयमा छलफल चाहिँ भएको हो । कुनै निर्णय भएको छैन ।’
उपकरण बिग्रिन्छन् कि बिगारिन्छन् ?
अस्पतालमा दैनिक सात सयदेखि एक हजार बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन् । यी बिरामीहरूले एक्स–रे र अल्ट्रासाउण्ड गराउँन घन्टौं कुर्नुपर्ने बाध्यता छ । ‘एक्स–रे र भिडियो एक्स–रे गराउँन साढे दुई घण्टासम्म कुर्नुपर्छ,’ एक बिरामीले भनिन् । गर्मीयाम भएकाले बिरामीको चाप बढेको छ तर सेवा भने छरितो छैन । कतिपय बेला त एक्स–रे गर्दागर्दै ‘बिग्रियो’ भनेर फर्काउने गरेको वीरगन्ज पोखरियाका अहमत खातुनले बताए । ‘मेरोभन्दा अघिल्लो पालोमा भएकाको भिडियो एक्स–रे राम्रैसँगै भयो । मेरो पालो आएपछि त यहाँ बिग्रियो, बाहिरै गराएर आउनु भने,’ उनले दुखेसो पोखे, ‘बाहिर त महंगो पर्छ नि ।’
अस्पतालमा दैनिक सात सयदेखि एक हजार बिरामी स्वास्थ्य परीक्षण गराउन आउँछन् । यी बिरामीहरूले एक्स–रे र अल्ट्रासाउण्ड गराउँन घन्टौं कुर्नुपर्ने बाध्यता छ । ‘एक्स–रे र भिडियो एक्स–रे गराउँन साढे दुई घण्टासम्म कुर्नुपर्छ,’ एक बिरामीले भनिन् । गर्मीयाम भएकाले बिरामीको चाप बढेको छ तर सेवा भने छरितो छैन । कतिपय बेला त एक्स–रे गर्दागर्दै ‘बिग्रियो’ भनेर फर्काउने गरेको वीरगन्ज पोखरियाका अहमत खातुनले बताए । ‘मेरोभन्दा अघिल्लो पालोमा भएकाको भिडियो एक्स–रे राम्रैसँगै भयो । मेरो पालो आएपछि त यहाँ बिग्रियो, बाहिरै गराएर आउनु भने,’ उनले दुखेसो पोखे, ‘बाहिर त महंगो पर्छ नि ।’
मोरङ हसनदहका गोपाल पाण्डेले आमाको इन्डोस्कोपी गर्न खाली पेटमै अस्पताल ल्याए । घन्टौं लाइन कुरे । उनलाई पनि पालो आएपछि बिग्रियो भन्दै फर्काइयो । ‘खाली पेट आएको हुन्छ । कति दिन खाली पेट ल्याउनु ?,’ उनले भने, ‘त्यही भएर बाहिर एक हजार पाँच सय ३० रुपैयाँ तिरें । अस्पतालमा भएको भए ६ सयमा हुन्थ्यो ।’
तीनजना रेडियोग्राफर भएपनि भिडियो एक्स–रेको एउटा मेसिन मात्रै सञ्चालनमा छ । अर्को मेसिन बिग्रिएको महिनौं हँुदा पनि बनाउन चासो दिइएको भेटिँदैन ।
कतिपय उपकरण जनशक्ति अभावमा उपयोग हुन सकेका छैनन् । आइसियुमा भेन्टिलेटर भएपनि एनेस्थेसियाको जनशक्ति नभएपछि सञ्चालनमा ल्याउन नसकेको मेसु पोखरेलले बताए । उनका अनुसार भिडियो इन्डोस्कोपी २, डाइलासिस मेसिन २, पोर्टेबल एक्स–रे २, भेन्टिलेटर २ वटा र इको गर्न यूएसबी डब्लर एउटा माग गरेको उनले बताए ।
अस्पतालका शैयामा नर्सिङ कक्षा !

अस्पतालको ओपिडीमा दैनिक एक हजारको हाराहारीमा बिरामी आउँछन् । इमर्जेन्सीमा करिब सय जना आउँछन् । तर, अस्पतालका बेड भने खाली छन् ।
यसको कारणचाहिँ जुन डाक्टरले बिरामी जाँच्यो, उही डाक्टरले भर्ना हुन आफू कार्यरत निजी अस्पतालमा पठाउने रहेछन् । अस्पतालमा ३ जना सर्जन छन् । तर, सबैभन्दा धेरै खाली हुने वार्ड नै सर्जरी वार्ड हो । अपरेशन गर्नुपर्ने बिरामीबाट राम्रै आम्दानी हुने भएपछि निजीमा पठाउने गरेको कर्मचारीहरू बताउँछन् ।
बिरामी राख्नुपर्ने शैयामा नर्सिङ कलेजहरूको कक्षा चलाउने गरेका छन् । स्वास्थ्य खबरको टोली अस्पतालको सर्जिकल वार्ड पुग्दा शैयामै बसेर विद्यार्थीहरू होमवर्क गरिरहेका थिए । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले एउटा अस्पतालले एउटा नर्सिङ कलेजलाई मात्रै सम्झौता गर्नुपर्ने व्यवस्था गरेको छ । तर, आफ्नै अस्पताल नभएको पिपुल्स र सिस्वनीले अझै कोशी अञ्चल अस्पताल देखाएर विद्यार्थी भर्ना लिइरहेका छन् ।
यसबाहेक न्यूरो, मकालु, बिराट इन्ष्टिच्यूटका विद्यार्थी पनि प्रयोगात्मक कक्षाका लागि कोशी अञ्चल अस्पतालमै आउने गरेका छन् । दिनमा डेढ सयभन्दा बढी विद्यार्थीहरू अस्पतालको वार्डमा छिर्दा बिरामी पनि दिक्क मान्ने गरेका छन् । एउटै बिरामीलाई बारम्बार त्यही कुरा सोध्दा झन्झट लाने गरेको आफन्तहरू बताउँछन् । नर्सिङ अध्ययन गर्ने विद्यार्थीबाट अस्पतालले बार्षिक एक करोड आम्दानी गर्ने गरेको छ । ‘प्रयोगात्मक कक्षा गराए बापत कलेजले लिने शुल्कको आठ प्रतिशत अस्पताललाई बुझाउनु पर्ने हुन्छ,’ मेसु पोखरेलले बताए ।
- स्वास्थ्य खबरबाट साभार
Post a Comment