Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

राजनैतिक अस्थिरता/अनिश्चिता लामो समयसम्म रह्यो भने देशमा अर्को कोत पर्व हुनेछ


इतिहासको त्यो पाठ : कोतपर्वको १७० वर्ष

-त्रिरत्न मानन्धर
jangarana१७० वर्षअगाडि नेपालको इतिहासमा एउटा हत्याकाण्ड भएको थियो, जुन कोतपर्वको नामले प्रसिद्ध छ । विसं १९०३ आश्विन वदी ९ (सन् १८४६ सेप्टेम्बर १४) को राति भएको उक्त घटनामा देशका मुख्तियारसहित धेरैजसो उच्च भारदारहरू मारिएका थिए र सोही घटनाबाट नेपालको इतिहासमा जंगबहादुर कुँवरको उदय भएको थियो ।
jangarana
उक्त हत्याकाण्ड अचानक र आकस्मिक रूपमा केही घन्टाभित्रै भएको थियो तापनि नौ वर्षअगाडिदेखि नेपालमा व्याप्त अन्योल र अनिश्चिततालाई यसको पृष्ठभूमिका रूपमा व्याख्या गर्नुपर्छ ।
लामो समयसम्म राजनैतिक अस्थिरता र अनिश्चिता रह्यो भने देशमा अर्को कोत पर्व हुनेछ भन्नेबारे शासन संचालन गर्ने ब्यक्तिहरु बेलैमा सजग हुन् अत्यावश्यक छ |
विसं १८९४ मा राजा राजेन्द्रले भीमसेन थापालाई अपदस्थ गरेपछि नेपालमा अन्योलको वातावरण सिर्जना भएको थियो । राजेन्द्र महत्वाकांक्षी त थिए तर उनको कमजोरी यो थियो कि उनले आफ्नी दुई रानीका कार्यकलापलाई समेत नियन्त्रण गर्न सकेका थिएनन् । उनका दुवै रानी त्यत्तिकै महत्वाकांक्षी थिए र दुवैले आ–आफ्नै स्वार्थ सिद्धिका लागि भारदारहरूका दुई प्रमुख समूहलाई आफूतर्फ मिलाएका थिए । जेठी रानी साम्राज्यलक्ष्मीले पाण्डेहरूको सहयोग प्राप्त गरेकी थिइन् भने कान्छी रानी लक्ष्मीदेवीलाई थापाहरूको समर्थन थियो । भीमसेन थापाको पतनको लगत्तै साम्राज्यलक्ष्मीको जोडले रणजंग पाण्डे मुख्तियार त भए तर उनी कहिले गुरु रंगनाथ त कहिले चौतरिया पुष्कर शाहको नेतृत्वमा रही काम गर्न बाध्य भए । केही वर्षपछि रणजंग शक्तिशाली मुख्तियार त बने तर उनको अंग्रेज सरकारप्रतिको नीतिले गर्दा राजेन्द्रले उनलाई पदबाट हटाए, अंग्रेज सरकारकै दबाबमा ।
विसं १८९८ मा साम्राज्यलक्ष्मीको मृत्युपछि नेपालको राजनीतिमा कान्छी रानी लक्ष्मीदेवीले हस्तक्षेप गर्न थालिन् । उनले भारतमा बस्दै आएका भीमसेन थापाका भतिजा माथवरसिं थापालाई नेपाल फिर्ता बोलाइन् र उनकै दबाबमा राजेन्द्रले माथवरलाई मुख्तियार बनाए । लक्ष्मीदेवीको स्वार्थ थियो युवराज सुरेन्द्र (साम्राज्यलक्ष्मीका छोरा) को अधिकार खोसी आफ्नै छोरा रणेन्द्रलाई राजा घोषित गर्नु । तर माथवर रानीको इच्छाअनुसार काम गर्न तयार थिएनन्, किनकि यसबाट ठूलो विद्रोह हुने सम्भावना थियो । विकल्पको रूपमा माथवरले राजेन्द्रलाई गद्दी त्यागको सल्लाह दिए, किनकि सुरेन्द्रलाई विधिवत् रूपमा राजा घोषित गरेपछि लक्ष्मीदेवीले आफ्नो छोरालाई राजा बनाउने हठ त्याग्नेछिन् भन्ने उनको धारणा थियो । तर महत्वाकांक्षी राजेन्द्र राज्यत्याग गर्ने पक्षमा थिएनन् । यसप्रकार माथवरले राजा र रानी दुवैलाई चिढाए । फलस्वरूप राजा र रानी दुवै मिली माथवरको हत्या गराए जसमा प्रमुख भूमिका लक्ष्मीदेवीका प्रिय पात्रहरू गगनसिंह र जंगबहादुरले खेलेका थिए । माथवरको अन्तपछि चार महिनासम्म देशको शासन व्यवस्था मुख्तियारबिना नै चल्यो । लक्ष्मीदेवी गगनसिंहलाई मुख्तियार बनाउन चाहन्थिन् जबकि राजेन्द्र त्यसो गर्न तयार थिएनन् ।
अन्ततोगत्वा चौतरिया फत्यजंगलाई मुख्तियारको पद त दिइयो तर राज्यपरिषद् (मन्त्रिमण्डल सरह) मा गगनसिंह र जंगबहादुरलाई पनि समावेश गरियो । रानीको प्रिय पात्र भएको नाताले गगनसिंह निकै शक्तिशाली थिए र उनको अधीनमा सात पल्टन फौज थियो जबकि फत्यजंगको नियन्त्रण केबल तीन पल्टन फौज मात्रै थियो । भनिन्छ, सबै महत्वपूर्ण निर्णयहरू लक्ष्मीदेवी र गगनसिंह गर्थे र राजा र मुख्तियार त्यसलाई औपचारिकता मात्रै दिन्थे । गगनसिंहको उदय राजा, मुख्तियार, जंगबहादुर र अन्य भारदारका लागि एउटा चुनौती बनेको थियो । तर गगनसिंहको शासन धेरै समयसम्म चल्न सकेन । विसं १९०३ आश्विन वदी ९ को राति आफ्नै घरमा पूजा गरिरहेका बेला उनको हत्या भयो ।
गगनसिंहको हत्या कसले गर्यो भन्नेबारे लेखकहरूका भिन्नाभिन्नै धारणा छन् । कसैले राजा र मुख्तियारको मिलेमतोमा लाल झा नामका कुख्यात व्यक्तिले उनको हत्या गरेको भनेका छन् भने कसैले चाहिं जंगबहादुरले आफू शक्तिशाली बन्न आफ्ना भाइ बद्रीनरसिंहद्वारा उक्त हत्या गराएको भनी लेखेका छन् । गगनसिंहको हत्याको रहस्य सायद कहिल्यै पनि अगाडि आउँदैन । तर एउटा कुरा के भन्न सकिन्छ भने गगनसिंहको उदय राजा, मुख्तियारलगायत कसैलाई मन परेको थिएन र उनको पतन लक्ष्मीदेवीबाहेक सबैले चाहेका थिए ।
आफ्नो प्रिय पात्रको हत्याबाट लक्ष्मीदेवीलाई ठूलो चोट पुग्यो र उनले हत्यारा पत्ता लगाउन सबै भारदारहरूलाई तुरुन्तै कोतमा हाजिर हुन आदेश दिइन् । केही घन्टाभित्रै भारदारहरू कोतमा जम्मा त भए । तर हत्यारा पत्ता लगाउनाको साटो भारदारहरूबीच मारकाट सुरु भई जंगबहादुर र उनका सहयोगीहरूबाहेक अन्य सबैजसो भारदारहरूले आफ्नो ज्यान गुमाए । कोतभित्र भएको हत्याकाण्ड भएकाले यसलाई कोतपर्व भनिन्छ । कोतभित्रको हत्याकाण्डबारे विभिन्न धारणा अगाडि आएका छन् । तर हामी दुईवटा परस्पर विरोधी धारणाको मात्रै विवेचना गर्दछौं । उक्त घटनाको ६ महिनापछि अर्थात् विसं १९०३ चैतमा नेपालस्थित ब्रिटिस रेजिडेन्ट थोरस्वेले घटनाको विस्तृत विवरण अंग्रेज सरकार छेउ पठाएका छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष लक्ष्मीदेवीमाथि लगाइएका छन् । गगनसिंहको हत्यारा पत्ता लगाउने रानीको हठकै कारण उक्त हत्याकाण्ड भएको भन्ने रेजिडेन्टको ठहर छ । साथै कुनै निर्णय दिन नसक्ने भनी राजेन्द्रको पनि आलोचना गरिएको छ । किनकि कोतभित्र तनावको वातावरण पैदा भएकै अवस्थामा राजा कोतबाट बाहिर निस्केका थिए । थोरस्वेको यो भनाइलाई हामी आँखा चिम्लेर विश्वास गर्न सक्तैनौं, किनकि यो पत्र स्वयं जंगबहादुरले दिएको विवरणअनुसार तयार गरिएको थियो ।
घटनाको अर्को विवरण स्वयं लक्ष्मीदेवीले आफ्ना पति राजेन्द्रलाई लेखेको पत्रमा दिएकी छन् जसमा हत्याकाण्डको सम्पूर्ण दोष जंगबहादुर र उनका सहयोगी विजयराज पण्डितमाथि लगाइएको छ । पत्रकै शब्दहरूमा ‘जनरल गगनसिंलाई छानाबाट गोलि चलाइ मान्या को हो कया विराउँले मारियो मार्न सल्लाहमा पस्न्यालाई र मार्न्यालाई ठहराइ पक्रनुपर्छ भनि मैले र हजुरबाट हुकुम वकिस मान्या मानिसको षोजि हुन लाग्याको थियो तेसै वषत्मा हामिहरू सबै बसि कौसल गरि त्यो मार्न्या मानिसलाई ठहराउँछौं हजुरहरू सुकुला गर्न पाव लाग्नु हवस् भनि विजयराज पंडितले र जंगबहादुरले धोषाको विंति पार्दा म कोठरिभित्र गञा हजुर दर्वार तरफ पाव लाग्नु भयो तेसै विचमा जंगबहादुरले आफ तैनाथि पल्टनका पगरि हुद्दा सिपाहिहरूबाट घेरा दि हुल गरि भारदारहरूलाई मार्याको र तिनैका जाहान बच्चा र अरूलाई पनि धपायाको व्यहोरा सबै हजुरमा जाहिरै छ अरू मानिस पनि सबै जान्दैछन्… ।’ लक्ष्मीदेवीको यस विवरणमाथि शंका गर्ने ठाउँ त अवश्य पनि छ । तर एउटा निश्चित कुरा के छ भने कोतभित्र भएको हत्याकाण्डमा जंगबहादुर र उनका सहयोगीबाहेक अरू सबैजसो भारदारहरू मारिएका थिए । यसबाट जंगबहादुरले कोतभित्रको स्थिति आफ्नो अनुकूल बनाई हत्यकाण्ड गराएको तथ्य स्पष्टै देखिन्छ ।
कोतपर्वपछि जंगबहादुर मुख्तियार बने र उनलाई कम्यान्डर इन चिफको पदवी पनि दिइयो । तर उनले आफूलाई सुरक्षित महसुस गर्न सकेनन्, किनकि बस्नेतहरूको सहयोग लिई लक्ष्मीदेवी जंगबहादुरविरुद्ध षड्यन्त्र गर्दै थिइन् । स्मरणीय छ, आफ्नो परिवारका ज्येष्ठ महिलाको मृत्यु भएकाले बस्नेतहरू कोतमा सामेल भएका थिएनन् र उनीहरू बच्न सफल भएका थिए । आफूविरुद्ध षड्यन्त्र भइरहेको चाल पाई जंगबहादुरले बस्नेतहरूलाई युवराज सुरेन्द्रका शत्रु घोषित गरी राजेन्द्रकै आदेशअनुसार बस्नेत भारदारहरूको हत्या गराए जसलाई भण्डारखाल पर्व मनिन्छ । यो घटना कोतको हत्याकाण्डको ४५ दिनपछि भएको थियो र यस घटनापछि जंगबहादुरले लक्ष्मीदेवीलाई देश निकाला गरेका थिए । साथै जंगबहादुरले प्रधानमन्त्रीको पदवी पनि पाए । लक्ष्मीदेवीसँगै राजेन्द्र पनि बनारस गएपछि जंगबहादुर झन् शक्तिशाली भए र उनले अनुकूल स्थितिको सिर्जना गरी सुरेन्द्रलाई विधिवत् रूपमा नेपालको नयाँ राजा घोषित गरे । उता बनारसमा जंगबहादुरद्वारा धपाइएका वा भाग्न सफल भएका भारदारहरूले राजेन्द्रलाई नेपाल फर्की शासन पुनः कब्जा गर्न दबाब दिइरहेका थिए । त्यसमाथि आफू छँदाछँदै आफ्ना छोरा सुरेन्द्रलाई राजा घोषित गरेको खबरले त राजा निकै क्रोधित भए । उनले एउटा सानो फौजको निर्माण गरे र केही भारदारहरूसहित नेपालको सीमाभित्र प्रवेश गरे । फौजसहित राजेन्द्र नेपालतर्फ आएको थाहा पाउनेबित्तिकै जंगबहादुरले ठूलो फौज त्यसतर्फ पठाए । नेपालको सीमा नजिकै अलौ भन्ने ठाउँमा दुई फौजबीच मामुली भिडन्त भयो जसमा राजेन्द्रको फौज सजिलै पराजित भयो र राजेन्द्र स्वयं कैदीको रूपमा काठमाडौं ल्याइए । उनलाई उकास्ने भारदारहरू त जंगबहादुरले ठूलो फौज पठाएको थाहा पाउनेबित्तिकै राजेन्द्रको साथ छाडी सीमापारि भागिसकेका थिए । यो घटना विसं १९०४ भदौ महिनाको हो ।
कोत, भण्डारखाल र अलौ पर्वबाट जंगबहादुर सर्वेसर्वा शासक मात्रै भएनन्, उनले आफ्नो परिवारको सामाजिक स्तर पनि माथि उठाए । राजा सुरेन्द्रको लालमोहरद्वारा उनी र उनको परिवारले ‘राणा’ को दर्जा पाए र त्यसको उपयोग गर्दै जंगबहादुरले राजपरिवारसँग वैवाहिक सम्बन्ध पनि जोडे । राजासरहको पदवी पाउने लालसाले जंगबहादुरलाई छोडेको थिएन । विसं. १९१३ मा प्रधानमन्त्री पद छोडेको नाटक गरी उनी महाराज बने । तर अंग्रेज सरकारले उक्त पदलाई राजकीय मान्यता नदिएपछि जंगबहादुरले पुनः प्रधानमन्त्री हत्याए र महाराज प्रधानमन्त्री पदबाट विभूषित भए । कोतपर्वबाट सुरु भएको राणाहरूको जहानिया“ शासन १०४ वर्षसम्म कायम रह्यो र विसं. २००७ मा भएको १०४ दिनकै जनआन्दोलनले यसको अन्त गर्यो । भनिन्छ, इतिहास भनेको अतीत र वर्तमानबीचको अटुट संवाद हो जसले उज्ज्वल भविष्य निर्माणमा सहयोग गर्छ । इतिहासबाट पाठ सिकी अगाडि बढ्ने हो भने त्यो देशको भविष्य उज्ज्वल हुन्छ । होइन भने इतिहास बारम्बार दोहोरिरहन्छ र यसबाट राष्ट्रले नै ठूलो क्षति बेहोर्नुपर्ने हुन्छ । आजको स्थितिमा कोतपर्वको व्याख्या गर्दा हामीले इतिहासले दिएको सन्देशलाई बिर्सनुहुन्न । विगतमा गरिएका सही निर्णयको अनुसरण गर्ने तथा गलत नीतिलाई त्याग्ने क्षमता शासन चलाउने व्यक्तिहरूमा हुनुपर्छ । रणबहादुर शाहले आफ्नो जेठो छोराको अधिकार खोसी मन परेकी रानीको अठारमहिने छोरालाई राजा बनाएपछि नेपालमा गृहयुद्ध भएको थियो । यस्तो इतिहासको पाठ बिर्सी लक्ष्मीदेवीले युवराज सुरेन्द्रको अधिकार खोसी आफ्नै छोरालाई राजा बनाउन खोज्दा कोतपर्व हुन गएको हो ।
जहाँसम्म कोतपर्व र त्यसपछिका घटनाहरूले नेपालको राजनीतिमा के परिवर्तन ल्यायो भन्ने प्रश्न छ, निश्चय पनि यसले नौ वर्षदेखि व्याप्त राजनीतिक अन्योल र अनिश्चितताको अन्त गर्यो । यसलाई कोतपर्वको सकारात्मक पक्षको रूपमा लिए तापनि अर्को प्रश्न उठ्छ— आखिर नेपालले कोतपर्वबाट पायो के ? यसको स्पष्ट उत्तर हुन्छ एक शताब्दीको तानाशाही राणा शासन, जुन कोतपर्व पूर्वको नौ वर्षको राजनीतिक अस्थिरताभन्दा दसौं गुणा हानिकारक सिद्ध भयो । यसको अन्त्यका लागि नेपाली जनताले लामो संघर्ष गर्नुपर्यो र ठूलो बलिदान दिनुपर्यो । आजको युगमा राजनीतिक स्थायित्वको नाममा एकतन्त्रीय व्यवस्था कहिल्यै स्वीकार्य हुँदैन । आज देशभित्र व्याप्त राजनीतिक अस्थिरता÷अनिश्चितताले नेपाललाई कता लैजाने हो कसैलाई थाहा छैन । नेपालीहरूले अझ कति दुःख भोग्नुपर्ने हो यो पनि कसैलाई थाहा छैन । अनि त्योभन्दा पनि गम्भीर प्रश्न यस्तै स्थिति लामो समयसम्म रह्यो भने देशमा अर्को कोतपर्व हुनेछ भन्नेबारे शासन सञ्चालन गर्ने व्यक्तिहरू बेलैमा सजग हुनु अत्यावश्यक छ । नत्र उनीहरूलाई इतिहासले सधैं धिक्कार्नेछ । इतिहासबाट पाठ नसिक्ने हाम्रा राजनेताहरूलाई भगवान्ले सुबुद्धि प्रदान गरून् ।
साभार -कान्तिपुरबाट
१ असोज २०७३
Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget