काठमाडौं । एमालेले सात वटै प्रदेश कमिटीलाई पूर्णता दिएको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसको स्थानीय समिति बैठकले प्रदेश कमिटीलाई पूर्णता दिएको हो ।
यसअघिको स्थायी कमिटी बैठकले प्रदेश संयोजक र सहसंयोजकको मात्रै टुंगो लगाएको थियो । बैठकले सबै प्रदेश कमिटी सदस्यहरुको नामवली समेत सार्वजनिक गरेको छ ।
सात प्रदेश कमिटीमध्ये सबैभन्दा ठूलो ३ नम्बर प्रदेश कमिटी बनेको छ, जसमा संयोजक र सहसंयोजक सहित एक सय ११ सदस्य छन् । यस्तै, सबैभन्दा सानो कमिटी ५ नम्बर प्रदेशको छ । जसमा संयोजक र सहसंयोजक सहित ५१ सदस्य मात्रै छन् ।
आकारको हिसाबले ३ नम्बर पछि १ नम्बर प्रदेश कमिटी ठूलो बनेको छ ।
प्रदेश नम्बर १ मा भीम आचार्य संयोजक र शेरधन राई सहसंयोजक रहेको १ सय १, प्रदेश नम्बर २ मा सत्यनारायण मण्डल संयोजक र नागेन्द्र चौधरी सहसंयोजक रहेको ८१, प्रदेश नम्बर ३ मा अष्टलक्ष्मी शाक्य संयोजक र काशीनाथ अधिकारी सहसंयोजक रहेको १ सय ११, प्रदेश नम्बर ४ मा किरण गुरुङ संयोजक र गणेश तिमिल्सेना सहसंयोजक रहेको ५९, प्रदेश नम्बर ५ मा विष्णुप्रसाद पौडेल संयोजक र दलबहादुर राना सहसंयोजक रहेको ८०, प्रदेश नम्बर ६ मा युवराज ज्ञवाली संयोजक र यामलाल कँडेल सहसंयोजक रहेको ५२ र प्रदेश नम्बर ७ मा भीमबहादुर रावल संयोजक र कर्णबहादुर थापा सहसंयोजक रहेको ५८ सदस्यीय प्रदेश संगठन कमिटी गठन भएका छन् ।
प्रदेश कमिटीमा स्थायी कमिटीबाट तोकिएका प्रदेश संयोजक र सहसंयोजक, अञ्चल इन्चार्ज तथा सहइन्चार्ज, केन्द्रबाट तोकिएका जिल्ला इन्चार्ज र सहइन्चार्ज, निवर्तमान अञ्चल सचिवहरु, जिल्ला कमिटीका अध्यक्षहरु, जिल्ला अधिवेशनबाट निर्वा्चित निवर्तमान जिल्ला अध्यक्षहरु, निर्वाचन क्षेत्रबाट निर्वाचित राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यहरु, जिल्ला कमिटीको सिफारिशमा केन्द्रीय कमिटीद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का महिला सदस्यहरु र केन्द्रीय कमिटीको विशेष निर्णयद्वारा मनोनीत राष्ट्रिय प्रतिनिधि परिषद्का दलित सदस्यहरु रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।
यस्तै, स्थायी समिति बैठकले विभिन्न पार्टीबाट एमालेमा समाहित भएका मध्ये गोविन्दविक्रम शाह (जाजरकोट), रमेश श्रेष्ठ (सुनसरी) र मोती दुगड (मोरङ) लाई केन्द्रीय सल्लाहकार परिषद्को सदस्यमा मनोनीत गरेको छ ।
जेष्ठ कम्युनिष्ट बनाउने विषयमा भने अझै छलफल हुन बाँकी छ । अर्को बैठक भदौ ३० गते बस्ने सचिव भट्टराईले जानकारी दिएका छन् ।















Post a Comment