Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कुख्यात विदेशीलाई नेपाली नागरिकता

कुख्यात विदेशीलाई नेपाली नागरिकता
राजविराज- सप्तरी र सुनसरीमा गरी सात जनाको हत्यामा संलग्न आरोपमा पक्राउ परेका मोहम्मद मुस्तकिम भनिने रइस मियाँ भारतीय नागरिक हुन्। यद्यपि उनीसँग नेपाली नागरिकता र दुई छुट्टाछुट्टै नेपाली राहदानी छन्।
तीन वर्षदेखि 'मस्टवान्टेड' सूचीमा रहेका मियाँलाई साउन १९ गते प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ गरेको थियो। भारत, बिहार राज्यको मधुवनी जिल्लाअन्तर्गत लौकहा बगमरिया घर भएका मियाँले सप्तरी, सारस्वर–७ बाट वंशज नागरिकता लिएका हुन्। २०६३ चैत १० गते गाउँ पुगेको घुम्ती सरकारी टोलीसँग उनले नागरिकता लिएको जिल्ला प्रशासन कार्यालयको अभिलेख छ। ०६३१०५/४९० नम्बर नागरिकतामा पिताको नाम मुराई मियाँ कुजरा उल्लेख छ।
मुराई उनका ससुरा हुन सक्ने सप्तरीका प्रहरीप्रमुख एसपी भीमप्रसाद ढकाल बताउँछन्। 'रइसको नागरिकतामा उल्लेख पिताको नाम उनका ससुराको हुन सक्ने सूचनापछि त्यस हिसाबले पनि अनुसन्धान सुरु गरेका छौं,' उनले भने, 'केही दिनभित्रै सबै कुरा बाहिर आउँछ।'
 वि. सं. ०६९ देखि ०७० सम्मको अवधिमा सातवटा हत्या घटनामा प्रत्यक्ष संलग्न रहेको आरोप लागेका मियाँले ०६५ वैशाख ४ गते हस्तलिखित र ०७० फागुन ११ गते मेसिन रिडेबल राहदानी (एमआरपी) लिएको प्रशासनको अभिलेखले देखाउँछ।
विमानस्थलमा पक्राउ परेका बेला उनका साथबाट बरामद ०७६५६६४३ नम्बर राहदानीमा ठेगाना सिरहा जिल्ला उल्लेख रहेको अनुसन्धानमा संलग्न सप्तरीका डिएसपी दानबहादुर कार्कीले जानकारी गराए। उक्त राहदानी सन् २०१४ जुलाई २१ मा जारी भएको देखिन्छ। 'अभियुक्तले प्रहरीको आँखा छल्न फर्जी नागरिकता र पासपोर्ट बनाएको हुन सक्छ, यसतर्फ पनि अनुसन्धान थालेका छौं,' उनले भने। 
विभिन्न अपराधमा मुछिएका विदेशी नागरिकसँग नेपाली नागरिकता भेटिएको यो पहिलोचोटि होइन। यसअघि पनि भारतलगायत अन्य मुलुकका 'कुख्यात' सँग नेपाली नागरिकता तथा राहदानी फेला परेका थुप्रै घटना छन्। आफ्नो आपराधिक पहिचान लुकाउन उनीहरूले नेपाल प्रवेश गरेसँगै छद्म नाममा नागरिकता लिने गरेको पाइन्छ। प्रशासनिक कमजोरीको फाइदा उठाउँदै एकै अपराधीले दुई फरक नामबाटसमेत नागरिकता लिएका छन्।
२०६९ कात्तिक २३ गते सुनसरीको झुम्का कारागारबाट सुरुङ खनेर भाग्न सफल अधिकांश भारतीय र बंगलादेशी अपराधीसँग नेपाली नागरिकता र राहदानी थियो।
इन्टरपोलको रेडकर्नर नोटिसमा परेका बंगलादेशी नागरिक सुव्रत बेनले नेपालमा असरफ अली अन्सारीका नामबाट नागरिकता र राहदानी लिएका थिए। सुनसरी, सिमरिया–५ बाट नागरिकता लिएका उनी बंगलादेशका 'कुख्यात' अपराधी हुन्।
सन् २००८ मा बंगलादेश सरकारले भारत सरकारलाई बुझाएका २३ कुख्यात अपराधीको सूचीमा बेनको नाम पनि उल्लेख छ। अन्तर्राष्ट्रिय आतंकवादी संगठनसँगसमेत साँठगाँठ रहेको आशंका गरिएका बेनमाथि हत्याहिंसाका दर्जनौं मुद्दा छन्।
सन् २००५ मा बंगलादेश, ढाकास्थित बंगबन्धु एभेन्युमा आयोजित एक र्‍यालीमा ग्रिनेड हमला गरेको आरोपमा स्थानीय सुरक्षा निकायले बेनलाई मस्टवान्टेड सूचीमा राखेको हो। उनलाई पक्राउ गर्न बंगलादेश सरकारले १५ लाख रुपैयाँको इनामसमेत घोषणा गरेको थियो। झुम्का कारागार तोडेर भागेका बेन एक महिना नबित्दै भारत, कलकत्तामा पक्राउ परेका थिए।
बेनसँगै झुम्का कारागारबाट भाग्न सफल भारतीय कुख्यात अपराधी धीरेन्द्र यादवले सप्तरी र सुनसरीका दुई गाविसबाट फरकफरक नाममा नेपाली नागरिकता लिएका छन्। नेपाली भूमिमा बसेर आपराधिक क्रियाकलाप सहज पार्न उनले दुई जिल्लाबाट नागरिकता लिएका हुन्।
भारत, बिहार राज्यअन्तर्गत सुपौल, चिकनीपट्टी निवासी यादवले २०६७ फागुन १२ मा खटिएको नागरिकता टोलीसँग सप्तरी, वभनगामाकट्टी–२ र सुनसरीको पश्चिम कुशाहा–१ बाट नागरिकता लिएका छन्। यादवले वभनगामाकट्टी–२ निवासी शंकर यादवलाई बुबा उल्लेख गरी महावीर यादवका नामबाट नागरिकता लिएका हुन्। त्यस्तै पश्चिम कुशाहा–१ बाट लिएको नागरिकतामा उनको नाम महेश यादव उल्लेख छ।
अहिले बिहारको वीरपुर जेलमा रहेका धीरेन्द्रउपर फारबिसगन्जको गोल्छा हत्याकाण्ड, राघोपुरको विपिन चौधरी हत्याकाण्डलगायत २३ वटा मुद्दा चलिरहेका छन्। नेपालमा भने कृषिविकास बैंक राजविराजका तत्कालीन प्रबन्धक विक्रमप्रसाद साहको हत्या तथा ३० लाख लुटपाट गरेको आरोपमा उनी जेल परेका थिए। सन् २००८ मा नेपाल प्रहरीले सुनसरी, इटहरीस्थित रोयल रिसोर्टबाट धीरेन्द्रलाई पक्राउ गरेको थियो।
बिहार, सुपौल जिल्लाअन्तर्गत सीतापुरनिवासी सुभाष झाका नामले अहिले पनि उक्त क्षेत्रका स्थानीय त्रस्त हुन्छन्। हत्या, अपहरण, लुटपाट, फिरौतीलगायत मुद्दामा भारतीय प्रहरीको दबाब थेग्न नसकेर नेपाल छिरेका उनले सुनसरी, हरिपुरबाट हरिश्चन्द्र झाका नाममा नेपाली नागरिकता लिए।
 नागरिकता सुनसरीबाट लिए पनि उनको बसाइ भने सप्तरीमा रह्यो। केही वर्ष उनी राजन मुक्ति नेतृत्वको जनतान्त्रिक तराईमुक्ति मोर्चाको सप्तरी इन्चार्ज भएर पनि काम गरे। त्यति बेला उनी 'प्रज्वल मुक्ति'का नामबाट चिनिने गरेको पार्टीमा संलग्न नेता–कार्यकर्ताको भनाइ छ।
मोर्चा वार्तामा आइसकेपछि उनी हतियारसहित पक्राउ परेका थिए। नक्कली नागरिकताकै मुद्दामा झुम्का कारागारमा रहेका झा अन्य अपराधी बेन, यादवसँगै भाग्न सफल भए। उनले दिनेश झाका नाममा समेत नेपाली नागरिकता लिएको आरोप छ। यद्यपि उक्त तथ्यबारे विस्तृत विवरण खुल्न सकेको छैन।
त्यस्तै बिहार, सुपौलअन्तर्गतकै त्रिवेणीगन्जका बमबम यादवमाथि भारतमा हत्या, अपरहण, लुटपाटलगायत १७ वटा मुद्दा चलिरहेका छन्। उनी धीरेन्द्र यादवका निकटस्थ मानिन्छन्। झुम्का कारागारबाट भाग्नेमध्येका उनीसँग पनि नेपाली नागरिकता छ। यादवले सुनसरी, हरिपुरबाट नागरिकता लिएको अभिलेख छ।
कुख्यात विदेशीले नेपाली नागरिकता र राहदानी लिएका सम्बन्धमा छानबिन थालिएकोे  जिल्ला प्रशासन कार्यालय, सप्तरीले जनाएको छ। सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले रइसको नागरिकता खारेजी प्रक्रिया अगाडि बढाउनुका साथै नागरिकता बनाउन  सघाउने सर्वसाधारण, सरकारी कर्मचारीलाई कारबाही गरिने बताए। 
 नक्कली नागरिकता प्रकरणमा सप्तरी जिल्ला प्रशासनका प्रशासकीय अधिकृत तेजेन्द्रबहादुर कार्की, गाविस सचिव नवोनाथ मिश्र र असई सत्यनारायण महतो यसअघि नै पक्राउ परिसकेका छन्। गत वर्ष प्रशासनको टोलीले राजविराजस्थित एक होटलमा छापा मारी गरी नक्कली नागरिकता बनाउने गिरोहलाई नक्कली कागजात, सरकारी छापलगायत सामग्रीसहित समातेको थियो। 
    जितेन्द्रकुमार झा 
- नागरिक न्यूजबाट 
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget