धनकुटा, श्रावन १३ गते। धनकुटाको परेवादिन गाउँ विकास समिति वडा नम्बर–५ सिधुवामा यात्रुबहाक बस दुर्घटना हुँदा पूर्वअर्थ राज्यमन्त्री हरिराज खेवासहित १३ जनाको मृत्यु भएको छ ।
डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा अर्थ राज्यमन्त्री रहनुभएका खेवा हाल नेकपा माओवादी केन्द्र धनकुटाका इन्चार्जसमेत हुनुहुन्थ्यो । सातजनाको घटनास्थलमा र ६ जनाको धरानको बीपी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका २९ जनाको अस्पतालमा उपचार भइरहेको छ ।
संखुवासभाबाट धरानका लागि प्रस्थान गरेको बा २ ख ७३६६ नम्बरको बस सिधुवामा दुर्घटनाग्रस्त भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जानकारी दिन’भएको छ । दुर्घटनामा परी माओवादी केन्द्रका नेता एवम् पूर्वअर्थराज्य मन्त्री हरिराज खेवाको मृत्यु भएको पुष्टि भएको छ ।
बस दुर्घटनामा मृत्यु भएकामध्ये खेवासहित तीन जनाको मात्रै सनाखत हुनसकेको छ । मृत्यु हुनेमा धरानको वेदप्रकाश अग्रवाल र परेवादिन–४ को तारा बस्नेत रहेका छन् ।
दुर्घटनामा परी दर्जनौँ यात्रु घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । उद्धारका लागि सदरमुकाम र सिधुवालगायत क्षेत्रबाट प्रहरी टोली पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डाँफे मुनाल यातायातको बस दुर्घटनामा परेको हो ।
Post a Comment