
ज्ञानेन्द्र राजाबाट पूर्वराजा बनेको ८ वर्ष पूरा भएको छ । पहिलो संविधानसभाको पहिलो बैठकले मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक घोषणा गरी ज्ञानेन्द्रलाई पूर्वराजा बनाएको हो। यद्यपि पूर्वराजा ज्ञानेन्द्रलाई जन्मदिनको शुभकामना दिन आज हजारौ शुभेच्छुकहरु निर्मल निवास पुगेका थिए । निर्मल निवास पुग्ने सयौंको सूचीमा उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापा पनि हुनुहुन्न्थ्यो । मन्त्री थापा पूर्व राजा ज्ञानेन्द्रलाई बुकेसहित शुभकामना दिइ निर्मल निवासबाट फर्किनु भएको थियो ।
बुके लिने क्रममा पूर्वराजा ज्ञानेन्द्रले मुस्कुराउँदै मन्त्री थापालाई धाप मार्नु भएको थियो । मन्त्री थापा अध्यक्ष रहेको राप्रपा नेपालले राजसंस्थाको वकालत गर्दै आएको छ।
राप्रपा नेपालका तर्फबाट सरकारमा सहभागी भूमिसुधार तथा व्यवस्थामन्त्री रामकुमार सुब्बा तथा राप्रपा नेपालका अधिकांश सांसद् पनि निर्मल निवासमा पुग्नु भएको थियो । हातमा पुष्पगुच्छा र बुके बोकेका शुभेच्छुकहरुले लाइन लागेरै पूर्वराजालाई जन्मदिनको शुभकामना दिएका थिए ।
शुभेच्छुकहरु आफ्ना हजुरबालाई शुभकामना दिन आएको दृष्य नाति हृदयेन्द्र र नातिनीहरुले रुचीपूर्वक नियालेका थिए । ज्ञानेन्द्रको जन्मदिनको खुशियालीमा निर्मल निवासमा बाजागाजा र गीत संगीतको व्यवस्था गरिएको थियो।
Post a Comment