Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कसरि भयो पत्रकार डेकेन्द्रको हत्या ?

पत्रकार डेकेन्द्रराज थापाको हत्यामा संलग्न लक्षीराम घर्तीले हत्या कसरी गरिएको थियो भन्नेबारे कान्तिपुर संवाददाता प्रकाश अधिकारीसँग दैलेखमा प्रहरी हिरासतभित्रै कुराकानी गरेका छन् । घर्तीको भनाइ यस्तो छ-
मैले प्राण जाने गरी यातना नदिऔं भनेको थिएँ । मिलिसिया कमरेडहरू बेहोस हुने गरी कुट्थे । मैले कुनै यातना दिइनँ । तर, गाड्न लैजाने, खाडल खन्ने र माटोले पुर्ने काम भयो । प्राण गए/नगएको यकिन नभइकन खाल्डोमा पुरियो । मलाई आत्मग्लानि भइरहेको छ । त्यो गल्तीको सजाय भोग्न तयार छु । डेकेन्द्रको आत्माको चिरशान्तिका लागि म सजाय भोग्न तयार छु ।
प्रहरीले पक्राउ गरेर ल्याउँदै बाटोमै मैले हत्यामा संलग्न भएको स्वीकारेको हुF । डेकेन्द्रको हत्याका बेला म माओवादीको गाउँ कमिटीमा थिएँ । पछि एरिया समिति सदस्यको जिम्मेवारी पाएँ । २०५८ सालअघि कांग्रेसमा थिएँ ।
जनयुद्ध चर्किंदै गएपछि माओवादीको गाउँ तहकै होलटाइमर कार्यकर्ता बनें ।
२०५७ चैत २४ गते नौमुले इलाका प्रहरी कार्यालय आक्रमण गरेपछि त्यस भेगमा माओवादीको एकछत्र राज थियो । कि विस्थापित हुनुपथ्र्यो, कि त माओवादी ? दुईमध्ये एक बाटो रोज्नैपथ्र्यो । विस्थापित भएर परिवारलाई कहाँ बिचल्लीमा पार्ने भन्ने सोचें र माओवादीमा प्रवेश गरें । सिद्धान्त बुझ्नुभन्दा पनि माओवादीको जगजगी माहौल देखेर होलटाइमर भएँ ।
मोहन वैद्य नेतृत्वको नेकपा-माओवादीले मलाई जिल्ला समिति सदस्यमा राखेको रहेछ । मलाई नै थाहा थिएन, पक्राउ परेपछि मात्र थाहा पाएँ । दुई-तीन वर्षयता पार्टीका कुनै पनि बैठक, प्रशिक्षण एवं भेलामा म सहभागी भएको छैन ।
डेकेन्द्रलाई अपहरण गरेर जब द्वारी गाउँ ल्याइपुर्‍याइयो, म उनीसँग नजिक भएँ । उनले मेरो घरको भान्सामा सहयोग गर्थे । तरकारी काट्ने, पानी भर्नेजस्ता काम गर्थे । छोरीलाई पढ्न भन्थे । मसँग डेकेन्द्रको जम्मा ५ दिन संगत भयो । असाध्यै मिलनसार स्वभावका उनी वास्तवमै मार्न नहुने मान्छे रै’छन् । नचाहेरै हत्यामा संलग्न हुनुपर्‍यो ।
मिलिसियासहित ९ जनाको नियन्त्रणमा थिए उनी । जिल्ला हेडक्वार्टरको निर्देशनमा यातना दिएर छानबिन सुरु भयो । मिलिसिया कमान्डर कट्टीका बमबहादुर खड्का ‘मुक्ति’ ले सबैभन्दा बढी कुटपिट गरे । कुटपिट गर्ने काम मिलिसियाकै हुन्थ्यो । शाही सेना र पुलिसलाई पानी खुवाउने भन्दै मिलिसियाका साथीहरूले डेकेन्द्रलाई यातना दिन्थे ।
खानेपानी आयोजनाको रकम कति हिनामिना गरिस् ? खानेपानीको नेता भएर किन आइस् ? हामीले रेडियो नेपालमा प्रतिक्रियावादी राज्यसत्ताको पक्षमा किन लेख्छस् जस्ता प्रश्नहरू सोधेका थियौं । ‘उनी आमा किन मलाई जन्म दियौ ? मलाई यो पृथ्वीमा किन ल्यायौ ? मैले के गल्ती गरेको थिएँ र ?’ भनेर बारम्बार डाँको छोडेर रुन्थे । मिलिसिया कमान्डर बमबहादुरले उनलाई माओवादी हुन्छस् कि मारौं भनी बारम्बार पिट्दा मलाई माओवादी हुनु पनि छैन, खानेपानीको एक पैसा
खाएको पनि छैन । जनताले खानेपानी पाउनुपर्छ भनी आएको हुँ’ भनी जवाफ दिन्थे ।
२०६१ साउन २७ गते नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयको कोठाको तेस्रो बिममा झुन्ड्याएर दुई दिनसम्म सिस्नुपानी र लौरीले हिर्काइयो । त्यसपछि उभ्याएर छानबिन गर्ने क्रममा छिउडीपुसाकोटका अरुण भन्ने कमरेडले अण्डकोषमा लात्तीले हिर्काएपछि उनी ढले र बेहोस भए । यातना दिँदा शरीर पूरै शिथिल भइसकेको थियो । स्कुल छेवैको मेरो घरमा लगेर पेटीमा राख्यौं । पानी… पानी… भनी कराएपछि श्रीमती अमृताले पानी खुवाइदिइन् । नाडी सुस्त चलेका थिए । दुईजना साथीले नाडी छामेर मर्‍यो भने ।
सास फुत्केको थिएन जस्तो लाग्छ । त्यसपछि नजिकै रहेको जंगलतर्फ लग्यौं । मकैबारीसम्म घिसारेर लग्यौं । मकैबारी आइसकेपछि ४ हातखुट्टा समातेर उचालेर भीरतर्फ लग्यौं । मेरो घरदेखि २ सय मिटर पर खाल्डो खनेर नौ जनाले गाडेर फर्कियौं ।
त्यो रात मलाई निद्रै परेन । घर नजिकै गाडिएकाले निकै डर लाग्यो । पछि घर छाडेर माथिको गोठमा बस्न थालें । तल घर बस्दा डेकेन्द्रको छाया याद आउँथ्यो । हत्याको पश्चात्तापले अझै पिरोलिरहेको छ । त्यसैले यो सबै घटना विवरण सुनाउन म आतुर थिएँ । आफैं कहाँ गएर भनुँजस्तो लागेको थियो । प्रहरीले पक्राउ गरेपछि सबै भनिदिएँ ।
पुष्पकमल दाहाल ‘प्रचण्ड’ र बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि सर्वहारा वर्गको पक्षमा काम गर्लान् भन्ने विश्वास थियो । विकास होला, जनयुद्धका लक्ष्यहरू पूरा हुँदै जालान् भनेको झन् चौपट भयो । पार्टी पनि फुट्यो । जनयुद्धमा बेकार लागिएछ । न आफ्नो उन्नति प्रगति भयो न त समाज र देशकै । बेकार मान्छे मारिएछ ।
अब पनि जनयुद्ध कि जनविद्रोहको कुरा हुँदै छ । केका लागि जनयुद्ध गर्ने ? सत्ता नपाएका नेतालाई सत्तामा पुर्‍याउन कति निर्दोष डेकेन्द्रलाई मार्ने ? हिरासतमा रहेका अन्य तीन जना द्वारी आसपासकै हुन् । उनीहरूसँग नौमुले ओहोरदोहोर गर्दा भेट भइरहन्थ्यो । तर, रानीवनका जयबहादुर शाही (प्रसिद्ध) सँग घटनायता भेटघाट भएको थिएन । अहिले गल्तीको समीक्षा गर्दैछौं । अब म डेकेन्द्रकी श्रीमती र परिवारसँग भेटेर दुई हात जोडेर माफी माग्न चाहन्छु ।
Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget