Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

मैले भोगेको कष्ट र अपमान अब नयां संकल्पमा रुपान्तरित भएको छ

जयप्रकाश गुप्ता–
            कारावासमा मेरो यो बार्‍हौं महिना बित्दैछ । मलाई षडयन्त्रपूर्वक किन जेलमा हालियो-यस वारेका केही तथ्य कुराहरू मैले सार्वजनिक पनि गरिसकेको छु, अरु कुराहरू भविष्यमा स्पष्ट हुदै जानेछन् । मैले यहां जेलमा भोगेका सबै कष्ट र अपमानहरू अब मेरो नयां संकल्पमा रुपान्तरित भैसकेको छ । म भविष्यमा,  जीवनपर्यन्त नै आफ्ना प्रजातिन्त्रक आस्था र विश्वास अनुसार अविचलित रूपमा संघर्ष पथमा नै रहन्छु । नेपालका मधेसी समुदाय लगायत उपेक्षित, उत्पीडित, विभेद तथा बहिष्करणमा पारिएका अन्यसबै समुदायहरूको हीतमा हुने संघर्षमा एक लडाकुको रूपमा रिहरहने छु-मैले माथी भनेको संकल्प यही नै हो । यो अन्यायी तथा विभेदकारी, एकात्मवादी राज्यव्यवस्था र यसका पृष्ठपोषक ‘स्थायी सत्ता’ का विरुद्धको लडाई अब हामीले नयां रुपमा लड्नु परेको छ । लामो समयसम्म चल्ने यस लडाईमा म पनि रहनेछु । मैले भोगेको दुःख तथा अपमानलाई बिर्सने यही नै एक बाटो  हो । अब यो मेरो निर्विकल्प पथ भएको छ ।
           मुलुकको राजनीतिमा अहिले परिवर्तनकारी शक्तिहरू कमजोर भएका छन् । देशमा कायम रहेको एकात्मवादी ‘स्थायी सत्ता’ लाई नयां राज्यव्यवस्थामा रूपान्तरित गर्ने दोस्रो जनआन्दोलन र दुबै मधेस विद्रोहको कार्यभार अनुसार अगाडी बढ्ने सबै समुदाय र पक्षहरू अहिले कमजोर तथा मथ्थर भएका छन् । आजको माओवादी पार्टी, जसले जनयुद्धका समय ‘मधेसी राष्ट्रिय मुक्तिमोर्चा’ खडा गरेको थियो-त्यस पार्टीका स्वाभिमानी मधेसीहरू कि मारिए, षडयन्त्रपूर्वक पार्टीबाट निकालिए, कि अहिले एजेण्डा खोसिएर तानाशाह नेताहरूका दास भएका छन् । अब ‘मधेसी राष्ट्रिय मुक्तिमोर्चा’ मधेसमा माओवादीको चुनाव प्रचारको ‘लाउडस्पीकर’ वाहेक केही   रहेन ।
            नेपाली कांग्रेसमा रहेका मधेसीहरू भनेकै ‘मधेसका अन्तःस्करण बेचिएका मृतआत्मा’ भएका छन् । त्यस पार्टीमा उनीहरूको आफ्नो कुनै ‘विचार’ तथा ‘सामुदायिक पक्ष’ छैन । यसरी नै एमाले पार्टी मधेसी समुदायको चिहान वा कव्रिस्तान भएको छ । यहां असंख्य मधेसीहरूको विकसित चेतनालाई हरेकदिन नेताहरूबाट हत्या गरिन्छन् । एमालेमा रहेका मधेसीहरू प्राचीन, दासयुगीन अवस्थामा दिन काट्दैछन । यो मेरो आरोप होईन, बरु घटनाक्रमले सिद्ध गरेको सत्य यही नै हो । संविधानसभा भंग गरिनु भन्दा केहीदिन पहिले कांग्रेस र एमालेले केही अपवाद वाहेकका आफ्ना मधेसी तथा जनजाति सभासदहरूलाई जसरी संघीयता र राज्यको रूपान्तरणका विरुद्धमा प्रयोग हुन बाध्य गराए-यसबाट अब सबैले बुझ्नु परेको छ कि, बरू इश्वरको दरबारमा पापीको बास हुनसक्छ-तर कांग्रेस-एमालेमा मधेसीको स्थान हुनसक्दैन । मधेसको एजेण्डाको त कुरै भएन ।
              यिनै कांग्रेस र एमालेको उन्नतिकालागि बेठ-वेगारी गर्दै आएका संयुक्त लोकतान्त्रिक मधेसी मोर्चालाई मैले नै मधेसको उद्देश्यका प्राप्तिको लागि जीवन्त बाटोमा हिडाएको थिए । यो केहीकाल आशाको केन्द्रबिन्दु अवश्य भएको थियो । तर, अब यो मधेसको मूलध्येय प्राप्तिको बाटोबाट पूर्णतः विचलित भैसकेको  छ । यो स्वयं आफु चल्न नसक्ने तर मेशीनलाई चलाउनमा मद्दत गर्ने सहयोगी पाटपुर्जा भएको छ । यसैको अर्को रूप मधेसी जनअधिकार फोरम, नेपाललाई बनाइएको छ । यी दुबैबाट अब मधेसले आफ्नो कुनै लक्ष्यको प्राप्ति गर्न सक्दैन । संक्षेपमा, सत्य भन्नुपर्दा यस मोर्चाको विनास हुनु नै मधेसले फेरी एकपटक संघर्ष र आत्मसम्मानको बाटोमा हिड्न सक्नु हो । मधेसका सशस्त्र समूहहरू कहिलेपनि आफ्ना क्रियाकलापलाई राजनीतिक तथा राज्यसत्ताको विरुद्धमा रहेको प्रमाणित गर्न सकेनन् । केही अपवाद वाहेक आज प्रायसः सशस्त्र समूहहरू वार्ताको नाममा गृहमन्त्रालय र शांति मन्त्रालयमा तारेख बोक्दैछन् । शांतिपूर्ण राजनीतिमा सरिक हुने निहुंमा धमाधम मधेसी तथा गैरमधेसी सरकारी पार्टीहरूमा विलयका लागि प्रस्ताव गरिरहेका छन् ।
           मैले माथी उल्लेख गरेको यही परिस्थितिको आधारमा भनेको हुं कि, परिवर्तनकारी शक्तिहरू कमजोर तथा मथ्थर भएका छन् । तरपनि मधेसी जनताको यो आन्दोलन मर्दैन । इतिहास साक्षी छ, राजनीतिक चेतनाको एकदमै थोरै विकास भएको अवस्थामा पनि साना पार्टीहरू र सीमित व्यक्तिहरूको सार्थक प्रयासले पनि मुलुकहरूमा युगान्तकारी परिवर्तनहरू भएका छन् । नेपालमा पनि युगान्तकारी परिवर्तनहरू भएको छ । केही पार्टी निस्क्रिय हुनसक्छन्, कोही विचलित र पथभ्रष्ट हुनसक्छन् । केहीलाई राज्यसत्ताले खरीदगरेर दास बनाउन सक्छन्-तर, अहिले मधेसमा बसोवास गरिरहेका नेपालको कूल जनसंख्याको बत्तीस प्रतिशत भन्दाबढी रहेको तराई-मधेसका घर्तीपुत्र समुदायहरू कसैको दास हुन सक्दैनन् । यस उन्नत र विद्रोही जनचेतनालाई सिंहदरबारका व्यापारीहरूले अब खरीद गर्न सक्दैनन् । अहिले माओवादी-कांग्रेस-एमाले र मधेसका कथित मोर्चाहरूमा रहेका ‘अड्हतिया’ व्यापारीहरूले अब खरीदगर्ने बस्तु होइन्-मधेसको नयां  चेतना । मधेसका वारेमा खोज गर्ने, अध्ययन गर्ने अध्येताहरू, पत्रकारहरू त्यहांबाट फर्केर आई यही कुरा भनिरहेका छन्-“मधेसका पार्टीहरूले मुद्दा छोडे तर मधेसी जनताले मुद्दा छोडेका छैनन् ।”
            अहिले मधेसमा विकसित भएको यस विद्रोही नवचेतनालाई संगठित गर्नु हाम्रो दायित्व तथा कर्तव्य भएको    छ । देशमा, समाजमा विद्यमान गरिवी, अन्याय, उत्पीडन, दासता, विभेद र बहिष्करण कुनै ‘देवता तथा गांउका डिहवारहरू’ रिसाएर उत्पन्न भएका होईनन् । यो गलत तथा विभेदकारी राजनीतिक व्यवस्थाका नियोजित उपज हुन् । तसर्थ, यसको निदानकालागि ‘राजनीतिक व्यवस्था र राज्यसत्तामा’ नै आमूल परिवर्तन हुनुपर्दछ । यदि कुनै राज्यव्यवस्थाले जनता-जनता बीचको विभेद र उसको दारुण स्थितिमा परिवर्तन ल्याउन सक्दैन भने त्यसलाई बदल्नु पर्दछ । यदि कुनै राज्यसत्ताले विभेद, उत्पीडन, अन्यायलाई समाप्त गर्न सक्दैन भने त्यस राज्यसत्तालाई ढाल्नु-ढाहनु पर्दछ । सरकारहरू यदि परिवर्तनका संवाहक हुन सक्दैनन् भने त्यस सरकारबाट जनताका प्रतिनिधिहरू बाहिर आउनु पर्दछ-यी कुराहरू कुनै नयां कुराहरू होइनन् । सर्ववकालिक सत्य  हुन् । मधेसी जनताले अब यही सत्यको प्राप्तिकालागि नयां संगठनात्मक स्वरुप ग्रहण गर्नु पर्दछ ।
           बुद्ध र गांधीले भनेको ‘संघम् शरणम् गच्छामी’ यही हो । विद्वतामा महारत हासिल गरेका भारतका भीमराव अम्वेडकरले यसै निम्ति पार्टी बनाउनु परेको थियो । आजभन्दा सयबर्ष पहिले लेनिनले भनेका थिए-“विश्वकै पार्टीहरूका इतिहासले हामीलाई के सिकाउंछ भने परिवर्तनकारीहरूको आफ्नो पार्टी नभएमा, परिवर्तनकारीले विजय हासिल गर्न सक्दैनन् । अवसरवादबाट मुक्त, सम्झौतावादी र समर्पणवादलाई मुलाहिजा नगर्ने र राज्यसत्ताप्रति क्रान्तिकारी दृष्टिकोण अपनाउने पार्टीहरू मात्र मुलुकमा परिवर्तन ल्याउन सक्दछ । घरेलु शांतिको स्थितिमा जन्मेका अवसरवादीहरू, सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरू जनताका परिवर्तनकामी पार्टी हुन सक्दैनन् ।” कम्युनिष्ट विचारधारा तथा शासन व्यवस्थावारे हाम्रो असहमति हुनसक्छ । तर, परिवर्तनका लागि गठन गरिने पार्टीका वारेमा भने लेनिनको उक्त विचार संसारकै लागि उदाहरणीय  छ । मधेसको लागि शत्तप्रतिशत उपयुक्त र दिशा निर्देशक छ ।
           मधेसी पार्टीहरूले मधेस विद्रोहपछि “सडक, सदन र सरकारमा रहेर संघर्ष गर्ने” भनेका थिए । वि.स. २०६४ सालमा संविधानसभाको गठन र २०६९ सालमा यसको विघठन भएबीचको मधेसी राजनीतिले सिद्ध गरेको छ कि, अवसरवादीहरू, सामाजिक सुधारका सपना देख्नेहरू र लडाईबाट डराउनेहरूले सडक, सदन र सरकारमा कही पनि रहेर परिवर्तनको नेतृत्व गर्न सक्दैनन् । गत जेठ १४ गतेपछि त सत्तामा रहेका मधेसी पार्टीहरू पथभ्रष्टताका नीचनमूना भएका छन् । मधेसको आधारभूत राजनीतिक सवालहरूको निदान त झन् यस प्रवृतिका साथ सरकारको मोर्चाबाट संभवनै छैन । नेपालको ‘स्थायी सत्ता’ मा परिवर्तन नहुञ्जेल यो किमार्थ पनि संभव छैन । तसर्थ, समयको यस सन्देशलाई आत्मसात गरेर अब एक नयां क्रान्तिकारी अभियान र पार्टी निर्माण गर्नुको कुनै विकल्प रहेन ।
         नयां काम गर्न र जनताको पक्षमा जुटेर लाग्न कहिले पनि ढिलो हुदैन । कुनैपनि न्यायोचित आन्दोलनको तत्काल असफलता कहिलेपनि त्यस आन्दोलनको अन्त्य भएको मानिदैन् । यसको लागि सतत् संघर्ष  हुनुपर्दछ । यही प्रयोजनका लागि मैले मधेसी जनअधिकार फोरम (गणतान्त्रिक) को स्थापना गरेको थिए । यस पार्टीलाई, म जेलमा पारिएपछि अवसरवादी खरिदकर्ताहरूले खरिद गरें । यो राज्यसत्ताको दलाल भएको छ र यही रोगबाट ग्रस्त भई अस्तित्वविहीन हुनेछ । अब एक नयां शसक्त, क्रान्तिकारी अभियान बनाएर अन्ततः पार्टी निर्माणको कार्यमा जुट्नु परेको छ ।
          म अहिले जेलमा रहेको अवस्थामा, यसका लागि देशभरका साथीहरूले मलाई उत्साहित पार्नु भएको  छ । मार्गदर्शन गर्नु भएको छ । अनेकन् अवरोध तथा व्यवधानका बावजूदपनि अनवरत् साथीहरू भेट्न आईरहनु   भयो । हामीले यही जेलमै पनि गंभीर रुपमा छलफल तथा विचार विमर्श गर्‍यौं । यी सबको फलस्वरूप एक क्रान्तिकारी पार्टीको निर्माणको पूर्वाधारका लागि अहिले एक राजनीतिक तथा अधिकारवादी अभियानको निर्माण गर्ने बिषय सान्दर्भिक ठान्दछु । केही अघि मैले एक अपिलमा भनेको थिए-मेरो अगाडी खुला आकाश छ । नयां मार्गचित्र छ । म संग जोडिएका साथीहरूलाई केहीकाल पर्खन आग्रह गरेको थिए । अब हामीले आफ्ना गतिविधीहरूलाई बढाउनु परेको छ । यसर्थ, साथीहरूले प्रस्ताव गर्नु भएको “राष्ट्रिय अभियान” लाइ अगाडी बढाउनु उचित हुन्छ । यसमा सबैको सहयोग रहनु पर्दछ । ***   ***
माघ २३, २०६९ साल

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget