सरस्वती सुब्बा
तर यहाँ कुराचाहिँ वर्गको हुँदैन, जातको हुन्छ । राजेन्द्र महतो, जो जिन्दगीभर मन्त्री भए उनैले जातको कुरा गर्ने ? धेरैपटक मन्त्री बनेका महेन्द्र यादवले जातको कुरा गर्न सुहाउँछ ? महन्थ ठाकुर कांग्रेसमा रहुन्जेल पटक–पटक मन्त्री भए । मन्त्री हुन्जेल खान नपुग्नेका लागि बोल्न नपर्ने, गाँसवास नहुनेका लागि आवाज उठाउन नपर्ने तर पदबाट मुक्त भएपछि चाहिँ जातको कुरा गर्ने ? मान्छे उरालेर काम गर्न नदिने र उल्टै अशान्ति मच्चाउने । त्यो देखेर अति नै असह्य भएर सामाजिक आन्दोलनमा पनि लागेँ । म त्यति धेरै पढेलेखेको मान्छे होइन, सामान्य एसएलसी पास गरेकी छु । त्यस बेलासम्म मैले ट्विटर चलाउँदैनथे, फेसबुक मात्र चलाउँथे । गत तीन वर्षदेखि ट्विटरमा लेख्न थालेँ । मधेसका गरिब एकातिर छन्, धनीहरूको आन्दोलन अर्कातिर छ । जातीय आन्दोलनले वर्गको मुक्ति हुँदैन, जातको मात्र मुक्ति हुन्छ । सुवास नेम्वाङ पनि लिम्बू हो । सरस्वती सुब्बा पनि लिम्बू हो । सुवास नेम्वाङ र मलाई एक ठाउँमा जोड्न मिल्दैन नि । त्यस कारणले म जातीय आन्दोलनको विपक्षमा आफ्नो मत राख्दै आएकी छु । गत वर्ष भूकम्पले ठप्प बनाएको देशलाई आन्दोलनको नाममा बन्धक बनाइयो, अहिले फेरि मधेसबाट सर्वसाधारण ल्याएर सिंहदरबार, बालुवाटारमा तमासा भइराखेको छ । मैले केही दिन पहिले एउटा ट्विट लेखेकी थिएँ, जातीयताको विरोधमा । ६० वर्ष पुगेका मानिसले अहिले पनि हामीलाइ भेट भयो भने तिमी कुन जातकी, कुन थरकी, कहाँ बस्छ्यौ ? भनेर सोध्नुहुन्छ । तर अहिले तपाईं–हाम्रो उमेरका मानिसले कसैको जात र थर सोध्दैनौँ किनभने अहिलेको आधुनिक समाजमा जातीय कुराको कुनै औचित्य छैन । नेपाल साँच्चिकै राम्रो देश बनाउने हो भने अब जातीय कुरा बन्द गर्नुपर्छ, जातीय कुराले सर्वसाधारण गरिबलाई केही दिने होइन । बरू जनतालाई गरिबीबाट कसरी मुक्त गर्ने हो ? कुषिलाइ कसरी आधुनिक बनाउने हो ? यतातर्फ बहस प्रारम्भ गरौं । अहिले पनि नेपालमा एउटा गरिखाने वर्ग छ, अर्को बसीखाने वर्ग छ । एउटा वर्ग बिहान उठेदेखि बेलुकीसम्म खेतीपाती गर्ने तर आधापेट खाने र कुपोषण भएर बस्ने वर्ग छ । अर्को चाहिँ खेतीपातीमा पनि काम नगर्ने र भएको जमिन पनि बाँझो राख्ने वर्ग छ । साँच्चिकै जनताको मुक्तिको कुरा गर्ने हो भने गरिब, सुकुम्बासीलाई घर ठड्याउने ठाउँ र जोतेर खाने जग्गा जहिलेसम्म दिइँदैन, तबसम्म देशमा शान्ति हुँदैन । खेतीपाती गर्न जान्ने मान्छेलाई जग्गा दिने हो, कोही खेतीपाती गर्न जान्दैन भने त्यस्तालाई जग्गा दिनुपर्दैन । कृषि उत्पादन बढ्नेगरी जग्गाको मालिक बनाउने, किसानका छोराछोरीलाई शिक्षा, स्वास्थ्य र रोजगारी दिनसक्यो भने बल्ल नयाँ नेपाल बन्छ । होइन भने उही कुराका मात्र खेल हुन्छन्, काम हँुदैन ।
आफ्ना छोराछोरीलाई विदेशमा पढ्न पठाएका जनजातिका केही अगुवाहरुले जातको मुक्ति भएपछि हावामा उडिन्छ भनेर सोझा सिधालाई भड्काएका छन् । जातीय आन्दोलन अवसर लुट्नेका लागि रहेछ । सर्वसाधारणलाई केही फाइदा गर्दैन, उनै नेता र मन्त्री हुने हुन् । तराईमा आन्दोलन भयो भने पनि उनीहरू काठमाडौंमै बसेका हुन्छन् । फोनबाट निर्देशन दिने मात्र न हुन् । म के कुरामा सचेत छु भने आफ्नो अधिकारको कुरा गर्दा अरूलाई आक्षेप लगाएर माग पूरा हँुदैनन् । म सरस्वती लिम्बूले जातीय राज्यको विरोध गरेपनि अर्की रीता वा सीता लिम्बूले जातीय राज्यको माग गर्छन् भने पनि म उनीहरूलाई गाली गर्दिनँ किनभने उनीहरूलाई जातीय राज्यले सबै रोग निवारण गर्छ भन्ने भ्रम छ । हामी सुकुम्बासी हौँ भन्दैमा जमिन्दारको जग्गा आफैं खोस्ने होइन । हामीले राज्यसँग संघर्ष गरेको हो । जातका नाममा भिडलाई भड्काउन त सजिलो छ, तर जातीय राज्य स्थापना हुने संभावना भने छँदैछैन र त्यस्तो आवश्यक पनि होइन । जातीय राज्यको कुरा गर्नेहरू हिजो पाँच सय जना थिए, अहिले ५० जना भएछन्, भोलि त्यो सके पाँच जनामा झर्नेछ । (राष्ट्रिय भूमिअधिकार मञ्चकी महासचिव एवं सामाजिक अभियन्ता सरस्वती सुब्बासँग लोकान्तरले गरेको कुराकानीमा आधारित)
source : lokaantar.com
Post a Comment