चट्याङ लागेर आज दाङको देउखुरीमा एकै घरका तीन जना गम्भीर घाइते भएका छन् ।
चट्याङ लागेर सिसहनियाँ–४ पिपरीमा एकै घरका तीन जना घाइते भएका हुन् । चट्याङ लागेर ५२ वर्षीय जीतबहादुर चौधरी, उहाँका छोराहरु लहानु चौधरी र गोद्र्धन चौधरी घाइते हुनुभएको हो ।
बिहान छेदु चौधरीको घर नजिक खेतमा काम गर्न गएका बेला पानी परेपछि घरमा ओत लागेर बसेका बेला चट्याङ परेको र एकै घरका तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घाइतेमध्ये गोवद्र्धन चौधरी र लहानु चौधरी गम्भीर घाइते छन् । चट्याङले घरमा समेत क्षति पुगेको छ । घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र लमहीमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल लगिएको छ ।
मङ्गलबार सिसहनियाँ–२ जगपुरका श्यामदेव चौधरीको चट्याङमा परी मृत्यु भएको थियो । त्यस्तै लालमटिया–५ खिनैटाकी एक अर्की महिला घाइते भएकी थिइन् । रासस
Post a Comment