Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

फेरि रङ्गियो जीवन

दुर्गा न्यौपाने
durgaहिजो जस्तै लाग्छ मैले रंग फेरेको । अर्थात् सम्पूर्ण सौभाग्यका सामग्री भनिएका सिन्दुर, पोते, टिका, चुरालगायतका सामान फ्याँकिएको दिन । त्यो दिन सिउँदोमा सिन्दुर थिएन । तैपनि पखाल्नकै लागि मेरै साथीले लगाईदिएको म चाहेर पनि भुल्न सक्दिनँ । भुल्न नचाहेको पनि कहाँ हो र ? कुनै घटना, परिघटना यस्ता हुन्छन् जुन सदाका लागि भुल्न चाहन्छ मन र मस्तिष्कले, तर सक्दैन ।
औषधि विज्ञानले पनि त्यसको समाधान दिन सकेको छैन आजसम्म । लाग्थ्यो, जीवनको त्यो दुर्घटनालाई सदाका लागि मेटाउने दवाई खाऊँ । तर चाहेको र मन लागेको कुरा कहाँ पाउँछन् र सबै मान्छेले । हो, म सम्झन चाहन्न र चाहन्नथें पनि । एका एक सारा जीवनमा भोगेका तिता मिठा यथार्थका पाना पल्टिन थाले, जीवनका परिदृश्यहरू फ्ल्यासव्याक झैँ घुम्न थाले ।
विगत चाहेर भुल्न सकिने पनि त होइन । इतिहासको जगमा वर्तमान उभिएको कुरा पनि साँचो हो । मनको भित्री तहमा दबाईएका घटना सम्झनाको बाहिरी सतहमा आईपुग्दा त्यो घटना हिजोको हुँदैन, आजकै भएर आउँछ । त्यसैले मान्छेहरू भन्ने गर्छन्, खाटा बसेको घाऊलाई नकोट्याऊ पुनः घाऊ हुन सक्छ भनेर । जुन स्वभाविक हुँदैन ।
विताएको जीवन र विताइरहेको जीवनबीच कहिलेकाहीँ निकै सोचमग्न हुन्छु । अचेलको कुरा गर्ने हो भने सबै पढाई पूरा गरेर भर्खर विहे गर्ने उमेर, त्यही उमेरमा मैले जुनी फेरें । वा भनौं अर्को जन्म लिएँ । पूर्णबाट अपूर्ण, राम्रीबाट नराम्री, लक्षिनबाट अलक्षिन, सधुवाबाट विधवा यस्तै यस्तै धेरै भन्न सकिन्छ र मिल्छ पनि यो जन्मलाई ।
कुरा २०६० सालको हो । श्रीमान् बिरामी परेर मणिपाल अस्पतालमा हुनुहुन्थ्यो । डिस्चार्ज गरेको पन्ध्रै दिनमा पुनः अवस्थाले अस्पतालको माग गर्यो । वहाँ मान्नुभएन । भोलि जान्छु भन्दै हुनुहुन्थ्यो । मैले जबरजस्ती गरें र लगें पनि । अस्पतालले भर्ना गरी उपचार सुरु गर्यौं । एक्लै कुरुवा बस्दा निकै आत्तिएकी थिएँ, तर आशा मरेको थिएन । विश्वास टुटेको थिएन । रातभर डाक्टरले लाए अह्राएका कुरा गरिरहें । अर्को दिनको ४ बजिसके छ । समय गएको पत्तो थिएन । मनमा असंख्य कुराहरू समुद्रका छाल जस्तै आउने जाने गर्थे । म त्यही छालसँगै हराईरहेथें । छाल डरलाग्दा र भयङ्कर सुनामी बोकेर आउँथे । लक्षण राम्रो थिएन । तरपनि डाक्टरको भरोसा सकिएको थिएन ।
साना साना छोरीहरू जो अबोध थिए । बुझ्ने बेला भएकै थिएन । यति ठूलो संसारमा आफूलाई नितान्त एक्लो लाग्थ्यो । आशाको अंश बाँकी नरहेपछि मर्छ सायद मान्छे । मान्छेमा भरोसा र माया सकिएपछि बौलाउँछ ऊ । तर म मर्न र बौलाउन दुबै सकिन । बृद्ध बा आमा र साना नानीहरूका लागि जीउनु थियो मैले । मेरो सहरा नरहेपनि म अरुको सहारा हुनुथियो । त्यसैले त्यो कालरात्री मेरा लागि भयानक भएर उदायो ।
बिहान एकछिन झकाएकीमात्र के थिएँ, मेरो कानमा कसैको आवाज ठोकियो । म जर्फराउँदै उठें । लागें बिरामीतिर । त्यहाँ पुग्दा म झण्डै बेहोश भएँ । सहन गाह्रो भयो । ऐलेको जस्तो मोबाईल थिएनन् हात हातमा । न त फोन सबै ठाउँमा उपलब्ध थिए । कसलाई भनुँ ? कहाँ भनुँ ? म अस्पताल बाहिर पुगें । माघको जाडो तर म पसिना पसिना थिएँ । एक बोतल पानी किन्न मेसो पाएछु । एक सासमा पिएँ घटघटी । सास यति छिटो चल्यो कि दम बढे झैं भयो । मुटु उफ्रेको बाहिरबाटै देखिन्थ्यो सायद ।
यस्तै यस्तै अवस्थाबाट मेरो चंगा चुडियो । जिन्दगीमा आकाश खस्यो । संसार सकियो । प्रलय भयो मेरा लागि । भयानक सुनामी बनेर आयो समय । के भयो, के भएन शब्द नै बनेका छैनन् सायद त्यो दुःख भन्नलाई । म, म रहिन । लाग्यो मेरो सबै सकियो । बाँकी रहेको भएमात्र आँसु थियो । मात्र दुःख रह्यो । अझ भनौं निराशा मात्र रह्यो । वहाँले भोलि जान्छु भनेको त्यतिबेला कुरा बुझें ।
बा आमाकी एक्ली छोरीको रुपमा जन्मेकी म, सबैको जस्तै मेरो पनि सपना रंगीन थिए । रंगीन सपनालाई जीवनमा सजाउँछु भन्थें । सानो घर, सुखी संसार बसाउन चाहन्थें । रहरहरू कलिलै थिए । उच्च शिक्षा हाँसिल गरेकी सामान्यभन्दा अलि बढी केहि गर्न सक्छु भन्ने आशा भरिएकी म । तर, ती सारा सपना, कल्पना, रहर, विश्वास भूकम्पले धरहरा ढाले जस्तो गरि ढाल्यो । म फगत उभिएँ, तर मभित्रको म ढल्यो । ‘सम्झेँ जस्तो हुन्न जीवन, सोचें जस्तो हुन्न जीवन’ मेरै लागि लेखिएको गीत झैं लाग्यो । अनुभूति गर्न सक्ने मन झिकीएको मान्छे भएँ म ।
फेरि पनि मर्न कहाँ गाह्रो रहेछ र ? बाँच्न पो गाह्रो छ । जबरजस्ती बाँच्नुपर्छ भन्यो मनले र बाँचिरहेकी थिएँ । बाँच्नलाई केही न केहि बहाना त चाहिन्छ नै । बा र आमाको जिम्मेवारी समेत आफ्नै काँधमा थियो । बिभिन्न जिम्मेवारीले थिचिँदै घिस्रीएँ । घिस्रीदै थिएँ, बाटोमा मैजस्ता अरु पनि भेटिए । भेटिएकाहरुको दुःख एकै ठाउँमा मिसाईयो । जुन संगठन बन्दो रैछ । आफूभन्दा पनि कठिन अबस्थाबाट गुज्रेकाहरूको आँसु पढें । व्यथा छामें । धेरै कथा सुनें । तीनै आँसु, कथा र व्यथाबाट पाठ सिकें ।
जीवन बुझें । बाँच्न सिकें । हाँस्न जाने । आफू जस्तै अरुहरूको आँसु पुछ्दा एउटा अलौकिक शान्ति मिल्यो । जीवनको रहस्योद्घाटन भए झैं भयो । विधवा शब्दप्रति नै समाजको घृणा र वितृष्णा रहेकोले सट्टामा “एकल महिला” बाट परिचित बने म जस्ता हजारौं दिदीबहिनी ।
कलिलो उमेरमा विधवा बनेकी म । भर्खर मात्र किनेको रातो स्कूटर थियो । किरियामा बस्दा नै मेरा शुभचिन्तकले, “बिचरा भर्खर किनेको स्कूटर चढ्न नपाउने भई” भन्थे । तर, ती भनाइकावीच त्यहि दिनमै झिनो अठोट जन्मेको थियो मसँगै । रातो अभियान थाल्ने । विधवाको लागि केही गर्ने । त्यसैका बलमा मैले आँसु लुकाएर हाँस्न थाले । आफ्ना लागि कम, अरुका लागि बढी बाँचे । चाहे त्यो परिवारमा होस् वा समाजमा । एउटा राष्ट्रसेवकको जिम्मेवारी हुँदाहुँदै पनि जिल्ला र क्षेत्रमा एकल महिलाको नेतृत्व गरें । एकल महिलामात्र हैन अन्य महिलाको क्षेत्रमा पनि काम गरिरहेछु ।
महिलाका पक्षमा धेरै कानुन तथा नीतिहरू परिवर्तन गर्न सफल भयौं हामी । संगठनमा बल हुन्छ भन्ने राम्रै अनुभूति गरें मैले पनि । कास्की जिल्लालगायत पश्चिमाञ्चलमै विधवालाई हेर्ने र व्यवहार गर्ने सोचमा रुपान्तरण गर्न सकिएको छ । सो कामको श्रेय मेरो भागमा पनि धेरथोर पर्ने कुरामा ढुक्क छु । लिपस्टिकसम्म नलगाउने म लगाएर हिंड्ने भएँ । विधवाले रातो लगाउँदा जिब्रो टोक्ने समाज आज नतमष्तक छ । म र म जस्तै धेरै साथीले यो संस्थाको बलमा देशभरि नै रुपान्तरण र परिवर्तनको विजारोपण ग¥यौ । परिणामस्वरुप आज विधवाहरूमा एउटा हत्कडी चुँडिएको छ । आत्मवल थपिएको छ । जिउँदो सतीका रुपमा बाँच्ने मनहरूमा सृजनशिलता थपिएको छ ।
वास्तवमा चलन हो चलाए चल्छ । शिक्षा र चेतना नै सबभन्दा ठूलो कुरा रहेछ । म जे छु, जहाँ छु शिक्षाले गर्दा छु । कल्पनासम्म पनि गर्न सक्दिन शिक्षा विनाको मेरो जीवन । यही सत्यलाई आत्मसात गरेर होला पुर्व सभासद शान्ता चौधरी ३५ वर्षमा ८ कक्षा पास गर्दैछिन् । जीवनको अस्तित्व शिक्षाबाट बोध हुँदो रहेछ । शिक्षाले स्वपहिचान गर्ने बाटो देखाउँदो रहेछ । यो मैले थाहा पाएँ ।
विधवाको रुपमा परिवार र समाजले चाहेर पनि हेप्न सकेन । सक्दैन पनि । म तर्क गर्न सक्छु । कुनै पुरुषको हैन शिक्षाको आडमा । प्रतिवाद गर्न सक्छु । म हेपिईरहन सक्दिनँ र त आज म छु । अरुले ईन्जीनीयर र डाक्टर छोरीकी आमा भन्दा आफैँमा गर्व गर्न सक्ने भएकी छु । लाग्दैन सन्तानको रुपमा खराब बनें ।
जागीर, समाज, घर र आफूलाई समानान्तर रुपमा अगाडि बढाउन सजिलो थिएन, छैन । तै पनि काँडा पन्छाउँदै बाटो सहज बनाएँ । आफूप्रति गर्व गर्न सक्नु पनि चानचुने कुरा हैन । आज म त्यसैमा रमेकी छु । जमेकी छु । जीवनमा एउटा ढोका बन्द भएको साँचो हो, तर अर्को ढोका पनि हुँदो रैछ भन्ने अनुभूती छ मसँग । सो अनुभूती साथीहरूका माझ बाँड्दा आजभोलि नरमाईलो लाग्दैन । तसर्थ, हिजोले आज बनाएको छ मेरो । र म, म भएको अनुभूत गर्दैछु ।
न्याैपाने पाेखरा उपमहानगरपालिकामा कार्यक्रम  अधिकृत हुनुहुन्छ ।

Labels:
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget