Websoft University
[pgallery][img src="http://websoftitnepal.com/images/websoftitnepal.png"][/img][img src="https://2.bp.blogspot.com/-_HtlLHRIyXc/WCWsnUJUPeI/AAAAAAAAALA/vbuluS-3S2A2Im6NlWd2YHH7LMdfRWTTgCLcB/s320/radionagariklive.png"width=50%][/img][img src="https://1.bp.blogspot.com/-ABoIxzRnBHQ/WJnYOJClcWI/AAAAAAAABlQ/tSULOrTn7uIYOFxjZmmi4pzhVQrCw80cACLcB/s1600/radio%2Bbahas%2Bphoto%2B1.PNG"][/img][/pgallery]
[ads-post]

कति थियो जंगबहादुर राणाको तलव ?


जंगबहादुर राणा कतिपयलाई दन्त्यकथाको नायकजस्तो लाग्छ । यही नेपाली माटोमा जन्मेर राजदरबारमा राजा, रानी र युवराज तीनमुख भएको बेला अनेक किसिमका खेल खेली शक्ति आफ्नो हातमा लिएर राजालाई खोपाको देउता बनाउने शासक हुन्, उनी । उनैले बीजारोपण गरेको जहानिया राणा शासनले नेपालमा लगातार एक सय चार वर्ष एकछत्र राज गर्‍यो ।
जंगबहादुर राणा सत्तामा आउनुमा उनको पारिवारिक विरासत र शक्तिशाली मावली खलकको प्रभावले पनि भूमिका खेलेको छ । उनका जिजुबुबा रामकृष्ण कुँवर पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानमा सक्रिय सरदार थिए । उनका बाजे रणजित र बाबु बालनरसिंह कुँवरले काजी दर्जा पाएका थिए । उनका मावली हजुरबा नयनसिंह थापा (भीमसेन थापाका भाइ) काजी थिए भने मामा माथवरसिंह थापा प्रधानमन्त्री । तर, उनको आफ्नै संघर्ष, खुबी र तिकडमको भूमिका कम महत्वको छैन, उनले शक्ति आर्जन गर्नुमा ।
जंगबहादुरको वृत्तिविकास सुबेदार पदबाट भएको हो । विसं १८८६ मा श्रीजंग पल्टनको सुबेदार हुँदा उनी १३ वर्षका थिए । सिनास जर्नल (वर्ष २६, अंक १:१६३-१७०)मा गंगा खरेलले प्रकाशित गरेको ‘जंगबहादुर राणाको जीवनी र कृतिसँग सम्बद्ध टिपोट’ अनुसार उनी १८९५ मा कुम्भेदान, १८९७ मा कप्तान र १८९८ मा काजी भए । बीचमा १८९२ र १८९६ मा खोसिएर ढाक्रे पनि भए । उनी एकातिर ढाक्रे हुनु र त्यही बेला जुवाको लतले आर्थिक अवस्था नाजुक हालतमा पुग्दा पैसा कमाउन हात्तीखेदा समेतमा लागेका थिए । तर आफ्नो चातुर्य र साहसले यिनले सबै चुनौती सामना गर्दै गए ।
सुरेन्द्रको सट्टा आफ्ना कोखका छोरा रणेन्द्रलाई युवराज घोषणा गरी भावी राजाकी आमा बन्ने सपना देखेकी राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीको चाहना पूरा गर्न नसक्दा तत्कालीन प्रधानमन्त्री माथवरसिंह थापाको १९०२ वैशाखमा हत्या गराइयो, त्यो पनि उनैका भान्जा जंगबहादुरको हातबाट ।
१९०३ असोज १५ गतेको कोतपर्वमा उनैले नरसंहार मच्चाए, सोही साल कात्तिक २७ गते भण्डारखाल पर्वमा उनले बाँकी रहेका विरोधी दलका सदस्यलाई सखाप पार्ने उत्तम अवसर पाए । त्यसबीचमा १९०३ आश्विन बदि १३ रोज ४ मा राजा राजेन्द्रबाट मुख्तियारी पाई जंगबहादुर कमान्डर इन चिफ भइसकेका थिए । तर उनले राज्यलक्ष्मीको रणेन्द्रलाई युवराज बनाउनु त के उनैले राजा राजेन्द्र र रानी राज्यलक्ष्मीको १९०३ मंसिर १० गते काशीयात्रा गराए (पूर्णिमा, पूर्णांक २७:१७६ र १७७) ।
यसैको पुरस्कारस्वरूप जंगबहादुरका छोरालाई आफ्नी छोरी दिएर राजा सुरेन्द्रले सम्धि बनाए । जंगबहादुरले राजपरिवारसँग विवाहसम्बन्ध गाँसिनुअघि दरबारमा चौतारिया खलक जंगबहादुरसँग वैवाहिक सम्बन्ध त के पानीसमेत चलाउँदैनथे । जंगबहादुर तीनडोरे जनै लगाउँथे भने चौतारिक खलक ६ डोरे जनै लगाउने र धोतीपाटा फेरेर भात खान्थे । यसबाट सामाजिक समस्यामा परेका जंगले आफ्नो कुल पुर्खाको नाम उदयपुर (भारत)का महाराणाप्रतापको वंशवृक्षमा पारे ।
यसरी आफ्नो नामथर कँबर वा कुँवर नभएर राणा भएको प्रमाणित गराएर उनी उच्च घरानाको झर्रा क्षत्री भए । अब जंग कुलको प्रशस्ती श्री मद्राजकुमारात्मज राणाजी भयो भनी इतिहासकार ज्ञानमणि नेपालले लेखेका छन् (हिमाल, पुस २०-२६, २०७१) । उनले राणाजीको पद्वी र रजपुतसँग विवाहको अधिकारको लालमोहर १९०५ को जेठ बदी २ मा लिएका हुन् (पूर्णिमा पूर्णांक २७:१७७) ।
एक सय चार वर्ष लामो राणा शासनमा उनैले मात्र ३० वर्ष लामो शासन चलाए । सुन्दरी, सिकार र अफिमका सोखिन जंगबहादुरका रानी मात्र ४०-५० थिए । निरंकुशताका प्रतीक जंगबहादुरले सैन्य संगठन र युद्धकौशलमा आफ्नो खुबी देखाए । भोट विजय भयो । नयाँ मुलुक (बाँके, बर्दिया, कैलाली र कञ्चनपुर) फिर्ता गराए । देशका लागि यस्ता कतिपय महत्वपूर्ण र राम्रा काम पनि जंगबहादुरले गरे ।
जंगबहादुरको तलब
श्री ५ लाई खोपाको देवता बनाएर श्री ३ धारण गरी राज्यको सम्पूर्ण अधिकार आफ्नो हातमा लिएका जंगबहादुरको तलबचाहिँ कति थियो त? यस जिज्ञासा समाधान हुने सामग्री नेपाली आर्थिक इतिहासका पायोनियर अन्वेषक महेशचन्द्र रेग्मीको सम्पादनमा रेग्मी रिसर्च सेन्टरले सञ्चालन गरेको रेग्मी रिसर्च सेरिज (वर्ष ८, अंक १:१६-१९)मा ‘दी राणा एलिट’ शीर्षकमा जंगबहादुरलगायत उनका भाइहरू, त्यस बेलाका गुरुपुरोहित र सेनाका अधिकारीहरूले पाउने वार्षिक खान्गी (तलब)को विवरण दिइएको छ । यो तलबमान विसं १९१० को हो ।
जंगबहादुरलगायत केही राणाको तलब यस्तो छ :
प्रधानमन्त्री जंगबहादुर कुँवर राणा            रु. ८३,६२०/’
कमान्डर इन् चिफ बमबहादुर कुँवर राणा  रु. ३२,६१३/’
जनरल कृष्णबहादुर कुँवर राणा                रु. २२,०७२/’
जनरल रणोद्वीप सिंह कुँवर राणा            रु. २२,४१०/’
जनरल जगतशमशेर कुँवर राणा-            रु. २१,०९७/’
जनरल धीरशमशेर कुँवर राणा-               रु. २१,८५३/’
जनरल (कपर्दार) भक्तवीर कुँवर राणा-   रु. १९,००१/’
‘त्यो समय जंगबहादुरका छोरा जगतजंग कर्णेल थिए । उनले बुझ्ने गरेको वार्षिक तलब रु. १६,७१२/’ रुपैयाँ थियो । यस्तै जंगका छोराहरूमध्ये कर्णेल भीमजंगले रु. ८,५६७/’ र कर्णेल जितजंगले रु. ९०००/’ वार्षिक तलब बुझ्ने गरेको देखिन्छ । यस्तै कप्तान फत्तेजंग र बबरजंग दुवैको रु. ५००१/’ तलब थियो ।’
जन्मँदै आफ्ना नाति युद्धप्रतापजंग (जगतजंगका छोरा)लाई जनरल पद दिने जंगका छोराहरू त्यति ठूलो पद, प्रतिष्ठा र तलब सुविधा पाउँदा नावालकै थिए । दिनेशराज पन्तले पूर्णिमा (पूर्णांक ९३:१-५०) मा प्रकाशमा ल्याएको कुण्डली संग्रहमा भीमजंग र जितजंगको जन्मतिथि खुलेको छ ।
कुण्डलीअनुसार भीमजंगको जन्म विसं १९०३ मा (पृष्ठ २२) र जितजंगको जन्म विसं १९०६ (पृष्ठ २४)मा भएको थियो । यो जन्म संवतनुसार त्यति ठूलो तलबका साथ पद र प्रतिष्ठा पाउने भीमजंग त्यति बेला सात वर्षका थिए भने जितजंग चार वर्षका । यी नावालक कर्णेलहरूको भन्दा कम तलब जंगबहादुरका भाइ कर्णेलहरूको रहेको छ । भाइ कर्णेलहरूमध्ये कृष्णध्वज कुँवर राणाको रु. ७,९५९/’, खड्गबहादुर कुँबर राणाको रु. ७,७९३/’ र पृथ्वीध्वज कुँवर राणाको रु. ७,१२९/’ तलब रहेको थियो ।
यस रिसर्च सेरिजमा प्रधानमन्त्रीदेखि कप्तान दर्जासम्मका तलब बुझ्ने राणा परिवारका १७ जना सदस्यको नाम र तलबमान दिइएको छ । त्यस बेला विभिन्न पल्टनमा रहेर कप्तानदेखि जमदारसम्मका थप अन्य २२ जना कुँबर राणाको नामावली दिइए पनि उनीहरूका लागि तोकिएको तलबमान भने खुलाइएको छैन । त्यतिखेर सेनाका अफिसरहरूका रूपमा रहेका थापा र बस्न्यात काजीहरूको वार्षिक तलबमान सो समयको पैसाको मूल्यअनुसार उल्लेख्य देखिए पनि राणाहरूको तुलनामा धेरै कम छ । त्यस बेला थापा र बस्न्यात काजीहरूले वार्षिक रु. ६,४००/’ तलब बुझ्थे ।
अझ गुरु पुरोहितहरूको तलब निकै कम छ, राणाहरूको तुलनामा । उनीहरूमध्ये गुरुराज पण्डित धर्माधिकार विजयराज पण्डितको रु. ४,५००/’, गुरु नगेन्द्रराज पण्डितको रु. ४,०००/’ र गुरु पुरोहित रु. तीर्थराज पण्डितको रु. ३,०००/’ तलब रहेको उक्त रिसर्च सेरिजमा उल्लेख छ ।
जंगबहादुरको सुरुआतको तलब भने यति धेरै थिएन । उनी विसं १९०२ मा काजी भएका थिए भने १९०३ मा प्रधानमन्त्री नियुक्त भएका हुन् । उनी काजी र प्रधानमन्त्री नियुक्त हुँदा तत्कालीन राजा राजेन्द्रविक्रम शाहले जारी गरेको नियुक्तिपत्र पनि रेग्मी रिसर्च सेरिज (वर्ष ३ अंक १ : २४ र २५)मा प्रकाशित गरिएको छ । उनलाई विसं १९०२ पुस सुदि ४ मा काजी पदमा नियुक्त गरिँदा एक हजार एक सय ६० मुरीको खेत र रु. ३,५००/’ वार्षिक तलब तोकिएको थियो । कोतपर्वपछि शक्तिशाली बनेका उनलाई प्रधानमन्त्री, कमान्डर इन चिफ र जनरलको जिम्मेवारीसहित विसं १९०३ मार्ग वदि १० मा मुख्तियार नियुक्त गरियो । त्यस बेला उनको तलब रु. १२,४०१/’ तोकिएको थियो । दुवै नियुक्तिपत्रमा युद्ध र अन्य अवसरमा सुविधामा पुनर्विचार गरिने सर्तसमेत राखिएको छ ।
त्यो तलबको वर्तमान मूल्य
रेग्मी रिसर्च सेरिज ( वर्ष ८, अंक १: १९)मा सन् १८५२ (विसं १९०८)को समयको अत्यावश्यक खाद्य वस्तुको मूल्यदर पनि प्रकाशमा ल्याइएको छ । त्यो समयको खाद्यवस्तुको मूल्यदरअनुसार जंगबहादुरले पाउने गरेको त्यो तलबमानको वर्तमान मूल्य निकै ठूलो हुन आउँछ ।
त्यो बेला एक रुपैयाँमा २२ माना मसिनो चामल आउँथ्यो । यस्तै एक रुपैयाँ मार्सी चामल ३० माना, तौली चामल ३२ माना, रहरको दाल १४ माना, मासको दाल २० माना र मुगी दाल १२ माना किन्न पाइन्थ्यो । एक रुपैयाँको एक धार्नी घ्यू किन्न पाइन्थ्यो । यहाँनेर जंगबहादुरले पाउने गरेको त्यस बेलाको तलबको अहिलेको घ्यूको मूल्यअनुसार मूल्यांकन गरौं । अहिले डीडीसी घ्यूको मूल्य प्रतिलिटर सात सय २० रुपैयाँ पर्छ। एक लिटर बराबर एक किलोग्राम हुन्छ भने दुई किलो पाँच सय ग्रामको एक धार्नी हुन्छ ।
यसअनुसार त्यस बेला एक रुपैयाँमा आउने एक धार्नी घ्यूको मूल्य अहिले एक हजार आठ सय रुपैयाँ हुन्छ । यसअनुसार मूल्यांकन गर्ने हो भने त्यस बेला जंगबहादुरले वार्षिक रुपमा बुझ्ने तलब रु. ८३,६२०/’ को अहिलेको मूल्य रु. १५,०५,१६०००/’ हुन आउँछ । यसअनुसार विसं १९१० मा जंगबहादुरको मासिक तलब अहिलेको रु. १,२५,४३०००/’ थियो ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको विनिमय दरअनुसार जंगबहादुरको तलबको वर्तमान मूल्य झन् उच्च हुन आउँछ । २०१७ सालदेखि मात्र भारतीय रुपैयाँ एक सयको नेपाली रुपैयाँ एक सय ६० विनिमय दर स्थीर रूपमा कायम भएको हो । इतिहासकार प्राध्यापक दिनेशराज पन्तका अनुसार राणाकालमा नेपाली रुपैयाँ र भारतीय रुपैयाँको मूल्य बराबर थियो र कुनै बेला भारतीय रुपैयाँभन्दा नेपाली रुपैयाँ महँगो पनि भएको थियो । त्यस बेलाको रुपैयाँ मोहर चाँदीको हुन्थ्यो ।
इतिहास शिरोमणि बाबुराम आचार्यले भीमसेन थापाको तलबको विषयलाई लिएर उनको निकै ठूलो आलोचना गरेका छन् । २०१३ सालको मदन पुरस्कारका लागि छनोटमा परेका कृतिमध्ये एक ‘जनरल भीमसेन थापा’ विषयमा आफ्नो धारणा प्रस्तुत गर्ने क्रममा आचार्यले त्यस बेला भीमसेन थापाले थाप्ने वार्षिक तलबलाई अत्यधिक भनेका छन् ।
विसं १८७१ मा भीमसेन थापाले लालमोहर गराई मुख्तियारी खान्गी रु. ६,४०१/’ मा रु. ४,०००/’ थपेर १०,४०१/’ बनाएका थिए (पूर्णिमा पूर्णांक ७७:२३) । भीमसेन यो खान्गीको विषयमा आचार्यले ‘भीमसेन थापा, यिनलाई मैले जस्तो देखेँ’मा त्यो बेला एक रुपैयाँको चार पाथी मसिनो चामल आउने र त्यो बेलाको भीमसेन थापाको तलब अत्यधिक भएको उल्लेख गरेका छन् ।
त्यो बेला आफूले आफैंलाई त्यति धेरै तलब तोक्ने जंगबहादुरका सन्तान विसं १९४२ मा उनैका कान्छा भाइ धीरशमशेरका छोराहरूले मच्चाएको पर्वमा कोही सखाप भए त कोही लाखापाखा भए । उनका सन्तान आज सार्वजनिक परिचयविहीन हुन पुगेका छन् । हरेक वर्ष सरकार र उनका सन्तानले छुट्टाछुट्टै त्रिपुरेश्वरको कालमोचन घाटमा जंगबहादुरको श्राद्ध गर्ने गर्छन् । जंगबहादुरको विसं १९३३ फागुन सुदि १२ मा सिकारमा जाँदा पत्थरघट्टामा मृत्यु भयो । (अन्नपूर्ण पोष्टबाट )
-राजकुमार दिक्पाल
Reactions:

Post a Comment

websoft university

{facebook#https://www.facebook.com/WebsoftUniversity/} {twitter#https://twitter.com/websoftuniverct} {google-plus#https://plus.google.com/u/0/106673751673377489216/posts}

Contact Form

Name

Email *

Message *

Powered by Blogger.
Javascript DisablePlease Enable Javascript To See All Widget