
उनको प्यानलमा पार्टी केन्द्रिय सदश्य तथा बीपी कोइराला पुत्र सशांक कोइरालालाई महामन्त्री उम्मेदवार छन् । महाधिवेशन प्रतिनिधिबाट प्रत्यक्ष निर्वाचित हुने कोषाध्यक्षका लागि अझै कसैको नाम टुंगो लागेको छैन ।
कार्यक्रममा वर्तमान महामन्त्री प्रकाशमान सिंहले पौडेललाई सभापतिको उम्मेदवारका रुपमा प्रस्ताव गरेका थिए भने नेता रामशरण महतले समर्थन गरेको थिए ।
घोषणा सभामा बोल्दै पौडेलले कांग्रेसको मूलधार आफूसँग रहेको बताए । बीपी कोइरालाले पार्टीको मूलधार बारे सोध्दा ‘जहाँ गणेशमान, कृष्णप्रसाद र म हुन्छु त्यहीं मूलधार हुन्छ’ भनेको स्मरण गर्दै उनले भने, ‘अहिले पनि बीपी, गणेशमान र कृष्णप्रसादको लिगेसी यहीं छ, मसँग छ ।’
महामन्त्री कृष्णप्रसाद सिटौला र नेतृ सुजाता कोइरालाले पनि उम्मेदवारी घोषणा गरेकोतर्फ संकेत गर्दै उनले भने, ‘बाहिर रहेका साथीहरुलाई समेट्ने प्रयास भइरहेको छ । उहाँहरुले पार्टीमा जहाँ बसेर काम गर्न खोज्नु भएको हो, रोजेको अवसर दिन हामी तयार छौं ।’
आफू कहिल्यै नथाकी, विश्राम नलिई, विचलित नभई निरन्तर कांग्रेसमा लागेको बताउँदै उनले भने, ‘म दुखका दिनमा म कांग्रेसमा लागेको हुँ । जस्तै आँधिहुरीले निभाउन खोज्दा पनि मैले कांग्रेसलाई जोगाउने काम गरेको छु ।’
कांग्रेसको संस्कृति र संघर्षमाथि हमला गर्ने प्रयास भएको बताउँदै उनले भने, ‘कांग्रेसमा विकृति ल्याउन सामदाम दण्डभेद प्रयोग गरेर पार्टी हडप्ने प्रयास भएको छ । यस किसिमको विकृतिबाट तपाईंहरु सावधान हुनुहोस् ।’
पौडेललाई सभापतिका रुपमा प्रस्ताव गर्दै महामन्त्री प्रकाशमान सिंहले अहिलेको परिवर्तनको संरक्षण गर्न कांग्रेसको नेतृत्व आवश्यक भएको र त्यसका लागि पौडेलको सभापतित्वमा सक्षम नेतृत्व अगाडि सािरएको बताए । ‘अहिलेको कांग्रेसलाई ड्राइभ गर्नसक्ने नेता भनेको पौडेल नै हो,’ उनले भने ।
सभामा बोल्दै नेता रामशरण महतले मधेस र अन्य क्षेत्रबाट सुनिएको असन्तुष्टिको स्वरलाई सम्वोधन गर्ने कांग्रेसको भएकाले सवल र सक्षम नेतृत्व चाहिएको बताए । ‘यसका लागि सक्षम टिम भनेको रामचन्द्र र सशांकको हो,’ उनले भने । २२ सालदेखि आफूले पौडेललाई चिनेको उल्लेख गर्दै एनले भने, ‘उहाँ पार्टीभित्र इमान्दार, निष्लंक र क्षमतावान नेता हो ।’
यस्तै

महाधिवेशनको अघिल्लो दिन महामन्त्री कृष्णप्रसाद सिटौलाको नेतृत्वमा प्यानल घोषणा भएको छ ।
बत्तीसपुतलीस्थित एक फुडल्यान्डमा उल्लेख्य कार्यकर्ताको उपस्थितिमा सिटौलाले युवा नेता गगन थापालाई महामन्त्री र उमाकान्त चौधरीलाई कोषाध्यक्ष बनाउँदै उम्मेदवारी घोषणा गरे । मनोनीत पदाधिकारीको निर्णय पछि गरिने थापाले जानकारी दिए ।
उम्मेदवारी घोषणा संस्थापन समूहका केन्द्रीय नेताहरुको उपस्थिति थियो । तर जिल्ला सभापति भने देखिएनन् ।
उम्मेदवारी घोषणामा सिटौला, थापा र चौधरीले पार्टीमा परिवारवादको विरोध गरे । उनीहरुले युवा महाधिवेशन प्रतिनिधिको उल्लेख्य मत पाउने विश्वास व्यक्त गरे ।
सिटौलाले आफूले पार्टीलाई परिवारबाट बाहिर निकाल्न चाहेको बताए । ‘बीपी कोइराला, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाले आफ्ना लागि होइन, देशका लागि गर्नुभएको थियो,’ कांग्रेस परिवारवादमा कैद हुन नचाहेको उल्लेख गर्दै भने, ‘अहिले लिगेसीको कुरा गर्ने ?’
सिटौलाले शान्ति र संविधान निष्कर्षमा पुर्याउन गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको सहयोगीकोरुपमा काम गरेको भन्दै संविधान कार्यान्वयन गर्ने जटिलतालाई व्यवस्थापन आफूलेमात्रै गर्न सक्ने बताए । ‘संविधान कार्यान्वयन गरेर राजनीतिक स्थायीत्व दिनुपर्नेछ,’ उनले भने, ‘मैले नेतृत्व गरेको टीम त्यसका लागि सक्षम छ ।’
कांग्रेसको युवा पुस्ताले नेतृत्व पुस्तान्तरण गर्न चाहेको उल्लेख गर्दै सिटौलाले थपे, ‘हामी नेतृत्व दिन्छौं भनेर आएका छौं, अब जिम्मा तपाईंहरुको हो, भोलि त्यस्तै गुनासो गर्ने दिन नआओस् ।’
सिटौलाले १३ औं महाधिवेशनबाट आउने नेतृत्व संविधान कार्यान्वयन गर्ने सरकार बनाउने हिम्मतका साथ आउनुपर्ने बताए । ‘यस्तै प्रकारको सरकारले संविधान कार्यान्वयन गर्न सक्दैन र यस्तै सरकार बन्यो भने अर्कोले पनि सक्दैन,’ उनले भने, ‘स्पष्ट दिशानिर्देश गर्ने सोच भएको नेतृत्व चाहिएको छ ।’
सिटौलाले आफू ढिला गरि सभापतिमा उठ्ने निर्णयमा पुगेको बताउँदै भने, ‘पहिले नै सोच बनाएको भए, गाउँ गाउँ जान्थें, पछिमात्रै तपाईं युवा प्रतिनिधिहरुको आग्रहमा सभापति बन्ने निर्णयमा पुगें ।’
महामन्त्रीका उम्मेदवार गगन थापाले पार्टीभित्रको ६०/४० को भागबण्डा अन्त्य गर्न दोस्रो पुस्ताको नेतृत्वमा प्यानल बनाएर चुनावी अभियानमा होमिएको बताए । ‘हामी को संस्थापन को विस्थापन चिन्दैनौं,’ उनले भने, ‘हामी एक कांग्रेस बनाउँछौ ।’
थापाले सुशील कोइराला जीवीतै छँदा आफूले नेतृत्व पुस्तान्तरण गर्न सुझाव दिएको उल्लेख गरे । ‘त्यतैबेलै मैले भनेको थिएँ, तपाईंहरुले महत्त्वपूर्ण राजनीतिक क्रान्ति पूरा गर्नुभएको छ, दोस्रो पुस्तालाई नेतृत्व दिनुस्, हाम्रो पुस्ता सहयोगी बन्नेछ,’ उनले भने, ‘हामीले आँट गर्न दोस्रो पुस्ताका नेतालाई भनें, कृष्ण सिटौलाले आँट गर्नुभयो ।’
थापाले आफू महामन्त्रीमा उम्मेदवार बन्ने निर्णयमा पुग्दा उमेर नपुगेको टिप्पणी आएको भन्दै त्यसको जवाफ दिए । ‘हो मेरो उमेर छ, ३९ वर्ष पुगेँ,’ उनले भने, ‘तर समय छैन, मलाई समयको दबाब छ ।’
४० वर्षभन्दा कम उमेरका युवाहरुको रेमिट्यान्सले चलेको मुलुकका नागरिकले युवालाई अवमूल्यन गर्न नहुने उनले बताए ।
थापाले कसैको लिगेसीले पार्टी बन्धक नहुने बताए । ‘म बीपीको छोरा होइन, मेरो नशामा बीपीको रगत बगेको छैन,’ उनले भने, ‘तर बीपीको विचार बगेको छ ।’
कोषाध्यक्षका उम्मेदवार उमाकान्त चौधरीले पार्टीमा संस्थागत पद्धति विकास गर्न आफ्नो समूह निर्माण भएको बताए । ‘यो प्यानल ६०/४० अन्त्यका लागि हो, गुटबन्दी अन्त्यका लागि हो,’ उनले भने, ‘र, संस्थागत पद्धति विकास गर्नका लागि हो ।’
शान्ति प्रक्रिया र संविधान निर्माणमा निरन्तर खटिएका सिटौला नेतृत्वको प्यानल संविधान कार्यान्वयन गर्ने उद्देश्यका लागि बनेको चौधरीको भनाइ थियो ।
Post a Comment