
‘बुर्जुवा नै भए पनि देशले दु:ख पाएको बेला मिलेर दु:खको सामना गरौं भन्छन् । उहाँले त देशमा नाकाबन्दी, ठुला दबाब र हस्तक्षेप भएका बेला आन्दोलन र मार्क्सवाद नै छाडनुभयो,’ काठमाडौं जिल्लास्तरीय कार्यकर्ता भेलालाई सोमबार राजधानीमा सम्बोधन गर्दै दाहालले भने, ‘यत्रो पढेको मान्छेको बुद्धि अहिले आएर के भएको होला ।
पिएचडी गरेका कारण भट्टराई एमाओवादीको वरिष्ठ नेता नभएको भन्दै दाहालले उनीप्रति सम्मान गर्नेहरु समेत अहिलेको गतिविधिका कारण पछुताइरहेको दाबी गरे ।
नयाँ शक्तिमा प्रवेश गरेकी अभिनेत्री करिश्मा मानन्धरसँग भूमिगतकालमा आफ्नो नाम जोडेर कतिपयले प्रचार गरे पनि अहिले यथार्थ बाहिर आएको दाहालले बताए । ‘जनयुद्धका बेला मैले करिश्मालाई मन पराउँछु भन्ने बाहिर आयो, तर त्यो साँचो थिएन । कसैले मिडियामा हाल्देछ । त्यो आएको आयै भयो,’ उनले भने, ‘होइन भन्दा पनि कसैले नपत्याउने । अहिले सबैले देखे नि बाबुराम को रहेछन् भनेर ।’
भट्टराईलाई पार्टी छाडेकोमा पछुतो हुनेगरी पार्टी निर्माण गर्नुपर्ने दाहालले बताए । छिट्टै माओवादी घटकहरुसग वैचारिक र सांगठानिक एकतासमेत अघि बढ्ने उनको भनाई थियो । ‘कम्युनिस्टहरुलाई यसरी एकताबद्ध गर्दै जानुपर्छ कि बाबुरामलाई पनि ‘ओहो, गल्ती भएछ’ भन्ने लागोस्,’ उनले भने, ‘तपाईंहरु हेर्दै जानुहोला, बाबुरामका लागि कुनै ठाउँ हुदैन । एक दिन बाबुरामले त्यसरी सोच्ने दिन आएन भने, र उहाँको दिन आयो भने नेपाल खतरनाक ठाउमा पुग्छ ।’
एमाओवादीकै जोडबलका कारण समानुपातिक प्रतिनिधित्व लगायत थुप्रै मुद्दा नया संविधानमा सुनिश्चित भएको भन्दै दाहालले जनतामा प्रभावकारी सञ्चार गर्नुपर्ने बताए । पार्टीले संविधानका प्रगतिशील विषय बुझाउन लागे जनताले नबुझ्नुपर्ने ‘कुनै कारण नरहेको’ उनको तर्क थियो ।
‘कांग्रेसका, एमालेका, राप्रपाका वा माओवादीका जो आए पनि ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित भएको छ । त्यो माओवादीका कारण भएको हो भनेर जनतालाई दह्रोसग भन्नुपर्यो,’ उनले भने, ‘संविधानका उपलब्धि हामीले भनेजस्तो आएको छैन, हामीले जनवादी संविधान आयो भनेर पनि भनेका छैनौं । तर समाजवाद उन्मुख भनिएको छ, मधेसी, मुस्लिमलगायत सबैका आयोग बनेका छन् ।’
जनताले एमाओवादीलाई दोस्रो संविधानसभा चुनावमा तेस्रो दल बनाएर शिक्षा दिएको दाहालको स्वीकारोक्ति थियो । जनताले दण्डित पनि गरेको, तर राजनीतिको चाबी पनि थमाएको उनले जिकिर गरे । संविधानका उपलब्धि संस्थगत गर्दै पार्टी निर्माणमा जुट्न दाहालले कार्यकर्तालाई अपिल गरेका छन् ।
Post a Comment