
साथै, यसै दिनदेखि राजधानीदेखि १७ किलोमिटर उत्तर–पूर्वस्थित प्राचीन नगर शंखरापुर (साँखु) मा रहेको मणिशैल (शाली) नदी किनारमा एक महिनादेखि श्रद्धालु भक्तजनहरुले श्री स्वस्थानी परमेश्वरीको पूजा आराधना गरी बस्दै आएको ब्रतको पनि सोमबार नै साङ्गे गरियो । श्री स्वस्थानी परमेश्वरी महामाया पार्वतीका अनेक रुपमध्ये एक हुन् ।
महादेवलाई पतिको रुपमा पाउने पार्वतीको मनोकाँक्षा भगवान बिष्णुले निर्देशन गरेअनुसार स्वस्थानी धर्मब्रत अनुष्ठान गरेपछि पूरा भएकाले दु:खी दरिद्रहरुको उद्धारको लागि पार्वतीले सप्तपातालमा अश्वथामा र मत्र्यमण्डलमा सप्तऋषिलाई स्वस्थानी ब्रतकथाको प्रचार गर्न पठाइएको भन्ने स्वस्थानी ब्रतकथामा उल्लेख छ । साङ्गेपूजामा पूजामा श्रीस्वस्थानी परमेश्वरीलाई १०८ अक्षेतको साथै त्यति नै संख्यामा सुपारी, पान, बत्ति, नैबेद्य विभिन्नप्रकारको फलफूल, रोटी आदि चढाउनु पर्ने स्वस्थानी ब्रतकथा पूजाविधिमा उल्लेख छ ।
पूजा समापन संगै जुनकामको मनोकाँक्षा पूरा गर्न ब्रत बसेका हुन् त्यो पूरा होस् भन्दै अर्घ दिने पनि कथामा उल्लेख छ ।
ब्रत समापन भएपछि ब्रतभरी प्रयोग गरेका फूलपाती र अरु सामाग्री नजिकको नदी वा तलाउमा सेलाउन लैजाने चलन छ ।
स्वस्थानी परमेश्वरीलाई चढाएका १०८ सुपारी, पान, रोटी फलफूल आदिमध्ये ८ वटा आफ्ना पति, पति नभए, छोरा, छोरा पनि नभए मित छोरा, त्यो पनि नभए नदीमा बगाउने स्वस्थानी ब्रतकथामा उल्लेख छ ।
यस अवसरमा पशुपति गौरीघाट, पाटनको शंखमूलआदि पबित्र तीर्थस्थलहरुमा विहानै देखि घुइँचो लागेको छ । ब्रत एक महिनासम्म नबसी साङ्गको एक दिनमा मात्र बस्ने पनि गरिन्छ ।
अहिलेसम्म संग्रहित पुरानो स्वस्थानी ब्रतकथामध्ये सबभन्दा पुरानो नेपालभाषामा नेपालसंवत् ६९३ फाल्गुन शुक्ल पञ्चमीमा श्री जयन्तदेवले नेपालभाषामा ताडपत्रमा लेखिएको ‘स्वस्थान परमेश्वरय्र्या व्रतकथा’ राष्ट्रिय अभिलेखालयमा छ ।
राजधानीमा श्री स्वस्थानी परमेश्वरीको मूर्ति मखनटोलस्थित तारिणी बहालभित्र छ । शिवसहितको त्यस मूर्ति कान्तिपुरमा तत्कालिन कान्तिपुरका राजा प्रताप मल्लले नेपालसम्वत् ७९४ श्रीपचमीका दिन स्थापना थरिएको त्यसै मूर्तिपादमा उल्लेख छ ।
Post a Comment