
दैनिक युवाहरु वैदेशिक रोजगारीमा पलायन भइरहेको अवस्थामा चोङवाङले मेहनत गरे राम्रो पैसा कमाउन विदेश जानु पर्दैन भन्ने उद्दाहरणको रुपमा आफै प्रस्तुत हुनुभएको छ ।
विसं २०६७ देखि तीन माउ भैँसीबाट सुरु गर्नुभएका चोङवाङले अहिले आफँैले उत्पादन गरेको एकसय २० लिटर दूध बिक्री गर्दैआउनु भएको छ । उहाँले वार्षिक रुपमा बिक्री गर्ने १०० ट्र्याक्टर गोबर मलप्रति ट्र्याक्टर रु तीन हजारका दरले बिक्री गर्दैआएको बताउनुभयो । चोङवाङले गाउँमा आफँै रोजगारीको सिर्जना गर्ने बिचारले ‘कुलझोडा पशुपालन’ तथा दुग्ध व्यवसाय प्रालिको स्थापना गर्नुभयो । उहाँले अहिले आफनै चार बिघा जमिनमा स्थापना गरेको पशुपालन केन्द्रमा पाँच जनालाई रोजगारी दिँदै आउनु भएको छ ।
सो केन्द्रमा अहिले नौ माउ भँैसी र पाँच माउ गाई छन् । व्यवसायलाई विस्तार गर्ने उद्देश्यले सातवटा बाच्छी र छवटा पाडी पाल्नु भएको छ । रु दश लाखको लगानीमा सुरु गरेको व्यवसायमा हाल रु २० लाख लगानी पुगिसकेको चोङवाङको भनाई छ । उहाँले मासिक रुपमा रु एक लाख ४० हजारको दूध बिक्र गर्ने गरेको बताउनुहुन्छ ।
उहाँ मात्र होइन तीन वर्ष मलेसियामा काम गरेर फर्किनुभएका मोरङ दर्वेशा– १ असोक सुवेदीेले बाख्रापालन गरेर राम्रो आम्दानी गर्न थाल्नुभएको छ । परिवार नै मिलेर दुईवटा बाख्राबाट बाख्रा फारम खोल्नुभएका सुवेदीे परिवारले अहिले ९३ वटा बाख्रा पाल्न थाल्नु भएको छ । उन्नत् जातका बाख्रा पाल्न सुरु गरेपछि सुवेदी परिवारको आर्थिक जीवनस्तरमा सुधार आएको बताउनुहुन्छ ।
आफु विदेशमा काम गर्न जाँदा कमाउन नसकेको र हाल बाख्रापालनबाट राम्रोे आम्दानी हुने गरेकाले अरुलाई पनि यही पेसा अपनाउन उहाँ आग्रह गर्नुहुन्छ । सुवेदीले बाख्रापालनसँगै दुई जनालाई रोजगारीसमेत दिएको बताउनुभयो । अरुले कृषि पेसा गरेको सुनेको आधारमा आफूले पनि व्यवसाय थालनी गर्नुभएका सुवेदीले फारमबाट उत्पादन भएको बोका, पाठी तीन महिनामा बिक्री गर्नहुने र चार महिनामा १८ किलोसम्म पुग्ने गरेको बताउनुभयो ।
बीउको रुपमा बाख्रा विभिन्न क्षेत्रबाट माग हुनेगरेको भए तापनि माग पूरा गर्न नसकिरहेको सुवेदीको भनाइ छ । उहाँ मात्र होइन जिल्लाका ४० युवा व्यावसायिक पशुपालन र दुग्ध उत्पादन व्यवसाय गर्दै आएको जिल्ला पशुसेवा कार्यालय मोरङले जनाएको छ । अहिले मोरङमा साना ठूला गरेर ४०० व्यावसायिक पशु फर्म सञ्चालित छन् । यता जिल्ला पशुसेवा कार्यालय मोरङले युवालाई लक्षित गरेर स्वदेशमै आत्मनिर्भर बनाउन र विदेश पलायन रोक्न कम्तीमा रु दुई लाखदेखि रु चारलाखसम्म व्यावसायिक पशुपालनका लागि अनुदान दिँदै आएको छ ।
Post a Comment