
ठमेलको चाक्सीवारी मार्गमा ५० करोड लगानीमा ‘होटल आर्टस् काठमाडौं’ सञ्चालनमा आएको हो ।
लामो समयदेखि कार्गो र गार्मेन्ट व्यवसायमा संलग्न गोरखाका चिरञ्जीवी भट्टले होटल खोलेका हुन् । होटलमा स्टान्डर्ड, डिलक्स र स्वीट गरी ६० वटा रुमहरु रहेका छन् । होटलको आठ तले भवनबाट काठमाडौं उपत्यकाको पुरै भू-भाग देख्न सकिन्छ ।
होटलको पहिलो तलामा स्पा एन्ड साउना, ब्यूटिपार्लर, बैंक, सपिङ आर्केड, एटीएम काउन्टर, कफी शप लगायत रहेका छन् । दोस्रो तलामा रिसेप्सन र द आर्टस् क्याफे एन्ड बार रहेको छ । क्याफेमा एकैपटक ६० जनालाई सेवा दिन सकिने होटलका महाप्रबन्धक सिंहले जानकारी दिए ।
भवनको ३ देखि ७ तलासम्म बेड रुमहरु रहेका छन् । आठौं तलामा पार्टी हल रहेको छ । त्यहाँ डेढ सय जनासम्मको ककटेल पार्टी गर्न सकिने महाप्रबन्धक प्रविन्द्र सिंहले जानकारी दिए । यहाँबाट काठमाडौं उपत्यकाको सुन्दर दृश्यावलोकन गर्न पाइन्छ ।
होटलमा कर बाहेक स्टान्डर्ड रुमको ७० अमेरिकी डलर, डिलक्स रुमको ८० डलर र पि्रमियम रुमको १०० डलर तोकिएको छ । इन्डियन, चाइनिज, मध्यपूर्वी, युरोप र अमेरिकी पर्यटकलाई लक्षित गरेको होटलका अध्यक्ष चिरञ्जिीवी भट्टले बताए ।
होटलमा ग्राहकको चाहना अनुरुप विभिन्न स्वादका खानाहरु खुवाइन्छ । नेपाली मौलिक स्वादको खाना पनि होटलमा पाइने बताइएको छ । होटलमा ओपन किचन रहेको छ । बाहिरबाटै खाना पकाएको देख्न सकिन्छ । तारे होटलमा काम गरेका सेफहरुले खाना पकाउने अध्यक्ष भट्टले बताए ।
होटलको अर्को आकर्षक पक्ष हो, आकर्षक पेन्टिङ । होटलको लाउञ्ज, बेडरुम, भर्याङ लगायतका ठाउँहरुमा आकर्षक पेन्टिङ राखिएको छ । सञ्चालक भट्ट आफै ‘फाइन आर्ट’को विद्यार्थी भएको हुँदा उनैले कोरेका पेन्टिहरु होटलमा राखिएको हो । यसको अलवा अन्य कलाकारका पेन्टिङहरु पनि किनेर राखेको उनले सुनाए ।
होटलमा ग्यालरी समेत राखिएको छ । जहाँ विभिन्न कलाकारका पेन्टिङहरु बिक्रीमा राखिएको भट्टले बताए । पेन्टिङ बिक्रीबाट भएको आम्दानीको ५ प्रतिशत रकम गरिव कलाकारको पढाईमा लगाउने उनको भनाई छ ।
‘होटलमा आउने पर्यटक मार्फत नेपाली कला र संस्कृतिको अन्तर्राष्ट्रिय रुपमा प्रवर्द्धन गर्ने हाम्रो योजना हो’ अध्यक्ष भट्टले भने- ‘यो प्रयासले नेपाली कलारकारको प्रमोट समेत हुने मलाई विश्वास छ ।’ उनले होटलको नामसमेत कलासँग जोडेर राखेका छन् ।
Post a Comment