प्रधानमन्त्री भारत जानुअघि नै निकास खोजिँदै
काठमाडौं , माघ २९ गते । सीमांकनमा देखिएको विवाद मिलाउन प्रमुख दल र मधेसी मोर्चाले प्रधानमन्त्री भारत जानु अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको पहलमा शुक्रबार बिहान बालुवाटारमा बसेको बैठकले सीमांकनको विवाद मिलाउनका लागि फागुन ७ अघि नै राजनीतिक संयन्त्र बनाउने सहमति भएको हो ।
पहिलो संविधान संशोधनपछि मधेसी दलको माग सम्बोधनको प्रक्रिया अघि बढेको भन्दै भारतले पाँच महिनादेखि जारी नाकाबन्दी खुकुलो बनाउँदै लगेपछि सीमांकनको विवाद मिलाउन प्रमुख दल र मोर्चा सक्रिय भएका हुन् ।
बैठकमा यसअघि बिघटन गरेर फेरि ब्युँताइएको कार्यदललाई पनि सक्रिय बनाएर छलफल गर्नुपर्ने प्रस्ताव एमाओवादी अध्यक्ष प्रचण्डले गरेका थिए ।
‘बैठकमा एमाओवादी अध्यक्ष प्रचण्डले सीमांकनको विवाद मिलाउन यथाशिघ्र राजनीतिक संयन्त्र बनाउने प्रस्ताव गर्नुभयो’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले अन्नपूर्ण अनलाइनसँग भने, ‘उहाँले जारी विवादलाई लामो समय लान नहुने बताउँदै राजनीतिक संयन्त्र बनाएर संविधान संशोधनसहितका आवश्यक प्रक्रिया अघि बढाउनुपर्ने कुरा मोर्चासँग राख्नुभयो ।’
बैठकमा मधेसी मोर्चाले भने राजनीतिक संयन्त्र बनाउनुअघि त्यसको हैसियत, अधिकार र कार्यक्षेत्रबारे टुंगो लगाइनुपर्ने अडान राखेको थियो ।
मोर्चाले संयन्त्रको टिओरको पहिले टुंगो लगाउनुपर्ने बताएपछि प्रमुख तीन दलले टिओरबारे साझा धारणा बनाउने भएका छन् । त्यसका लागि आजै तीन बजे तीन दलको बैठक बस्न लागेको छ ।
बैठकमा सहभागी मधेसी मोर्चाका नेताहरु हृदयश त्रिपाठी र लक्ष्मणलाल कर्णसहितले टिओआर बनाइसकेपछि संयन्त्र निर्माण गरिनुपर्ने धारणा राखेका थिए ।
‘बैठकमा प्रधामन्त्रीले पनि आफू भारत जानुअघि नै सहमति जुटाउने प्रस्ताव राख्नुभयो’, दाहालले भने, ‘पर्सिसम्ममा संयन्त्रको टुंगो लगाउने कसरमा प्रमुख दल र मधेसी मोर्चा सक्रिय भएका छन् ।’
यसका लागि प्रमुख दल र मधेसी मोर्चाको कार्यदलस्तरमा पनि छलफल र संवाद अघि बढाउने निचोड दुई पक्षले निकालेका छन् ।
बैठकमा प्रधानमन्त्री ओलीले सहमतिका आधारमा संविधान संशोधन गरेर अघि बढ्नुपर्ने बताउँदै धेरै लामो समय समस्या राख्न नहुनेमा जोड दिएका थिए ।
कांग्रेसको पनि महाधिवेशन केही पछि सरेकाले यही बीचमा सहमति जुटाउन प्रमुख दल र मोर्चा सक्रिय भएका हुन् ।
प्रधानमन्त्रीले आफू भारत जाँदा यहाँ सहमति भएको सन्देश लैजाने प्रयासस्वरुप भएको छलफल सकारात्करुपमा अघि बढेको प्रतिक्रिया मोर्चाका नेताहरुले पनि दिएका छन् । - ज्ञानेन्द्र खड्का , अन्नपूर्ण पोस्टबाट
Post a Comment